जेनजी प्रदर्शनमा मृत्यु हुने ३० जनाको पहिचान, कुन अस्पतालमा कति ?

काठमाडौं । भदौ २३ र २४ गते देशभर भएको जेनजीको प्रदर्शनबाट ठूलो धनजनको क्षति भएको छ । राजनीतिक नेतृत्वको गलत कार्यशैली र देशमा व्याप्त भ्रष्टाचार अन्त्यको एजेण्डा बोकेर सडकमा उत्रिएको दोस्रो दिनमै देशले ठूलो जनधनको क्षति बेहोर्नु पर्यो ।  यो प्रदर्शनले हिंसात्मक रुपमा लिँदा देशभर ३० जनाको मृत्यु भएको छ भने ९ सय ६० जना घाइते भएको विवरण प्राप्त भएको छ । केही व्यक्ति भने सामान्य उपचारपछि घर फर्किएका छन् ।  काठमाडौं उपत्यकाका सातवटा अस्पताल र उपत्यका बाहिरका केही अस्पतालमा उपचारका लागि पुगेका ३० जनाको मृत्यु भएको ती अस्पतालले जानकारी दिएका छन् । विकासन्युजले देशभरका ११ वटा अस्पतालबाट पाएको सूचना अनुसार हालसम्म ३० जनाको मात्रै मृत्यु भएको छ ।  राष्ट्रिय ट्रमा सेन्टर  काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा जेनजी प्रदर्शनमा १ सय ७१ जनालाई उपचारको लागि ल्याइएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने पाँच जनाको आइसीयूमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।  अस्पतालका अनुसार २७ जनाको अहिले पनि उपचार भइरहेको छ । मृतक ८ जनामध्ये अहिलेसम्म दुई जनाको ठेगाना खुल्न सकेको छैन । अस्पतालका अनुसार मृत्यु हुनेमध्ये  ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीयाम चौलागाई, बाँकेको धुम्वुजी गाउँपालिका २ का २५ वर्षिय शुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षका बुद्धि तामाङ, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका ६ का २९ वर्षका योग बहादुर श्रेष्ठ, काठमाडाैंको बनस्थलीका २६ वर्षका ईश्वत बहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका ४ बेलकका २९ वर्षका सन्तोष बिक, काठमाडौंको टोखा नगरपालिका ८ का १९ वर्षका आयुष थापा र ठेगाना नखुलेका करिब २९ वर्षका गौरब जोशी रहेका छन् । मृतक ८ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याएको अस्पतालले जनाएको छ ।  सिभिल अस्पताल प्रर्दशन भएको ठाउँबाट सबैभन्दा नजिकको अस्पतालमा पर्छ निजामती कर्मचारी अस्पताल (सिभिल) । काठमाडौंको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा उपचारका लागि पुगेका ६ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ३ सय ५४ जना सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ४८ जना अस्पतालमा भर्ना भएका छन् ।  अस्पतालले ४१ जनाको शल्यक्रिया गरेको छ भर्ना भएका घाइतेमध्ये १५ जनालाई डिस्चार्ज गरेको छ ।  अस्पतालले चार  जना घाइतेको फेरि शल्यक्रिया गर्नुपरेको र ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको बताएको छ ।  सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा अर्घाखाँचीका १८ वर्षका मिशल सारु मगर, गोरखाका २२ वर्षिय विमल भट्ट, ठेगाना नखुलेका २४ वर्षका काशीआलम ठाकुर, सिराहका ३२ वर्षका विजय चौधरी रहेका छन् ।  यस्तै, दोलखाका २१ वर्षीय अभिषेक चौलागाईं र धनकुटाका ६० वर्षका छत्रमान कुथुमीको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरू सबैको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताएका छन् ।  फ्रन्टलाइन हस्पिटल  पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालले जेनजी प्रदर्शनमा घाइते १७ जनाको उपचार गरेको जनाएको छ । जसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ भने १३ जनाको उपचारपछि डिस्चार्ज गरेको जानकारी दिएको छ ।  