क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँ : उपसभामुख राना
काठमाडौं । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट जोगिन सावधानीकासाथ आफ्नो स्वास्थ्यको हेरचाह गर्न आग्रह गरेकी छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले क्यान्सर लाग्नबाट जोगिन सावधानी अपनाउनु जरुरी रहेको बताइन् । क्यान्सर पीडितलाई पनि परिवारको माया र प्रेम आवश्यक हुने बताइन् । समाजको काम गर्न कुनै ठूलो फण्ड आवश्यक पर्ने भन्दै सँगै मिलेर कामहरु गर्न जरुरी रहेको जानकारी दिइन् । उपसभामुख रानाले भनिन्, ‘क्यान्सर लाग्नबाट जोगिन हामीले सावधानी अपनाउनुपर्छ । लाग्यो भनेपनि कसरी बच्न सकिन्छ भनेर हेर्नुपर्छ । सँगै मिलेर अलिअलि पैसा उठाएर हामी धेरै कामहरु गर्नसक्छौँ ।’ उपसभामुख रानाले क्यान्सरपीडितलाई माया गर्नुपर्ने बताइन् ।
क्यान्सरको न्युनिकरण गर्दै निवारणको स्थितिमा पुग्ने नेपालको लक्ष्य छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनिकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताए । उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए । पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्युनिकरण गर्दै लैजानुपर्ने बताए । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको जानकारी दिए । ‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरु गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, मेरो दिदिहरु, मेरो समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ,’ उनले भने । मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने उल्लेख गरे ।
आजदेखि १० देखि १४ वर्षका किशोरीलाई निःशुल्क खोप, ५४ हजार स्वयंसेवक खटाइने
काठमाडौं । आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपिभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबैजना आ-आफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे । ‘हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं,’ उनले भने । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार ९ सय विद्यालयका खोप केन्द्र र ८ हजार २ सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी गराए । त्यसैगरी ५४ हजार १६० स्वयंसेवक खटाइने छन् भने १५ हजार ६७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् । ‘खोप प्रभावकारी छ, ढुक्क भएर लगाउनुस्’ चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिन्छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपिभी खोप लगाइन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सररोग विशेषज्ञ डा सृष्टि श्रेष्ठ प्रजापतिले बताए । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उनले जानकारी दिए । उनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपिभीले गराउँछ । ‘एचपिभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत बुझाइ गलत हुन् । ढुक्क भएर लगाउँदा हुन्छ,’ उनले भने । नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा २ हजार १६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष १ हजार ३१३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा बुढाथोकीले एचपिभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरे । ‘विश्वका एक सय ४५ भन्दाबढी देशमा यो खोप प्रयोग भइरहेको छ भने ६१ देशमा प्रयोग भइसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको र औषधि व्यवस्था विभागले पनि स्वीकृति दिएको छ । विज्ञानले प्रमाणित गरेको खोप लगाइने हुनाले निर्धक्क भएर लगाउन अनुरोध गर्दछौँ,’ उनले भने । खोप लगाएपछि सुई लाएको ठाउँमा दुख्ने, सुन्निने, ज्वरो आउनेलगायत केही सामान्य असर (साइडइफेक्ट) हुनसक्ने बताउँदै डा बुढाथोकीले ती असर केही दिनमा आफैँ निको भएर जाने बताए । ‘केहीले यो खोप लगाउन हुन्न भन्ने हल्ला पनि फिैलाएका पाएका छौँ । ती भ्रण मात्र हुन् । हामीले खोप लगाएपछि केही असर देखिए उपचारका लागि चिकित्सकको समूह तयारी अवस्थामा राखेका छौँ । खोप लगाइसकेपछि ३० मिनेट जति असर देखिए/नदेखिए हेर्न छुट्टै कोठामा राख्छौँ । उमेर समूहभन्दा बाहिर र ज्वरो आएकाले भने खोप नलगाइदिनुस्,’ उनले भने । राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२/७३ र आव २०७३/७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’का रूपमा हरेक प्रदेशको एक/एक अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइसकिएको छ । त्यसैगरी खोप शाखाले यो यसलाई राष्ट्रिय खोप तालिकामासमेत समावेश गरिसकेको छ । सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तरराष्ट्रिय रणनीति बनाएको छ । उक्त रणनीतिमा (९०-७०-९०) को लक्ष्य राखिएको छ । नेपालले पनि ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्ण रूपमा एचपिभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनःपरीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य राखेको छ । रासस