कृषि विकास बैंकका कर्मचारीको टाउकोमा लाग्यो गोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मंगलबार कृषि विकास बैंकका कर्मचारीलाई गोली लागेको छ । बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीको टाउकोमा गोली लागेको कम्पनी सचिव हिमलाल पौड्यालले  जानकारी दिए ।  उनका अनुसार बैंकको केन्द्रीय कार्यालयमा काम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिले हान्दा बैंकका कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गोली लागेको हो ।  ‘स्वास्थ्य मन्त्रालयमा आगजनी भइरहेको थियो । त्यही क्रममा गोली प्रहार हुँदा बैंकका सहयोगी कर्मचारी अशोक श्रेष्ठको टाउकोमा गाेली लाग्यो । गोली कसले हानेको हाे स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘उहाँ बैंकको कम्पाउन्ड भित्रै हुनुहुन्थ्यो । काम गरिरहेको अवस्थामा गोली लागेको हो ।’  उनका अनुसार हिजो नै अन्नपुर्ण अस्पतालमा लगेर उपचार गरिएको छ । साथै, घाइेते श्रेष्ठको परिवारसहित उपस्थितिमा अप्रेशन गरेर गोली निकालिएको उनले बताए ।  ‘प्रेसर स्टेबल हुन नसकेका कारण चिकित्सकको सल्लाह अनुसार आज अप्रेशन गरियो । र, गोली निकालिएको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ भनेर चिकित्सकले भन्नु भएको छ,’ उनले भने ।  यस्तै, बैंकको किर्तीपुर शाखामा रहेको एटीएम मेसिन तोडफोड गरिएको उनले बताए । तर, के कति क्षति भएको र पैसाको अवस्था के छ भन्ने स्पष्ट हुन नसकेको उनको भनाइ छ । ‘प्रदर्शनकारीहरुले फुटाउन खोजेका रहेछन्, जेनजी समूहले नै त्यो फुटाएको एटीएम मेसिन बैंकमा आएर बुझाएका छन् । के कति क्षति भएको छ, एकिन छैन,’ उनले भने । उनका अनुसार लहानमा खाद्य संस्थानको डिपो जलाउन खोज्दा बैंकको शाखामा समेत क्षति पुगेको छ भने धनगढी शाखामा गाडीमा क्षति भएको छ ।  ‘लहान शाखामा ढुंगामुडा गरेका छन् । कम्प्युटर र सिसाहरु फुटेको जानकारी आएको छ । खाद्य संस्थाको डिपो जलाउन खोज्दा बैंकको शाखामा क्षति पुगेको छ,’ उनले भने, ‘धनगढीको शाखामा बैंकको गाडीमा क्षति भएको सूचना छ । के कति क्षति भएको भन्ने एकिन तथ्याङ्क आएको छैन ।’  पौडेलका अनुसार बैंकका अन्य कर्मचारीहरु भने सबै सुुरक्षित रहेको जानकारी दिए । साथै बैंकको प्रणाली सूचारु राख्न आईटीका कर्मचारीहरु निरन्तर खटिरहेको उनले बताए । संकटको बेलामा बैंकका कर्मचारीहरु कसरी परिचालन गर्ने र सम्पत्ति कसरी सुरक्षित गर्ने भनेर टिम समेत खडा गरिएको उनको भनाइ छ । 

महँगा भनिएका कलेजमाथि आक्रमण, अर्बौंको क्षति

