स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य जनशक्ति थप्न मिल्ने बाटो खुला
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल । फाइल तस्बिर । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ । गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पेश गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो । संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन । यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढे पनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भैरहेको छ । कतिपय क्षेत्रमा जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भैरहेको अधिकारीहरूले बताउने गरेका छन् । मन्त्री पौडेलले स्वास्थ्य सेवा विस्तार तथा प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गर्ने घोषणा गरेका थिए । उनले मन्त्रालय सम्हालेलगत्तै थालेको गृहकार्य पछि हालै मन्त्रिपरिषदले मन्त्रालयलाई पूर्व स्वीकृति दिएको हो । उनले अति आवश्यक दरबन्दी पुनरावलोकनको काम लामो समयदेखि नहुँदा देखिएको बाधा हटाउने घोषणा एक सय दिनको पत्रकार सम्मेलनमा गरेका थिए । गत पुष ११ गते मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले पूर्व स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन मन्त्रालयलाई अनुरोध गरेको थियो । अब मन्त्रिपरिषदबाट पूर्व स्वीकृति प्राप्त भए पछि मन्त्रालयले सर्वेक्षणको काम अघि बढाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सर्भेक्षण प्रतिवेदनपछि मन्त्रालयमा बढ्दो मागअनुसारका जनशक्ति थप गर्न वैधानिक प्रक्रिया अघि बढाइनेछ। मन्त्रालयले ओएनएम सर्वेक्षणका लागि मन्त्रालयका सहसचिव ऋषिराज आचार्य संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन तथा अर्थका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको छ । कार्यदलको प्रतिवेदनका आधारमा दरबन्दी पुनरावलोकनको प्रस्ताव पुनः अर्थ हुँदै मन्त्रीपरिषदमा लैजाने गरी मन्त्रालयले काम थालेको छ । हाल मन्त्रालयमा एक सय ६ दरबन्दी तथा आठ सय ३१ पुल दरबन्दीका रुपमा जनशक्ति कार्यरत छन् । यसले बढ्दो स्वास्थ्य सेवा विस्तार तथा भावी समस्यासँग जुध्न सम्भव नभएको जानकार बताउँछन् ।
त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकका लागी चार जनाको नाम छनोट
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकका लागि चार जनाको नाम छनोट भएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट समितिले प्रा.डा. घनश्याम गुरुङ, सह प्रा.डा.गोपाल सेडाईं, प्रा.डा. नरमाया थापा र प्रा.डा सुवासप्रसाद आचार्यलाई छनोट गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो । अब अन्तरवार्ता माघ २३ गते हुने भएको छ । छनोट समितिले अन्तर्वार्तामा आउँदा अस्पताल सञ्चालन सम्बन्धी व्यवस्थापन योजनाको १० मिनेटको पावर प्वाइन्ट प्रस्तुतीकरण समेत तयारी गरी ल्याउन भनेको छ । समितिले हरेक उम्मेदवारलाई आधा घण्टाको समय दिने छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दिनेश काफ्ले रिटायर्ड भएपछि उक्त पद रिक्त रहेकोमा डा .घनश्याम गुरुङले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए ।
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिए । यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवले बताए । उनले भने,’निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ ।’ पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिए । ‘देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ’, उनले भने, ‘तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।’ बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उनले बताए ।