घाइते एक जना भने अहिले पनि उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।    अस्पतालका अनुसार उपचारको क्रममा मृत्यु भएका तीन जनामा  संखुवासभाका २१ वर्षका प्रविन कुलुङ, चावहिलका २१ वर्षका उमेश महत र गौशालाका १७ वर्षीया निकिता गौतम रहेका छन् । मृतकको शवलाई भने पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको अस्पतालले जनाएको छ ।   केएमसी अस्पताल सिनामंगलमा रहेको केएमसी अस्पतालले ७३ जनाको उपचार गरेको जानकारी दिएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी नारायण दाहालले बताए ।  अस्पतालमा अहिले पनि ३५ जना उपचाररत छन् भने ३३ जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । दाहालका अनुसार उपचारको क्रममा ठेगाना नखुलेका सुभाष बोहोरा र सौरम किशोर श्रेष्ठको रहेका छन् । बयोधा अस्पताल बल्खुमा रहेको बयोधा अस्पतालले पनि जेनजीहरूले गरेको आन्दोलनमा घाइते भएका २१ जना उपचार गरेको बताएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै २१ जनाको उपचार गरेको जनाएको छ ।  जसमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइतेहरू उपचारपछि घर फर्किएका छन् ।  ९ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई भने अस्पतालले रिफर गरेको छ । मृत्यु हुनेमा २८ वर्षका अर्जुन भट्ट र २३ वर्षका देवकुमार सुवेदी रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार २४ वर्षका दीपक साउँदको भने रिफर गरिएको छ ।  एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ललितपुरका २४ वर्षिय योगेन्द्र न्यौपाने, ललितपुर महानरपालिका ७ का ३४ वर्षका विनोद महर्जन र काभ्रेको तेमाल गाउँपालिका ७ का ४३ वर्षीय दिलनारायण तामाङको उपचारको क्रममा मृत्यु भएको छ ।  अस्पतालले १ सय २१ जना घाइते उपचारका लागि अस्पतालमा आएका मध्ये तीनजनाको मृत्यु भएको र गम्भीर घाइते ८ जनाको उपचार भइरहेको जानकारी दिएको छ ।  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान  देशको पूर्वी भेगमा भएको जेनजी प्रदर्शनमा घाइते दुई जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उपचारका लागि पुगेका चार जनामध्ये दुई जनालाई मृत अवस्थामा अस्पताल पुर्याएको अस्पतालले जानकारी दिएको छ ।  अस्पतालका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार अस्पतालमा ल्याइएका चार जनामध्ये दुई जना मृत अवस्थामा पुर्याएको र दुई जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा २० वर्षका अभिषेक श्रेष्ठ र अर्को ठेगाना नखुलेका अन्दाजी ३० वर्षका पुरुष रहेको प्रधानले जानकारी दिइन् । घाइते गुमन सिंह शासंकको डेन्टल वार्ड र भूपेन्द्र खड्काको न्यूरो सर्जरी वार्डमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा पनि एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका अनुसार मृतकको अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन । अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्यारा भन्छन्, ‘एक जनाको उपचारकै क्रममा मृत्यु भयो । तर, उनको पहिचान खुल्न सकेको छैन, आफन्त पनि नआउँदा मृतक को हुन् भन्ने यकिन हुन सकेको छैन ।’  