नुन र मुटु रोगको सम्बन्ध, उच्च रक्तचापको जोखिम
नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ । नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ । ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ । दैनिक कति नुन हाम्रो शरीरका लागि आवश्यक हो त भन्ने कुरा व्यक्तिको जीवनशैली, ठाउँ र स्वास्थ्य अवस्थाले पनि केही फरक पार्न सक्छ । सामान्यतः दैनिक दुईदेखि तीन ग्रामसम्म नुन (सोडियम) सेवन गर्नु उपयुक्त हुन्छ । बढीमा पाँच ग्राममा सीमित रहनेगरी खान सकिने भन्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि भनेको छ । मुटुसँगको सम्बन्ध नेपालमा नुन सेवन र मुटु रोगको सम्बन्ध गम्भीर चिन्ताको विषय बनेको छ । आयोडिनयुक्त नुनले थाइराइड जस्ता रोग नियन्त्रण गर्न सहयोग पुर्याए पनि यसको अत्यधिक सेवनले मुटु रोगलाई निम्त्याउन सक्छ । यहाँका मानिसको जीवनशैली, खानपान र स्वास्थ्य शिक्षाको अभावका कारण नुनको अत्यधिक सेवन र यसको कारणले हुने मुटु रोगका समस्या बढ्दो क्रममा छन् । हाम्रो स्वास्थ्यका लागि दुईदेखि तीन ग्राम उपयुक्त हुन्छ तर अधिकांश नेपालीले दैनिक पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्ने गर्छन् । विशेषगरी अचार, तिख्खर खानेकुरा, तथा प्रशोधित खानेकुराहरू जस्तै, लेज, कुरकुरे, चाउचाउ आदिमा उच्च मात्रामा नुन हुन्छ । ग्रामीण क्षेत्रमा प्राकृतिक खानाको प्रयोग भए पनि, सहरी क्षेत्रमा प्रशोधित खाना र फास्ट फुडको लोकप्रियताले नुन सेवनको दर उच्च देखिएको छ । नुन र मुटुरोग बीचको सम्बन्ध धेरै अध्ययनहरूद्वारा पुष्टि भएको छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ । अत्यधिक सोडियमले शरीरमा पानी थुप्रिने (पानी धारण गर्ने) समस्या उत्पन्न गराउँछ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापले मुटु र रक्तनलीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । उच्च रक्तचाप (हाइपरटेन्सन) मुटु रोगको प्रमुख जोखिम कारक हो । नेपालमा हृदय रोग मृत्युको प्रमुख कारणमध्ये एक हो । उच्च रक्तचाप र यसका कारण मुटु रोग हुने समस्या नेपालमा तीव्र रूपमा बढ्दै छ । डब्लुएचओका अनुसार, नेपालमा लगभग ३० प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छ । लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको मांसपेशीमा अनावश्यक दबाब पर्छ । यसले मुटुको असमान्य कार्यक्षमता, हृदयाघात र स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । नुनको अत्यधिक सेवनले धमनीहरूलाई सख्त (अथेरोस्क्लेरोसिस) बनाउँछ । यो प्रक्रियाले रक्तप्रवाहलाई अवरुद्ध गर्नसक्छ, जसले मुटुमा अक्सिजनको अभाव गराउँछ । धेरै नुन सेवन गर्ने