भेरी अस्पतालमा आगलागीबाट ३ करोडको क्षति, ओपीडी सेवा स्थगित
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीका कारण आइतबार र सोमबार आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार शनिबार ओपीडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएपछि ओपीडी सेवा र ल्याब सेवा दुई दिनका लागि स्थगित गरिएको हो । विद्युत सर्ट भई भ्याक्सिन राख्ने फ्रिजबाट आगलागी शुरु भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा ठूलो क्षति पुगेको डा. सुवेदीले जानकारी दिए । यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण पत्ता लगाउन डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ । समितिलाई चाँडो प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । आगलागी नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो निभाइसकेपछि बिल्डिङभित्र पानी र जलेका सामानहरू छरपस्ट रहेकाले दुई दिन आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 'अल्ट्रासाउन्ड र इमर्जेन्सी सेवा भने सुचारु रहेका छन्,' डा. सुवेदीले भने, 'तर ओपीडी सेवा र ल्याब सेवा आइतबार र सोमबार बन्द रहनेछ ।'
स्वास्थ्य बीमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण
चितवन । साउनयता स्वास्थ्य बीमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि भरतपुर अस्पतालले बिमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ । बीमा बोर्डबाट पाउनुपर्ने रु ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् । यसअघि नै बीमा बोर्डले तीन महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउनेगरी नीति बनाएको थियो । भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बीमामार्फत गर्न रोकिएको हो । पौडेलले भने, ‘अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ । ती परीक्षणको कीट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो हुने गर्दछ। त्यसैले रोक्नु परेको हो ।’ बीमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको उनले बताए । उनका अनुसार फागुनदेखिको रु १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ । ती कम्पनीहरुले अस्पताललाई समान दिन गाह्रो मानेको उनी बताउँछन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा पौडेल बिमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउनसमेत कठिन हुन थालेको र अस्पताल सञ्चालनका लागि तत्काल रु २५ करोड भुक्तानी भयो भने अन्य आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुने बताउँछन् । उनले भने, ‘यस्तै अवस्था रहे फार्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ । अस्पतालमा हाल दैनिक एक हजार ५०० भन्दा बढी स्वास्थ्य बीमामार्फत बिरामीले उपचार लिँदै आएका छन् । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी यस्ता बिरामी रहेका तर भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको हो ।’ अस्पतालका बिमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको रु ३७ करोड भुक्तानी भए पनि चालु आर्थिक वर्षको हालसम्म भुक्तानी भएको छैन । अस्पताल विकास समितिको पैसाबाट बिमाका बिरामीलाई सेवा दिइएको जानकारी दिँदै उनले यही अवस्था रहे अस्पताल आर्थिक सङ्कटमा धकेलिने बताए । अस्पतालले मासिक रु ६ करोड बढीको स्वास्थ्य बिमाको उपचार सेवा दिँदै आएको छ। भरतपुर अस्पताल स्वास्थ्य बिमामा देशकै उत्कृष्ट र नमूना मानिन्छ । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा दाबी प्रक्रिया बुझ्न कर्मचारी यहाँ आउने गरेका छन् । यसरी आएकाहरूलाई बिमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको पौडेलले बताए । रासस
सिकलसेल र थालसिमिया बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण सुरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन वितरण प्रक्रिया आरम्भ भएको छ । मन्त्री पौडेलको पहलपछि भारत सरकारले बिरामीको प्रतिरोधी क्षमता वृद्धिका लागि दिने भनिएको भ्याक्सिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त गरेको छ । मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरे । मन्त्री पौडेलले थारु समुदायले वंशाणुगत रुपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन यसै वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरि अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गराउने निर्णय गरेका थिए । यसका साथै बिरामीका लागि निःशुल्क प्रतिरोधी औषधी उपलब्ध गराउने घोषणा गरेर सहयोगका लागि भारत सरकारसँग पहल गरेका थिए । भारत भ्रमणका क्रममा त्यहाँका स्वास्थ्य मन्त्री जेपी नड्डासँगसमेत यसबारे कुराकानी भएको थियो । यसलगत्तै भारत सरकारले बिरामीहरुका लागि उपलब्ध हुने गरी विभिन्न प्रकारका चार लाख डलर मूल्य बराबरको भ्याक्सिन उपलब्ध गराएको हो । अब भ्याक्सिन सिकलसेल एनिमियिा तथा थालसिमिया प्रभावित क्षेत्रका सरकारी अस्पतालहरुमार्फत वितरण गरिने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए । थारु समुदाय बहुल बसोबास रहेको बाँके, बर्दिया, कैलाली तथा दाङका बिरामीहरूलाई भ्याक्सिन वितरण गर्ने तयारी मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै टिकापुर अस्पताल लगायतका संघीय, प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत बिरामीहरुका लागि उपलब्ध गराउने गरी तयारी गरिएको प्रवक्ता बुढाथोकीले बताए । ‘आवश्यकता परेका तथा उपचार हुने सबै ठाउँमा भ्याक्सिन उपलब्ध गराइनेछ,’ उनले भने । ‘थारु जनसंख्याको प्रमुख स्वास्थ्य समस्या सिकलसेल तथा थालिसिमियाको उपचारका लागि यथासम्भव प्रयास भैरहेको थियो,’ मन्त्री पौडेलले भने, ‘बेग्लै वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरेका थियौं । अब प्राप्त औषधीले उपचारमा ठूलो राहत पुग्ने आशा छ ।’ मन्त्री पौडेलले थारु समुदायको समस्या समाधानका लागि घोषणा गरिएको छोटो अवधिमै उपचार सहायता र औषधी प्रदानमा मन्त्रालय सफल भएको पनि बताए । भारतीय राजदूत श्रीवास्तवले सहयोग दुई देशबीचको आपसी सम्बन्ध विस्तारको एक अंश भएको बताए । भ्याक्सिन प्रभावित क्षेत्रमा उपलब्ध गराउने गरी भण्डारणका लागि स्वास्थ्य सेवा विभागले आपूर्ति व्यवस्थापन केन्द्र बुटवल लुम्बिनीमा पठाइनेछ । नेपालका थारु समुदायमा यो वंशाणुगत रोगका रुपमा रहेको छ । जसको हालसम्म औषधी उपलब्ध भैसकेको छैन । तर, यो रोगका कारण बिरामीहरुको प्रतिरोध क्षमता कमजोर भएर निमोनिया, मेनिन्जाइटिसलगायतका रोग लाग्ने जोखिम उच्च रहेकाले जोगिन भ्याक्सिन वितरण गर्ने तयारी सरकारले गरेको हो ।