उनले २४ जना घाइतेको उपचार गर्दा एक जनाको मृत्यु भएको र अन्यको उपचार पछि डिस्चार्ज गरिएको बताए । भेरी अस्पताल, बाँके  बाँकेमा रहेको भेरी अस्पतालले भने २१ जना घाइतेको उपचारपछि रिफर गरेको जानकारी दिएको छ । अस्पतालका मेडिकल सुपरिडेन्ट निराजन सुवेदीले प्रदर्शनकारी पाँच जनाको मृत्यु भएको भनिए पनि जेनजी प्रदर्शनकारी नरहेको बताए ।  उनले बाल सुधारगृहको प्रदर्शनमा पाँच जनाको मृत्यु भए पनि जेनजी प्रदर्शनका घाइतेको भने मृत्यु नभएको जानकारी दिए । ‘भेरी अस्पतालमा पाँच जना प्रदर्शनकारीको मृत्यु भन्ने हल्ला भएको रहेछ,’ उनी भन्छन्,‘ तर, ती प्रदर्शनकारी जेनजी आन्दोलनका होइनन् । उनीहरू बालसुधार गृहभित्रका प्रदर्शनकारी हुन् ।’ बीएनसी अस्पताल झापाको बीएनसी अस्पतालमा पनि ३ जनाको मृत्यु भएको छ ।  पोष्टमार्टममा समस्या  जेनजी आन्दोलनमा मृत्यु भएका शवको पोष्टमार्टममा समस्या भएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । अस्पतालले क्षमता भन्दा बढी शव पोष्टमार्टम गर्नुपर्ने अवस्था आउँदा समस्या भएको बताएको हो ।  अस्पतालमा पोष्टमार्टमको लागि सय जनाको क्षमता भएपनि क्षमता भन्दा बढी शव हुँदा समस्या भएको अस्पतालले जानकारी दिएको छ ।   अस्पतालमा ८०/९० वटा शव पुरानै भएको अवस्थामा थप आन्दोलनका क्रममा मृत्यु भएको शव आउँदा पोष्टमार्टममा समस्या भएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए ।  उनी भन्छन्, ‘हामीकहाँ बेवारिसे शवदेखि अन्य देशबाहिरका शव पनि पोष्टमार्टमको लागि आउँछन् अहिले आन्दोलनका शवदेखि अन्य गरेर ४९ वटा शव थप आउँदा क्षमताभन्दा बाहिर गइसकेको अवस्था छ ।’  रोस्याराका अनुसार जेनजी आन्दोलनमा मृत्यु भएका केही शवको पहिचान नै नखुल्दा पनि समस्या देखिएको छ । ‘शव पोष्टमार्टमका लागि प्रहरीको रिपोर्ट र मृतकको परिचय खुल्नुपर्छ तर यहाँ न प्रहरीको रिपोर्ट छ न त व्यक्तिको परिचय खुलेको छ, जसका कारण शव त्यत्तिकै राखिएको छ,’ उनले भने । यी हुन् मृतक :

संविधान संशोधनपछि निर्वाचन, सुरूमै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सहमति जुटाउन प्रयासरत छन् । उनले नेपाली सेनामार्फत जेनजी समूहका प्रतिनिधिसँग र आफै ठूला दलका शीर्ष नेता, संविधानविद्हरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बन्ने अन्तरिम मन्त्रिपरिषद्ले नियमित कार्यसम्पादन बाहेक भदौ २३ र २४ गतेका घट्नाको न्यायिक छानबिन गराउने र निर्वाचन गराउने मुख्य जिम्मेवारी पाउनेछ ।  संविधानको बाधा अड्काउ फुकाउन सक्ने राष्ट्रपतिको अधिकार प्रयोग गरेर उनले संसदबाहिरबाट अन्तरिम सरकार बनाउँदैछन् । अब व्यवस्थापिका के हुने भन्ने प्रश्नमा वहस हुने नै छ ।  संसद विघटन नगरी यसलाई संविधान संशोधन मात्र गर्न केन्द्रित गराउन सकिन्छ । जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था संविधानमा नै गरिनुपर्छ । एउटै व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गरिनुपर्छ । यो माग जेनजीको मात्र होइन, आम नेपालीको माग हो । ठूला दलभित्र पनि यस्तो माग छ, शीर्ष नेतृत्वले दबाएको मात्र हो । यही संसदबाट संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नु र त्यसपछि मात्र निर्वाचनको मिति घोषणा गर्नु उत्तम हुन्छ ।  यस्तै, संविधान संशोधन गरेर सांसदहरूको योग्यतामा ६५ वर्ष ननाघेको र कम्तीमा स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्ने व्यवस्था थप्नुपर्छ । तीन पटक सांसद भएको व्यक्ति चौथो पटक उम्मेदवार बन्नलाई रोक्नुपर्छ । यस व्यवस्थाले अनपढ र बुढा पुस्ता राजनीतिबाट पखालिन्छ ।  