व्यक्तिहरूमा पानी र सोडियमको सन्तुलन बिग्रन सक्छ । यसले मुटुको काम गर्न कठिन बनाउँछ, जसले मुटुको विफलताको सम्भावना बढाउँछ । नेपालमा स्वास्थ्य मन्त्रालयः उच्च रक्तचाप र मुटु रोग नियन्त्रणका लागि केही कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । नुनको उपभोग कम गर्ने रणनीति बनाउन डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । अन्य देशमा नुनको प्रयोग सामान्यतः अधिकांश देशहरूमा औसत नुन सेवन डब्लुएचओको सिफारिस (पाँच ग्राम प्रतिदिन) भन्दा धेरै उच्च छ । विकसित देशहरूले यसबारे धेरै सुधार गरेका छन्, तर विकासशील देशहरूमा अझै जनचेतना र नीतिगत हस्तक्षेप आवश्यक छ । ती देशहरूमा नुनको प्रयोग जनसङ्ख्या, संस्कृति, खानपान र जीवनशैलीका आधारमा फरक छ । विकसित देशहरूमा नुन सेवनमा कमी ल्याउने प्रयास भइरहेको छभने धेरै विकासशील देशहरूमा अझै अत्यधिक नुन सेवन चुनौतीपूर्ण रहेको छ । डा. राजेन्द्र कोजु विश्वका विकसित देशहरूमा नुनको प्रयोग कम गर्न राज्यस्तरबाटै पहलहरु भएको पाइन्छ । अमेरिकी सरकारले नुनको प्रयोग कम गर्न जनचेतना अभियान र खाद्य उद्योगमा नयाँ मापदण्ड लागू गरिरहेको छ । ल्याटिन अमेरिका मुलुकहरु ब्र्राजिल, मेक्सिको, अर्जेन्टिनाजस्ता देशहरूमा औसत नुन सेवन उच्च (८–११ ग्राम प्रतिदिन) छ । बेलायत, फिनल्यान्ड, डेनमार्कलगायत युरोपेली देशहरूमा नुन सेवन कम गर्न ठूला अभियान सञ्चालन गरिएको छ । बेलायतमा नुन सेवन कम गर्न पब्लिक हेल्थ इङ्ल्यान्डले फुड म्यान्युफ्याक्चरर्सलाई प्रशोधित खानामा नुन घटाउन निर्देशन दिएको छ । फिनल्यान्डः फिनल्यान्डले १९७० को दशकदेखि ‘लो–सोडियम खाना’ को प्रवद्र्धन गरेर नुन सेवनलाई ३० प्रतिशतले कम गरेको छ । सरकारले जनचेतना र ‘लो–सोडियम सोया सस’ को प्रवद्र्धन गरेर सुधार गर्ने प्रयास गरेको छ । छिमेकी मुलुक चीनमा औसत नुन सेवन १०–१२ ग्राम प्रतिदिन रहेकाले त्यसलाई घटाउन सरकारले जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीयहरूको औसत दैनिक नुन सेवन ८–१० ग्राम गरिरहेका छन् । सरकारको ध्यान आयोडिनयुक्त नुन प्रवद्र्धनमा केन्द्रित रहेकाले, नुन कम गर्ने पहल भएको देखिँदैन । स्वास्थ्य शिक्षाको कमीले गर्दा अधिकांश अफ्रिकी देशहरूमा नुन सेवनको स्तर उच्च छ । भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काका ग्रामीण र सहरी क्षेत्रमा नुनको अत्यधिक प्रयोग देखिन्छ । कसरी स्वस्थ्य हुने त ? नुन र मुटु रोगबीचको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । प्रशोधित खाना, जस्तैः चिप्स, तयारी खाना (जङ्क फुड), डिब्बामा बन्द गरिएका खाना आदिमा सोडियम धेरै हुनेहुँदा यस्ता खानेकुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंमा मुटु रोग वा उच्च रक्तचापको इतिहास छभने चिकित्सकसँग परामर्श गरेर नुन सेवनको उचित सीमा निर्धारण गर्नु अत्यन्त महत्वपूर्ण छ । घरमा खाना पकाउँदा नुनको मात्रा नियन्त्रण गर्नु र बाहिरका प्रशोधित खानेकुरा कम गर्नुपर्छ । यसका लागि धेरै किसिमका तरकारीको सट्टा एक वा दुई किसिमका तरकारी वा दालको प्रयोग गर्ने, सागपातहरुमा नुनको प्रयोग नगर्ने, एउटा तरकारीमा नुन राखेमा अर्कोमा नराख्नेजस्ता तरिका पनि अपनाउन सकिन्छ । नियमित रूपमा रक्तचाप जाँच गर्न र मुटु रोगको प्रारम्भिक उपचार सुनिश्चित गर्ने गरिएमा मुटुजन्य स्वास्थ्य समस्या आउन पाउँदैन । स्थानीय, ताजा र सन्तुलित खाना खाने बानी बसाल्नु, व्यायाम गर्नु र धुम्रपान तथा मद्यपान त्याग्नु जरुरी छ । निष्कर्ष नुन र मुटु रोगको समस्या समाधानका लागि व्यक्तिगत, सामाजिक, र सरकारी तहमा सुधारात्मक कदम उठाउन आवश्यक छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि नुनको मात्रा घटाउन खाद्य उद्योगलाई मापदण्डअनुसार उत्पादन गर्न निर्देशन दिनुपर्ने देखिन्छ । कम नुन खाएर, स्वस्थ जीवनशैली अपनाएर र जनचेतना अभिवृद्धि गरेर यस समस्या नियन्त्रण गर्न सकिन्छ । बालबालिकाहरुलाई घरमा नुनको अधिक सेवनको बेफाइदाबारे जानकारी दिने र विद्यालयमा पनि तयारी खानालाई निषेध गर्ने तथा पाठ्यक्रमहरुमा यसबारेमा वियषयवस्तुहरु समावेश गर्न आवश्यक छ । रासस (‘मुटुको कथा’ पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजुसँग गरिएको कुराकानीमा आधारित)
सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन गर्न विभिन्न जिल्लाका विद्यार्थी यहाँ आइपुगेका छन् । चिकित्सा शिक्षा विषयअन्तर्गत एमबिबीएस, बिएनएस, विपिएच, बि–फार्म, बीएसी नर्सिङलगायतका विषय अध्ययन गर्न विभिन्न जिल्लाबाट एक सय चार विद्यार्थी यहाँ आएका हुन् । कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यरहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ । सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा आउनेको सङ्ख्या बढेको जनाइएको छ । विपिएचमा नयाँ भर्ना भएका जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का सुरज उपाध्यायले कुनै समय कुम्लोकुटिरो बोकेर काठमाडौँ पढ्नु जानुपर्ने अवस्था अन्त्य भएर र अहिले काठमाडौँबाट भारी बोकी जुम्ला आउनुपर्ने अवस्था बनेको बताए । एमबिबीएस पढ्न गर्न प्रतिष्ठानमा आएकी काठमाडौँकी प्रतीक्षा ज्ञावालीले प्रतिष्ठानको पठनपाठन, व्यवस्थापनलगायतका सबै पक्ष अब्बल लागेर अध्ययनका लागि जुम्ला रोजेको जानकारी दिइन् । प्रतिष्ठानमा विभिन्न सङ्कायतर्फ विद्यार्थी भर्ना भइसकेका छन् । जसमा एमबिबीएसतर्फ–४३ जना, बिपिएचमा–१५, बी फारतर्फ–१४ जना, बीएचसी नर्सिङ–१७ , बीएनएसतर्फ–१५ गरी कूल एक सय चार विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेको स्कुल अफ पब्लिक हेल्थ बिपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओमप्रकाश काफ्लेले बताए । रासस