काठमाडौं । देशमा मौलाएको भ्रष्टचार बेथितीविरुद्ध सडकमा आएका जेनजीहरूले उपत्यकामा रहेका निजी शैक्षिक संस्थामा आगजनी गरेका छन् । उपत्यकामा महँगा भनिएका कलेज र नेताहरूको लगानीमा निर्माण भएका भनिएका स्कुलहरूमा नै उनीहरुले आगजनी गरेका हुन् । अहिलेसम्म हामीलाई प्राप्त तथ्यांकअनुसार युलेन्स, नामी, ग्लोबल र जेभिएर इन्टरनेश्नल कलेजमा तोडफोड तथा आगजनी भएको छ । हामीले तोडफोड तथा आगजी भएका स्कूल÷कलेजमा भएको क्षतिको विषयमा यो सामग्री तयार गरेका छौं ।  युलेन्सको भवन र गाडी जले  अन्तर्राष्ट्रिय स्तरको विद्यालय शिक्षा नेपालमा दिँदै आएको युलेन्स स्कुल जलेर खरानी भएको छ । ललितपुरको सातदोबाटोस्थित खुमलटारमा रहेको युलेन्स स्कूलको भौतिक संरचनादेखि विद्यालयभित्र रहेका गाडीहरू प्रदर्शनकारीले लगाएको आगोबाट नष्ट भएका छन् ।  प्रदर्शनकारीले सामाजिक सञ्जालमा लाइभ गरेरै विद्यालय र गाडीमा आगजनी गरेका थिए । परराष्ट्र मन्त्री समेत रहेकी आरजु राणा देउवाको लागनी रहेको भनिएको युलेन्स स्कूलले महँगो शुल्क लिइरहेको भन्दै आक्रोशमा मंगलबार प्रदर्शनकारीले आगो लगाएका थिए ।  युलेन्स स्कूलका प्रधानाध्यापक मेदिन लामिछानेले आगजनीबाट ठूलो क्षति भएको जानकारी दिए । उनका अनुसार क्षतिको एकिन विवरण आउन सकेको छैन ।  ‘आगजनीबाट भवन जलेको छ, अरु क्षति पनि धेरै भएको छ । तर, अहिले यति नै क्षति भयो भन्न सकिने अवस्था छैन,’ उनले भने ।   नामी स्कुलमा पनि आगजनी  जोरपाटीमा रहेको नामी इन्टरनेश्नल स्कुलमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो विद्यालयको प्रांगणमा रहेका बस, कमर्चारीका गाडीदेखि विद्यालय भवनमा प्रदर्शनकारी आगो लगाएका थिए ।  यो स्कुलमा पनि देउवाकी पत्नी आरजु राणाको लगानी रहेको भन्दै प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेको भीडीओमा सुन्न सकिन्छ । तर, आरजु राणाको लगानीको विषयमा भने अहिलेसम्म प्रमाणित हुन सकेको छैन ।  यो स्कुललाई पनि प्रदर्शनकारीले चर्को शुल्क लिइरहेको राणाको स्कुल भन्दै तोडफोड र आगजनी गरेको भीडीओमा सुनिन्छ ।  आगजनीपछि विद्यालयको भौतिक संरचना जलेर नष्ट भएको छ । यो स्कुलमा पनि कति क्षति भयो भन्ने विवरण आएको छैन ।  ग्लोबलका दुवै भवन जले  नेताका छोराछोरी अध्ययन गर्ने कलेज भन्दै काठमाडौंको मध्येबानेश्वरमा रहेको ग्लोबल इन्टरनेश्नल कलेजमा प्रर्दशनकारीले आगजनी गरेका छन् । आगलागीबाट साइन्स र म्यानेजमेन्टको दुवै भवन जलेको कलेजले जानकारी दिएको छ ।  कलेजका अनुसार आगजनीबाट भुइँतलामा रहेको रिसेप्सन, कार्यालय जलेर नष्ट भएको छ भने गाडी र मोटरसाइकल समेत जलाइएका छन् । कलेज र कर्मचारीका आठ वटा गाडी र चारवटा मोटरसाइकल जलाइएका छन् भने कलेजभित्र रहेका ल्यापटप टेबुल लगायतका सामग्रीहरू लुटपाट भएको कलेजले जानकारी दिएको छ । कलेज प्रशासनका अनुसार करिब ७० करोड लागतमा निर्माण गरिएका भवन  जलेर नष्ट भएका छन् । कलेजका सञ्चालक तथा अध्यक्ष खगेन्द्र ओझाले आगजनीबाट कति नोक्सान भयो भन्ने कुरा एकिन हुन नसकेको जानकारी दिए ।  ‘कलेज बीमा र बैंकको सम्पत्ति हो, उहाँहरुले सर्वे नगरी हामीले यति क्षति भयो भन्न सकिने अवस्था छैन,’ ओझाले भने, ‘हामीलाई पनि भित्र छिर्न दिइएको छैन, अहिले नै यति क्षति भयो भन्न मिल्दैन ।’  उनले छिट्टै क्षतिको विवरण मूल्यांकन गर्नका लागि बीमा कम्पनीलाई आग्रह गरेको बताए । कलेजले सिद्धार्थ इन्स्योरेन्समा बीमा गरेको छ । प्रदर्शनकारीले टेबल कुर्सीसँगै ल्यापटप पनि लुटपाट भएको जानकारी दिए ।  जेभिएरमा पनि कराडौंको क्षति कालोपुलमा रहेको जेभिएर कलेजमा पनि तोडफोड भएको छ । प्रदर्शनकारीले जेभिएर इन्टरनेश्नल कलेजका दुई भवनमा क्षति पुगेको छ ।  कलेजका सञ्चालक लोक बहादुर भण्डारीले प्रदर्शनकारीको तोडफोडले ठूलो क्षति बेहार्नुपरेको बताए । उनले बन्द गरेको कलेजमा ढुङ्गामुढा प्रहार गरी सिसा फोडर भित्रका सबै सामान नष्ट भएको बताए ।  कलेजका सेक्युरेटी गार्ड इञ्चार्ज सुनिल भण्डारीका अनुसार कलेज बन्द रहेको अवस्थामा गेट फोडेर भवनभित्रका सामग्री नष्ट गरिएको छ । उनले  कलेजको गेटबाट भित्र पसेका आन्दोलनकारीले ल्याबका सामग्रीदेखि अन्य सामानहरु पनि लुटपाट तथा तोडफोड गरेको बताए ।  ‘यो आन्दोलन भन्दा पनि एक किसमिको लुटपाट जस्तै देखियो, कम्प्युटर र ल्यापटप सबै बोकेर हिँडे, कोही झ्यालबाट फालेर हिँडे,’ उनी भन्छन्, ‘शैक्षिक संस्था हो, यसरी गर्न हुँदैन्थ्यो ।’ एकिन तथ्यांक छैन निजी विद्यालय सञ्चालकहरूका संस्थाहरुले भने कति शैक्षिक संस्थामा आगजनी भयो भन्नेबारे एकिन जानकारी नभएको बताएका छन् । विभिन्न विद्यालयमा आगो लगाएको दृश्य सामाजिक सञ्जालमा देखिए पनि अहिलेसम्म कति शैक्षिक संस्था जले भन्नेबारे जानकारी नभएको प्याब्सनका महासचिव आरबी कटुवालले बताए ।  उनी भन्छन्, ‘हामी यो विषयमा अब छलफल गर्दैछौं, अहिलेसम्म कहाँ कति क्षति भयो भन्ने विवरण हामीले संकलन गर्न सकेका छैनौं ।’ अहिले युवाहरू तातिरहेको बेलामा यस्ता गतिविधि विरुद्ध थप जवाफ दिन आफूहरू तयार नभएको उनको भनाइ छ ।  प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले पनि यो विषयमा अहिले तत्काल प्रतिक्रिया दिन उचित नभएको बताए । उनले सबै शैक्षिक संस्थाको अवस्था हेरेरमात्र प्रतिक्रिया दिने बताए ।  ग्लोबल कलेजका अध्यक्ष खगेन्द्र ओझा देश नै आउटअफ कन्ट्रोलमा गइरहेको बेला मान्छे नै आगो भइरहेको अवस्थामा टुलुटुलु हेर बस्नुको विकल्प नभएको बताउँछन् ।  ‘अब देश राम्रो बाटो तिर जावस्, भोलि राम्रो व्यवस्था आवस, भ्रष्टाचारमुक्त समाज होस्, यसो भयो भने ठिक हो राम्रो गर्यो भन्न सकिन्छ फेरि अवस्था उस्तै भयो भन्ने अवस्था नआवस,’ उनले भने । अग्रजले सिकाएको पाठको परिणाम युवाहरूले मंगलबार गरेको शैक्षिक संस्थादेखि सरकारी कार्यालय तोडफोडमा विज्ञहरू भने अग्रजले सिकाएको पाठको परिणाम भएको बताउँछन् । शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला अग्रजले  लुटपाट र आगजनी गरेर सत्ता सम्हालेको बताउँदै अहिले जेनजीले पनि त्यही बाटो पछ्याएको बताउँछन् ।  उनी भन्छन्, ‘२०४६ सालको आन्दोलनमा पनि यस्तै गरिएको थियो, २०६२/०६३ सालको आन्दोलनमा पनि यस्तै गरेर सफल भएको थियो, माओवादीले पनि १० वर्षमा यही गरेको हो, अनि युवाहरूले पनि यही सिके यही गरे ।’  ‘सिर्जनशिल कुरा सिकेको भए उनीहरूले पनि त्यही गर्थे, उनी थप्छन्, ‘यहाँ नेताहरूले हतियार बनाए, त्यही हतियार उनीहरूको टाउकोमा बज्रियो, स्कुल चलाएका व्यक्ति पनि तिनै व्यक्ति हुँदाको यो आका्रेश हो ।’ कोइराला हाम्रो नेतृत्वले सिकाएको असर हाम्रा शैक्षिक संस्थामा पनि परेको बताउँछन् ।   प्रदर्शनकारीले शैक्षिक संस्थामा आगजनी गर्नुको मुख्य कारण महँगो शुल्क भएको उनको तर्क छ । शिक्षामै विभेद भएको युवाको आक्रोश पनि शैक्षिक संस्थामा पोखिएको हुनसक्ने शिक्षाका जानकारहरू बताउँछन् ।  ‘देशले बरबादी भोग्यो, युवाहरूले सिर्जनशिल क्षमतालाई गुमाएर रोष्ट व्यक्त गरे, कोइराला भन्छन्, ‘भवनमा आगो लगाउनुको साटो सञ्चालकहरूलाई समातेर तिमीले यो–यो गल्ती गर्यांै भन्नु पथ्र्यो तर यहाँ संरचना ध्वस्त बनाइदियो ।’ ‘सरकार र जेनजीले जिम्मा लिनुपर्छ’ हिसानका अध्यक्ष रमेश सिलावालले शैक्षिक संस्थामा गरिएको आक्रमणको विरोध गरेका छन् । शिक्षा दिने ठाउँ सरस्वतीको मन्दिर हो यसमा सबै पक्ष संयमित भएर शान्ति क्षेत्रको रुपमा हेर्नुपर्ने बताउँदै जानाजान आगो लगाउनेलाई कारवाही हुनुपर्ने उनको भनाइ छ ।   ‘अहिले शैक्षिक संस्थामाथि आक्रमण भएको छ, यसको जिम्मेवारी आन्दोलनको नेतृत्वकर्ता र अब बन्ने सरकारले लिनुपर्छ,’ उनी भन्छन्, ‘अहिले सरकार छैन तर केही दिनमा नयाँ सरकार आउँछ अबको नेतृत्व गर्ने सरकारले यसको जिम्मा लिनुपर्छ ।’  शान्तिपूर्ण आन्दोलन गर्ने भनेकाहरूले शैक्षिक संस्था तोक्दै आगजनी गर्नु नै ठूलो गल्ती भएको उनको भनाइ छ । भुलबस् आन्दोलनमा कहिलेकाँहि यस्तो घटना हुनसक्ने बताउँदै सिलवालले जानाजान कलेजमा आगजनी गर्नु दुःखदायी भएको बताए ।  नेपालमा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरिएको छ । जस्तोसुकै द्धन्द्ध हुँदा पनि विद्यालययमा कुनै किसिमको आन्दोलन वा अराजकता गर्न पाइँदैन । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने अभियान माओवादी द्धन्द्धकालबाटै सुरु भएको थियो । जनआन्दोलनमा विद्यार्थीलाई विद्यालयबाटै अपहरण गर्ने ¥यालीमा सहभागी गराउँदा उनीहरूको मृत्यु हुन थालेपछि विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरिएको थियो । वि.सं २०६३ सालको जनआन्दोलनमा विद्यालयमै बालबालिका मारिन थालेपछि सरकार, माओवादी, नागरिक समाज, शिक्षक संगठन, बालअधिकारकर्मी र अन्तर्राष्ट्रिय निकायहरूको साझा पहलबाट विद्यालय शान्ति क्षेत्र अभियान सुरु भएको थियो ।  जसको परिणाम विद्यालय भित्र कुनै पनि सभा सम्मेलन, आन्दोलन गर्न नपाउने गरी विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको थियो । तर, जेनजीहरूले उपत्यकाका शैक्षिक संस्थामा खोजीखोजी आगजनी गरेका छन् ।

बीमाले निजी क्षेत्र सुरक्षित, सरकार असुरक्षित

काठमाडौं । जेनजीको दुई दिनको आन्दोलनले उग्ररूप लिएपछि देशभर ठूलो जनधनको क्षति भयो । सरकारले घुँडा टेकेपछि पनि आन्दोलनकारीहरुले सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे । जेनजी आन्दोलनकारीहरुले देशकै ठूलो र केन्द्रीय प्रशासन सिंहदरबार जलाए । सरकारका तीन अंग अदालत, व्यवस्थापिका र कार्यपालिकाका संरचना (संसद भवन, शितल निवास, प्रधानमन्त्री निवास, मन्त्री निवास) लगायत सयौंको संख्या सरकारी कार्यालय आगजनी गराएर ध्वस्त पारे । आन्दोलनकारीहरुले राजनीतिक दलका नेताहरूका घर, भवन, सवारी साधन समेत जलाए । उनीहरुले जति सरकारी संरचना तोडफोड र आगजनी गरेका छन्, सोही अनुपातमा निजी क्षेत्रमा समेत विध्वंश मच्चाए । आन्दोलनले उग्ररुप लिँदा उद्योगी व्यवसायीहरूको निजी सम्पत्तिमा व्यापक क्षति पुगेको छ । कार सोरुम जलाइएका छन्, पाँच तारे होटल हिलटन, हायात लगायत, व्यवसायीका घर घरमा क्षति पुर्याए । जेनजी आन्दोलनकारीहरुले देशभरका सरकारी तथा निजी संरचनामा तोडफोड गरेका छन् । कहाँ कति क्षति पुर्याएको छ त्यसको संकलनको काम भइरहेको छ भने मूल्याङ्कन हुन बाँकी छ । देशभर तोडफोड र आगजनीपछि त्यसको भार बीमा कम्पनीहरूमा पर्ने देखिएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ कहाँ कति क्षति भएको भन्ने एकिन तथ्याङ्क आउन बाँकी रहेको बताउँछिन् । देशभर तोडफोड भएको जानकारी प्राप्त भएका तर कार्यालय खोलेपछि मात्रै एकिन तथ्याङ्क आउने उनले बताइन् ।  ‘तत्काल कति क्षति भएको छ र कति दाबीका लागि आयो भन्न सकिन्न । किनभने कार्यालय खोल्न पाएको छैन । कार्यालय खोलेपछि के कति क्षति भएको छ, सबै विवरण आउँछ,’ उनले भनिन्, ‘हामीले तत्काल आवेदन आह्वान गरेका छौं । हामीले सूचना पनि निकालिसकेका छौं । अब कति आउँछन् ?’ दंगा, हड्ताल, र दुर्भावनापूर्ण क्षति (आरएसएमडी) ऐन अन्तर्गत अज्ञात व्यक्तिले तोडफोड तथा आगजनी गरेको हुँदा सोही अनुसार दाबी भुक्तानी हुने उनले बताइन् । उनका अनुसार बीमाको पुनर्बीमा पनि गरिने भएकाले बीमा कम्पनीहरूले दावी भुक्तानी गर्दै जानेछन् । ‘सबै बीमा कम्पनीले बीमा गरिएका बीमा लेखको पुनर्बीमा गरिएको हुन्छ । कतिको क्षति आउँछ भन्ने जानकारी कार्यालय खोलेपछि थाहा हुन्छ । अहिले हामीले ग्रस मात्रै गणना गरिरहेका छौं,’ उनले भनिन् । नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल क्षतिको विवरण संकलनको काम भइरहेको बताउँछन् । जेनजी आन्दोलनले ठूलो संरचनामा क्षति पुर्याएको हुँदा त्यसको असर बीमामा पर्ने उनको भनाइ छ । तर, जोखिम बाँडिएको हुँदा पुनर्बीमा कम्पनीले पनि बेहोर्नुपर्ने उनले बताए ।  ‘यति क्षति भयो भनेर जुन सूचना आउँछ, त्यसको संकलनपछि मात्रै एउटा फिगर बन्छ । ठूला प्रोजेक्ट हिलटन, हायात, भाटभटेनी लगायत संरचनामा क्षति भएको छ,’ उनले भने, ‘यो आन्दोलनले बीमा क्षेत्रमा पनि असर परेको छ । बीमा कम्पनी घाटामा नजान सक्छन् । किनभने पुनर्बीमा गरिएको हुन्छ । जोखिम सबै नेपालमा रहेको हुँदैन । उनीहरुको जोखिम बाँडिएको हुन्छ ।’ उनका अनुसार १ सय रुपैयाँ जोखिम छ भने २० रुपैयाँ आफैं राखेर ८० रुपैयाँ पुनर्बीमा कम्पनीलाई दिएको पनि हुन सक्छ, १० रुपैयाँ राखेर ९० रुपैयाँ दिएको पनि हुन सक्छ । यदि बीमा गरिएको संरचनामा क्षति पुर्याएको छ भने पुनर्बीमा कम्पनीले पनि बेहोर्नुपर्ने भएकाले सबै कम्पनी घाटामै जान्छन् भन्न नमिल्ने उनले बताए ।  सरकारी संरचनाको छैन बीमा सीईओ श्रेष्ठका अनुसार सामान्यतया सरकारी भवनहरूको बीमा गरिएको हुँदैन । यदि कुनै सरकारी कार्यालयको बीमा गरेको छ भनेपनि राष्ट्रिय बीमा कम्पनीले गर्ने गरेको उनले बताइन् ।  ‘होटल, उद्योग, व्यवसाय, सवारी साधन, बैंकमा क्षति पुर्याएको छ । निजी संरचनाको बीमा गरिएको हुन सक्छ । तर, सरकारी संरचनाको बीमा गरेको छैन,’ उनले भनिन्, ‘हिमालयन एभरेष्ट इन्स्योरेन्समा लोत्से मल, यूलेन्सको गाडी, डेब्ट इन्टेरियर लगायतको क्षति भएको सूचना आएको छ । थप तथ्याङ्क आउनेक्रम जारी छ ।’  डीसीईओ पोखरेल सरकारी भवनको बीमा गर्ने अभ्यास नरहेको बताउँछन् । निजी सम्पत्तिको बीमा गर्ने अभ्यास रहेता पनि सरकारी कार्यालयको बीमा गर्ने अभ्यास नरहेको उनले बताए ।  ‘सिंहदरबारको पनि बीमा गरिएको छैन । सरकारी सम्पत्तिको बीमा गर्नुपर्ने हो । तर, गर्ने चलन छैन,’ उनले भने, ‘पछिल्लो चरणमा अर्धसरकारी संस्थान नेपाल टेलिकम लगायत सरकारी कार्यालयले भने बीमा गर्ने गरेका छन् ।’  उनका अनुसार बैंकबाट कर्जा लिनका लागि पनि बीमा गर्नु पर्ने भएकाले राजनीतिक दलका नेताहरूले भने आफ्नो सम्पत्तिको बीमा गरेका हुन सक्छन् । नयाँ घर बनाउनेहरूको अधिकांशको बीमा गर्ने गरिएको उनले बताए ।