त्यस्तै, संविधान संशोधन गरेर संघीय र प्रदेशका सांसद र मन्त्रीहरूको संख्या घटाउन सकिन्छ । लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नक्सा पास गरै झै यी संशोधन वर्तमान संसद्ले छोटो समयमा सर्वसहमतिमा गर्न पनि सक्छ । यो विधि नै लोकतान्त्रिक र वैधानिक हुन्छ । नेपाली र विश्व समुदायले पनि स्वीकार गर्दछ ।   संविधानमा यस प्रकारका संशोधनपछि निर्वाचन गराउँदा सत्ताबाट बुढापुस्ता बाहिरिन्छ, नयाँ पुस्ता सत्तामा पुग्छ । नयाँ पुस्ताको काँधमा जिम्मेवारी आउँछ । भ्रष्टाचार नियन्त्रण, सुशासन, करको सदुपयोग, रोजगारीको सिर्जना, उच्चदरमा आर्थिक वृद्धि यहीबाट सुरु हुन्छ ।  जेनजी आन्दोलनको राप र ताप कायमै रहेको अवस्थामा उनीहरुको माग बमोजिम संविधान संशोधन यही संसदबाट सम्भव छ । अहिलेका अधिकांश सांसद संविधान सभाका सदस्य पनि थिए । उनीहरूलाई संविधान बनाउँदाका सबै प्रकारका दवावहरूको अनुभव पनि छ । यो संसद संविधान संशोधन गर्न परिपक्व पनि छ ।  संविधान संशोधन गरी उल्लेखित काम गर्न सकियो भने नेपालीले ७० वर्ष संघर्ष गरेर बनाएको, हजारौं नेपालीको बलिदान भएको, अर्बौं रुपैयाँ लागत भएको वर्तमान संविधान पनि जोखिन्छ, व्यवस्था पनि जोखिन्छ । नागरिक अधिकारलाई बढाउँदै, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई अगाडि लैजान सकिन्छ । यसबाट जेनजी पुस्ताको पनि जीत हुन्छ, लोकतान्त्रिक गणतन्त्र र संघीयता पक्षधरको पनि जीत हुन्छ ।  संविधानमा यति संशाेधन नगरी गरिएको चुनावबाट जेनजी पुस्ताले चाहेजस्ताे परिवर्तन हुँदैन । नागरिक सर्वोच्चतासहितको लोकतान्त्रिक प्रणालीमा अभ्यस्त भइसकेको नेपाली समाजले राजतन्त्र पनि स्वीकार गर्दैन, सैनिक शासन पनि स्वीकार गर्दैन । अराजकतावादीले सिंहदरबार, संसद, अदालतसहित सार्वजनिक र निजी सम्पत्ति तोडफोड गर्न, लुटपाट गर्न र आगजनी गर्ने मात्र हो । यस्तो भीडले दिएको नेतृत्वबाट लोकतन्त्र, असल शासन प्रणाली, विकास अपेक्षा गर्न सकिन्न ।  जेनजीहरू पुस्ता हो, आगो बालेर मात्र परिवर्तन हुन्न । विवेक प्रयोग गरौं । रचनात्मक ढंगले सोचौं । विज्ञ र अनुभवीहरुको विचार पनि सुनौं । देश जोगाउने र बनाउने कार्यको पनि विधि र प्रणाली हुन्छ । खेल जित्ने लक्ष्य मात्र लिएर हुँदैन । प्रशिक्षक पनि राम्रो हुनुपर्छ । सहि खेलाडीहरूको छनौट पनि अनिवार्य हुन्छ । खेलका नियमहरूको पालना गर्दै पर्याप्त अभ्यास पनि अनिवार्य हुन्छ । यति भयो भने प्रतिस्पर्धामा खेल जितिन्छ ।

जेनजी आन्दोलनले बैंकिङमा नयाँ अभ्यास, धमाधम क्रिटिकल कमिटी गठन

काठमाडौं । जेनजी आन्दोलनका कारण देश शून्य अवस्थामा झरेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेवालाई निरन्तरता दिन क्रिटिकल कमिटी गठन गर्न थालेका छन् । संकटकालीन अवस्थामा क्रिटिकल कमिटी गठन गरेर बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ सेवालाई नियमित सुचारु गर्न थालेका हुन् ।  व्यावसायिक निरन्तरता योजना (बीसीपी) अन्तर्गत सीमिति कर्मचारी राखेर सीमित सेवा दिन नेपाल बैंकर्स संघको निर्णय र नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरुले क्रिटिकल कमिटी (संकटकालीन समिति) गठन गरी शाखा खुला गरेर सेवा दिन थालेको बैंकरहरु बताउँछन् । ‘हरेक बैंकको विजनेश कन्टिन्यूटी प्लान (व्यावसायिक निरन्तरता योजना) हुन्छ । सोही अनुसार बैंकहरुले एउटा कमिटी गठन गरेका हुन्छन् । क्रिटिकल (चुनौतीपूर्ण) समयमा क्रिटिकल कमिटी (समिति) बनेका हुन्छन् । यो सबै बैंकले बनाएका हुन्छन्,’ एक बैंकरले भने, ‘नेपाल बैंकर्स संघको निर्णय र राष्ट्र बैंकको निर्देशन बमोजिम १० बजेदेखि २ बजेसम्म शाखा खुला गरेर सीमित कर्मचारीबाट सीमित सेवा दिइरहेका छन् । त्यो क्रिटिकल कमिटीले परिचालन गरेको हुन्छ ।’ उनका अनुसार बैंकहरुले निकै अप्ठेरो स्थितिमा क्रिटिकल कमिटी बनाउँछन् । त्यो कमिटी संकटको समयमा बैंकिङ सेवा कसरी सूचारु गर्नेमा केन्द्रीत हुने उनले बताए ।  ‘राज्य र सबै नागरिकको पहिलो प्राथमिकता बैंकिङ सेवा हो । बैंकमा विविध सेवा हुन्छन् । तर, संकटको समयमा नगद सेवाका लागि शाखा, काउण्टर, एटीएम सेवा दिनुपर्छ,’ उनले भने, ‘प्राकृतिक विपत्ति, राजनीतिक घटनाक्रम लगायतको समयमा बैंकिङ सेवालाई निरन्तर सूचारु गर्न बैंकभित्र क्रिटिकल कमिटी गठन गरेर काम हुन्छ । त्यो कमिटी अहिले सक्रिय भएको छ ।’ संकटको समयमा नागरिकलाई चाहेको बेला क्यास (नगद) उपलब्ध गराउने काम सोही कमिटीले गर्ने उनले बताए । कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौड्याल बैंकले यस्तो टिम खडा गरेर काम भइरहेको बताउँछन् । अहिलेको समयमा छिटोभन्दा छिटो बैंकिङ सेवा उपलब्ध गराउने गरी कमिटी सक्रिय रहेको उनको भनाइ छ । ‘अहिलेको समयमा कसरी काम गर्ने, कर्मचारीको जिउधनदेखि बैंकको सम्पत्ति संरक्षण र सुरक्षित गर्न केन्द्रीयस्तरमा एउटा टिम (सेल) गठन गरिएको छ । सोही कमिटीले काम गरिरहेको छ,’ उनले भने, ‘व्यवस्थापन टिम, शाखा, प्रादेशिक कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ । कमिटी मार्फत सूचना सम्प्रेषणको काम भइरहेको छ ।’ नेपाल बैंकका चिफ फाइनान्स अफिस प्रकाश कुमार अधिकारी क्रिटिकल समयमा विजनेश कन्टिन्यूटी प्लान (बीसीपी) अनुसार क्रिटिकल कमिटी गठन गरिने बताउँछन् । नेपाल बैंकमा कोरोनाकालमा यस्तो कमिटी गठन गरेर सेवा सुचारु गरिएको उनको भनाइ छ ।  ‘सबै जना अफिसमा जान सकिएन, सीईओ, डीसीईओ उपस्थित नहुन सक्ने अवस्था आयो वा सीईओ अफ्ठेरोमा पर्छ भन्ने लागेको अवस्थामा क्रिटिकल कमिटी गठन गरेर काम गर्ने गरिन्छ । कोरोनाकालमा क्वीक रेस्पोन्स कमिटी (क्यूआरसी) गठन गरेका थियो,’ उनले भने, ‘सीईओबाहेक अरुलाई अथोरिटी दिएको हुन्छ । बैंकहरुले कोरोनाकालको क्रिटिकल कमिटी पुन जन्माएको वा नयाँ गठन गरेको हुन सक्छ ।’ राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट आफ्नो संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ ।  नेपाली सेनाले जारी गरेको निषेधाज्ञा तथा कर्फ्युको समयमा नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि २ बजेसम्म बैंकका शाखा खोल्ने निर्णय गरेर पत्राचार गरेको छ । नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अघिकृत (सीईओ) अनिल शर्माका अनुसार काठमाडौंमा ३ वटा, ललितपुर र भक्तपुरमा २/२ वटा शाखा र उपत्यका बाहिर प्रशासनसँग समन्वय गरेर सेवा दिन बैंकहरूलाई पत्राचार गरिएको छ ।  सोही अनुसार आज उपत्यकामा खुलेका बैंकका शाखाहरुमा १५/२० वटा कारोबार भएको बैंकरहरु बताउँछन् । ‘बैंकहरुले न्यूनतम बैंकिङ सेवा दिइरहेका छन् । डिजिटल बैंकिङ, इन्टरनेशनल ट्रेड सपोर्ट, आरटीजीए, आइपीएस, कनेक्ट आईपीएस सेवा दिइरहेका छन्,’ एक बैंकरले भने, ‘सेलेक्टेड गरेर बैंकका शाखा कार्यालय खोलिएका छन् । तर, भीडभाड छैन । खुलेका शाखामा १५/२० वटा मात्रै कारोबार भएका छन् ।’