बाबासँग टोपी र टुप्पी, छोरीको हातमा २ स्वर्ण पदक
काठमाडौं । उनलाई पढाइले निकै तनाव दिन्थ्यो । जति पढेपनि फेल भएपछि उनमा निराशा छाउँदै थियो । विद्यालयत तहको पढाइले कलेज तहमा काम गरेन । देशभरका बेष्ट ब्रेनहरु भिड्ने काठमाडौंमा इलामको पढाइ साध्य लागेन । तर, उनले हार मानिन्, उनी लागि रहिन्, उनी अर्थात् निकिता काफ्ले । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा उनी दुइटा स्वर्ण पदक सहित सम्मानित भइन् । उनलाई लागेको थिएन कि ‘जीवनमा गोल्ड मेडलिष्ट बन्छु भनेर ।’ तर, उनको मिहिनेतले त्यसलाई सम्भव तुल्यायो । कक्षामा फेल नभइदिए हुन्थ्यो भनेर प्राथना गर्ने उनी गोल्ड मेडलिष्ट बनिन् । गोल्ड मेडलिष्ट बन्नुअघिको कहानी पनि रोचक छ । एसएलसी पास भइसकेपछि निकिताले प्लस टुका लागि बागबजारमा रहेको काठमाडौं मोडल क्याम्पसमा विज्ञान विषय लिएर पढ्न थालिन् । तर, उनी फेल हुन थालिन् । त्यो पढाइ सकेपछि उनले त्यतिबेलै चिकित्सा पढ्छु भन्ने प्रण गरिन् । जब अध्ययन सुरु गरिन् तब उनले कस्सेर पढ्नुपर्छ भन्ने आँट राखिन् । पढ्न त पढ्ने तर कसरी ? लेखेर पढ्ने कि पढेर लेख्ने ? किताब सबै घोक्ने कि, केही सारांश बनाएर पढ्ने ? यहाँनेर अलमल थियो । प्रायः हरेक विद्यार्थी यहाँनेर अलमलमा पर्छन् । निकिता पहिलो चरणको टेस्ट परीक्षामा फेल भइन् । जहाँ उनीलगायत सबै विद्यार्थीलाई भनिएको थियोऔ ‘यहाँ फेल हुन मिल्ने एउटै मात्र परीक्षा यो हो, त्यसपछि हरेक परीक्षामा फेल हुन पाइँदैन ।’ अब उनलाई पीर लाग्यो । त्यही बेला एकजना सिनियर दाइलाई उनले चिनेकी थिइन् । जसले उनलाई पढाइको टेक्निक (तरिका) सिकाइदिए । उनले त्यो तरिकालाई लागू गरिन् । नभन्दै युनिट जिरोको रिजल्ट राम्रो आयो । जहाँ उनको नम्बर उच्च स्थानमा थियो । अघिल्लो परीक्षामा फेल भएकी उनलाई त्यसपछि विश्वास लाग्यो कि अब मैले पढ्न सक्छु, गर्न सक्छु । यस्ताे थियो टेक्निक कुनै पनि विद्यार्थीले आफ्नो कोर्समा भएको सबै कुरा पढ्नै पर्छ । तर सबैलाई कण्ठ गर्न सायदै सकिँदैन । निकितालाई सिकाइएको तरिका के थियो भने पाठ्यपुस्तकमा भएका सबै कुरा अनिवार्य पढ्नैपर्छ । तर त्यसमा केही कुरा छनोट गर्न सक्नुपर्छ । जस्तो हरेक वर्ष धेरैजस्तो आइरहने प्रश्नहरू कस्ता छन् ? ती कति महत्त्वपूर्ण छन् । यी कुरा हेर्नुपर्छ । अर्को जान्नै पर्ने केही कुरा हुन्छ त्यसलाई पनि उत्तिकै पढ्नुपर्छ र अर्को पढ्नै पर्ने तर पहिलो र दोस्रो जस्तो कण्ठ गरिरहन आवश्यक नपर्ने यति कुरा विद्यार्थीले छनोट गर्न सक्नुपर्छ । त्यसका लागि फेरि छुट्टै अध्ययन हुनुपर्छ । जस्तै विगत दुई-तीन वर्ष पहिले आएका प्रश्न पेपर हेर्नु पर्छ । पढ्ने तरिका व्यक्तिपिच्छे फरक हुन्छ । कसैलाई पढेर मात्र कण्ठ हुन्छ त कसैललाई लेखेरै पढेको कन्ठ हुन्छ । निकिता जानेको कुरा लेख्ने अनि पढ्ने गर्थिन् । यसरी पढ्दा उनलाई कण्ठ हुन्थ्यो । कसैलाई एकै ठाउँमा बसेर पढ्दा कण्ठ हुन्छ भने कसैलाई पढ्दै हिँड्दै यताउता गरिरहनुपर्छ, त्यस्तै कसैलाई ठूलो स्वरमा पढेको कुरा याद हुन्छ भने कसैलाई मनमनै परेर याद गर्न सहज हुन्छ । पढाइको यस्तो तरिका थाहा पाइसकेपछि निकिताले आफ्नो पढ्ने शैली बदलिन् । उनलाई यस्तो बानी पर्याे कि बसेर पढ्दापढ्दा बस्नै नमिल्ने समस्यासमेत भयो । उनी भन्छिन्, ‘मलाई पढ्न यति मन पर्न थाल्यो कि कहिलेकाहीं खाना खाने, सुत्नेभन्दा सबै समय पढाइमै खर्चन थालें ।’ ‘सबैभन्दा धेरै जान्नै पर्यो, त्यसपछि सबैभन्दा धेरै के पढ्ने यो कुरा छनोट गर्नुपर्याे । त्यसपछि एक पटक हेरे पनि हुने कुराहरू पढ्नुपर्यो यति गरिसकेपछि दिमागमा बसिहाल्छ,’ उनी भन्छिन्,‘नसुनेको कुरा मात्र के हो के हो हुन्छ । एकपटक सुनेपछि दिमागमा रहेको हुन्छ । यसरी पढ्दा टप गर्न सकिँदो रहेछ ।’ दुईवटा स्वर्णपदक निकिताले यसरी गरेको मिहिनेतले दुईवटा स्वर्ण पदक पाइन् । एउटा ‘उपकुलपति’ स्वर्ण पदक र अर्को ‘हरिमान उमादेवी’ स्वर्ण पदक । मेडल र प्रमाणपत्र पाउँदा जति खुसी उनलाई कहिल्यै लागेन । उनलाई धेरै मान्छे अगाडि गएर बाेल्न रहर थियो । टप हुने व्यक्तिले मेडल पाइसकेपछि बोल्न दिने अवसर दिइएको थियो । जुन दिन निकिता टप भएर बोल्न मञ्चमा गइन्, उनले आफ्नो त्यो रहर पनि पुरा गरिन् । भन्छिन्, ‘त्यस दिन मलाई यति खुसी लाग्यो कि त्यो क्षणलाई व्यक्त गर्न सक्दिँन, एउटा झोला बोकेर आएको मान्छे दुई दुईटा मेडल बोकेर फर्कँदा धेरै खुसी भएँ ।’ पढेर बस्दा बस्दै आएको समस्या निकितालाई बसेर पढ्न यति रमाइलो लागिसकेको थियो कि त्यसरी नबस्दा पढे पनि पढे जस्तो नलाग्ने लत बसिसकेको थियो । तर उनलाई सधैं बसेर पढ्दा स्वास्थ्यमा समस्या देखियो । उनलाई बसेर पढ्न मिल्ने अवस्था भएन । अर्को कुर्सीमा बसेर पढ्न थालिन् । यतिबेला भने उनलाई पीर पनि पर्न थालेको थियो । ‘अन्तिम सेमिस्टरको परीक्षा आइसकेको थियो, बसेर पढ्न सक्ने अवस्था थिएन,’ उनी भन्छिन्, ‘एकातिर डर पनि थियो, अर्कोतिर आशा पनि थियो, तर पनि पढ्न छोडिन् । यही मिहिनेतले मलाई गोल्ड मेडल प्राप्त भयो ।’ हरेक सेमिस्टरमा टप हुन थालेपछि उनले मनमा सपना सजाउँथिन् । यदि म टप भएँ भने स्पिच दिन पाउँछु, आमाबुवालाई बोलाउँछु, उहाँहरू मैले मेडल पाएको देख्दा कती खुसी हुनुहुन्छ होला, उनी यस्तै कुरा सोच्थिन् । नभन्दै उनकाे रहर पनि पुरा भयाे । खुसी हुँदै भन्छिन्, ‘कहिलेकाहीं साेंचेकाे कुरा पनि पुरा हुन्छ भन्थे हो रहेछ, मैले जस्तो कल्पना गरेको थिएँ ठ्याक्कै त्यस्तो भयो ।’ होस्टेल बसेर पढ्दा निकिताकाे जन्मघर इलाम हो । उनले कक्षा १० सम्म गाउँमै पढिन् । गाउँमै भएपनि उनले निजी स्कुलमा पढ्ने अवसर पाएकी थिइन् । तर परिवारको अवस्था भने त्यति राम्रो थिएन । उनी सानै हुँदादेखि आमा बिरामी भइरहन्थिन् । अहिले पनि आमा झापाको विर्तामोडमा अस्पतालमै भर्ना छिन् । बुवाको गाउँमै काठ र अलैंचीको व्यापार छ । पारिवारिक समस्या भएपनि निकितालाई पढ्न भने कहिल्यै बाधा भएन । उनका बुवाको छोरीलाई पढाउने ठूलो रहर थियो । एसएलसी पास भइसकेपछि निकिता प्लस टु पढ्न काठमाडौं आइन् । उनी बागबजारमा रहेको काठमाडौं मोडल क्याम्पसमा साइन्स लिएर पढ्न थालिन् । बसाइँ होस्टेलमा थियो । सधैं कक्षामा उत्कृष्ट हुने उनी काठमाडौं आइसकेपछि उत्कृष्ट हुन सकिनन् । किनकि उनीभन्दा क्षमतावान विद्यार्थी एउटै सेक्सनमा थिए । कक्षाभित्रै हुने परीक्षामा कहिले फिजिक्स कहिले केमेस्ट्री विषयमा फेल हुन थालिन् । यतिसम्म कि एसएलसीमा ९० भन्दा धेरै नम्बर ल्याएर पास गरेको म्याथम्याटिक्समा पनि उनी फेल हुन थालिन् । ‘मलाई पढ्न जाँगर नआएको हो कि,’ उनी भन्छिन्, ‘पढाइ निकै बिग्रियो, खोइ के-के, मैले मेसो नपाएको हो कि, या त मैले पढ्न अल्छी गरेकी हुँ ।’ नर्स बन्ने धोको बेला-बेला आमा बिरामी भइरहने हुनाले निकितालाई प्लोरेन्स नाइटिङ्गेलको कथाले छुन्थ्यो । उनको रहर पनि यस्तै नर्स बन्ने थियो । तर कतिबेला उनको रहर परिवर्तन भयो उनलाई पत्तै भएन । ‘मलाई डाक्टर बन्छु भन्ने लागेको पनि थिएन, सोंचेकी पनि थिइनँ,’ उनी भन्छिन्, ‘तर साथीभाइको संगतमा लागेर मैले नर्सिङ पढ्ने सोंच बदलिसकेकी रहेछु, त्यतातिर ध्यानै दिइएन ।’ उनी होस्टेल बस्दा एउटी मिल्ने साथी थिइन् । उनले एमबीबीएसको तयारी गर्ने योजना बनाइन् । साथीको यो सोंचले निकिता पनि यही सोंच बनाउन थालिन् । साथीहरूसँगै एमबीबीएसको तयारीमा जुटिन् । होस्टेल बस्दा कामबाहेक बाहिर निस्कन मिल्दैन । सधैं भित्र बस्दाबस्दा दिक्क लाग्थ्यो, एकछिन भएपनि बाहिर निस्कन मिल्छ भन्दै साथीहरूसँगै पढ्न सुरु गरें,’ उनी भन्छिन्, ‘तर, एमबीबीएसमा नाम निस्केन त्यो दिन साथी र म बेस्सरी रौयौं ।’ उनीहरू दुवै जनाले फेरि अर्को पटक परीक्षा दिने योजनासहित चित्त बुझाए । उनले आफू फेल भएको तर अब डाक्टर नै बन्ने कुरा बुवालाई फोन गरेर सुनाइन् । टुप्पी र टोपी भएसम्म पढाउने बुवाकाे संकल्प निकिताका बुवा छाेरीलाई सक्दो पढाउन थाहन्थे । छाेरी फेल भएकाे सुनेपछि उनले भने, ‘तेरो बुवा धेरै पैसा भएको मान्छे होइन, अलि गाह्राे त गाह्रो हुन्छ, तर मेरो टुप्पी र टोपी मात्र रह्यो भने पनि म पढाउँछु, तिमी हरेस नखाऊ ।’ बुवाको यो मार्मिक शब्दले निकिताकाे मन कटक्क छोयो । ‘रहरैरहरले मलाई चिकित्सक बन्न मन लाग्यो,’ उनी भन्छिन्, ‘म धेरै पैसा तिरेर एमबीबीएस पढ्न सक्ने हैसियतको थिइनँ, मैले फुल स्कलरसिपको लागि प्रयास गरेकी थिएँ ।’ उनले काठमाडौंबाट दुई-तीन पटक परीक्षा दिँदा समेत नाम ननिस्किएपछि धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएसमा परीक्षा दिइन् । त्यहाँ पनि नाम निकाल्न सकिनन् । उनले त्यहाँ बीडीएसमा पनि टिक लगाएकी थिइन् । बीडीएसमा भने उनलाई आशा थियो । तर बीडीएसमा निकिताले आधा रकम आफैले तिर्नुपर्ने भयाे । त्यसपछि उनी बीडीएस अध्ययनका लागि काठमाडौंबाट धरान पुगिन् । २०१६ मा भर्ना भएर उनी २०२३ पासआउट भएर निस्किन् । पासआउट भएसँगै उनले काम गर्न थालिन् । उनले विभिन्न क्लिनकमा गएर काम गरिन् । अहिले भने बौद्धमा रहेको अन्नपूर्ण डेण्टलमा काम गरिरहेकी छिन् । उनको दैनिकी आजभोलि कहिले क्लिनक त कहिले शिविरमै बित्छ । उनलाई सहयोग गर्ने उनका जीवनसाथी छन् । स्वस्थ छैनन् नेपालीका दाँत नेपालमा दाँतको समस्या प्राय: धेरैजसो व्यक्तिमा देखिन्छ । बच्चा, जवान वृद्धवृद्धासम्म देखिने यो समस्या जटिल बन्दै गएको छ । तर नेपालीको बानी जबसम्म दुख्दैन अथवा सहन नसक्ने गरी दुखाइ हुन्छ तब बल्ल अस्पताल नपुग्ने । ‘दाँतमा बसेको फोहोरमैला जसले गिजालाई कमजोर बनाइरहेको छ, हड्डीलाई गलाइरहेको छ, त्यसलाई खासै महत्त्व दिएको छैन,’ निकिता भन्छिन्, ‘सामान्य अवस्थामा अस्पताल पुग्दा दुखाइ पनि हुँदैन, खर्च पनि हुँदैन तर, किरा लागेर दुखिसकेपछि अब यसलाई निकाल्नुपर्छ भन्ने सोंच अधिकांशमा हुन्छ ।’ दाँतको समस्या एकैनासको हुँदैन । धेरैजसो दाँत मान्छेको तलको पहिलो बंगारामा लागेको हुन्छ, जुन ६ वर्षको उमेरमा त्यो दाँत आइसकेको हुन्छ । यो बेलामा अभिभावक साटिने दाँत हो भन्दै बस्ने गर्छन् । जसका कारण सानै उमेरदेखि त्यो दाँतमा किरा लागेको हुन्छ । जवानहरूमा किराले खाएको र बुढाबुढीमा दाँत गिजाबाट छुट्टिन लागेको प्राय: पाइन्छ । दाँतको कुनैपनि समस्या हुनुको पछाडि बहुपक्षी कारण छन् । गुलियो सबैभन्दा बलियो एक कारण हो भने अरू धेरै कारणहरू पनि छन् । किराले थोरै खान सुरु गरेको छ भने त्यो बढ्ने नै हुन्छ, त्यसैले लाग्नेबित्तिकै उपचार गर्नुपर्ने सल्लाह उनको छ । यसबाट बच्न भनेको मुख्य कुरा खाना खाइसकेपछि साँझ, बिहान एक दिनमा दुई पटक दाँत अनिवार्य माझ्नुपर्छ । ‘ब्रस गर्न पनि टेक्निक जान्नुपर्छ । टेक्निक मिलाएर दाँत माँझ्दा एक पटक माझे पनि हुन्छ, ‘ उनी भन्छिन्, ‘नभए दुई पटक अनिवार्य ब्रस गर्नुपर्छ । धेरैजस्तो नेपालीलाई ब्रस गर्ने तरिकासमेत जानकारी छैन, आजभोलि चम्चाले खाना खायाे अनि मुख पुछी हिँड्ने मान्छे धेरै छन् ।’ बच्चाको दाँत अझ जोखिममा आजभोलि अधिकांश बालबालिकामा दाँतको समस्या देखिन थालेको छ । अगाडिको दाँत मात्र होइन पुरै दाँत सखाप भएका बालबालिकाहरू पनि कहिलेकाँही भेटिन्छन् । धेरै जस्तो अभिभावकले यसमा ध्यान दिएको पाइँदैनन् । यस्तो अवस्थामा बालबालिकाको दाँतको उपचार गर्नुको साटोँ दाँत झरेर नयाँ आउँछन् भन्ने आशामा अभिभावक बसेका हुन्छन् । नसा समेत किरा लागेको अवस्थामा बालबालिकाहरू आइपुने गरेको उनको भनाइ छ । उनी यसको कारण चकलेट धेरै खानु रहेको बताउँछिन् । ‘बालबालिकालाई फकाउन, चुप लगाउन हाम्रो सजिलो उपाय हो चकलेट, अब बालबालिका यति सम्म थाहा पाउनसक्ने भएकी अब हामी रुँदा चकलट पाउँछौ भन्ने अवस्थामा पुगे, उनी भन्छिन्, चकलेट खुवाउँछौँ तर, मुख कुल्ला गर्न, ब्रस गर्न सिकाउँदैनौं जसको कारण यस्ता समस्या बालबालिकामा धेरै देखिन थाले ।’ डा. निकिताका अनुसार बच्चाको दातमा किरा लाग्नुको कारण चकलेटमात्र होइन । दूधले पनि यो समस्या निम्त्याउँछ । बच्चालाई बोटल चुसाएर सुताउँदा बालबालिकाको पछाडीको बंगरा र माथिको अगाडिको माथिपट्टी किरा लाग्ने सम्भावना धेरै हुन्छ । तलको दातमा लागेको दूध थुकले पखाल्दा किरा लाग्दैन भने माथिल्लो भागमा किरा लाग्छ । तीन वर्षसम्मको बच्चामा बोटलको दूध चुसाउँदा समस्या हुन्छ । फुल स्कलरिपमा विदेश पढ्न जाने योजना चिकित्सक निकितालाई अब विदेश पढ्न जाने ईच्छा छ । त्यो पनि नेपाल सरकारकै फुल स्कलर सिपमा । ‘अहिले नेपालमा काम गर्दा यही पनि गर्न सक्छु, राम्रै हुन्छ कि भन्ने सोच पनि छ,’ उनी भन्छिन्,‘ तर एक पटक बाहिर जान ईच्छा छ, त्यहाँको पढाइको स्वाद चाख्न निकै रहर, यसको लागि प्रयास पनि गरिरहेकी छुँ ।’ नेपालमा चिकित्सकको पारिश्रमिक पनि धेरै छैन । यही समस्याका कारण देश छोड्ने चिकित्सकको संख्या उत्तिकै छ । भन्छिन्,‘सानै ठाउँमा थिए, धेरै ठूलो सपना पनि थिएन तर, अहिले यो ठाउँमा पुग्दा सपना पनि बढ्दै गइरहेको छ ।’ टपर भइसकेपछि नेपालमा हरेक वर्ष, हजारौँ विद्यार्थी दिक्षीत हुन्छन् । त्यसमध्ये थुप्रै विद्यार्थी गोल्ड मेडल पाउँछन् । तर, नेपालमा गोल्ड मेडल पाएकाहरु भने कुनै अवसर नपाएको गुनासो गर्छन् । सकेसम्म आफ्नै क्षमताले गर्न खोज्छन् । त्यसमा तलब पनि खासै राम्रो हुँदैन । भन्छिन्,‘यो मेडल भनेको पछिसम्म केही यादगार बनाउने क्षणमात्र हो , मिहिनेत अनुसारको फल हो ।’ उनले गोल्ड मेडलको उपाधी मात्र पाएकी छिन् तर, मेडल अझै हात परेको छैन ।