सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिए । वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन् । वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि नै विद्युतीयहाजिरीले काम दिएन । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण मर्मत वा नयाँ जडानमा नगरपालिका र विद्यालय दुवैको ध्यान जान सकेको छैन । पन्ध्र वडा रहेको नगरपालिकाले पाँच वर्षअघि एउटाबाहेक सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिलाई नियमित गर्ने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको थियो । सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि १८ माविमा जडान गरिएको विद्युतीय हाजिरीको अवस्थाका बारेमा हाल नगरपालिका नै बेखबर बनेको देखिएको छ । तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा शिक्षकको विद्युतीय हाजिरी ‘ट्र्याकिङ’ गर्नेगरी विसं २०७५ असोज १ गतेदेखि नगरका सबै माविमा लाखौँ खर्च गरेर विद्युतीयहाजिरी सञ्चालनमा ल्याइएको थियो । बिग्रेका विद्युतीय हाजिरीको उपकरण नगरपालिका वा स्वयं विद्यालयले पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा कुनै चासो देखाएका छैनन् । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण पुनःसञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई हाइसञ्चो भएको अभिभावक बताउने गरेका छन् । विद्युतीय हाजिरीमार्फत नगरपालिकाको कार्यालयमै बसेर सबै माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था कार्यान्वयन हुँदा केही हदसम्म शैक्षिक क्रियाकलापमासमेत सुधार आएको थियो । विद्युतीय हाजिरी ट्रयाकिङले ‘कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुनबेला हाजिर गरे, कतिबेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी हुने गरेको थियो । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई–हाजिरी जडानपछि त्यसको अवस्थाका बारेमा नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा अहिले बेकम्मा बन्न पुगेको छ । नगरपालिकाले कुनै एउटा निजी कम्पनीको विद्युतीय हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको जनाउँदै तत्कालीन नगर प्रमुख रिजालको आलोचना हुने गरेको छ । यतिसम्म कि तत्कालीन नगर प्रमुख रिजाल र उपप्रमुख विणादेवी राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट र वर्तमान नगर प्रमुख र उपप्रमुख गठबन्धनबाट निर्वाचित भएकाले पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामलाई अहिलेका जनप्रतिनिधिले चासो नदिएको कतिपयले आरोप लगाउने गरेका छन् । कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वर्तमान नगर प्रमुख एवं शिक्षा शाखा प्रमुख तीर्थराज भट्टराई बताए । ‘कतै चल्छन्, कतै चल्दैनन् । सबै विद्यालयमा जडान गरिएका विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ’, उनले भने, ‘बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ । यदि घोटला भएको ठहर भएमा कारबाही हुन्छ ।’ निकै तामझामका साथ जडान गरिएको विद्युतीय हाजिरी केही विद्यालयमा छ/सात महिना नपुग्दै बिग्रेर थन्किएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले बताउने गरेका छन् । अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द भएको समाचार स्रोतले जनाएको छ । रासस
दशैंको फुर्सदमा हेर्नुपर्ने उद्यमशीलताको प्रेरणा जगाउन सहयोग पुर्याउने चलचित्रहरु
काठमाडौं । सबै मानिसहरुलाई आ–आफूलाई प्रभावित पारेका फरक–फरक चलचित्रहरु हुन्छन् । कुनै फिल्म दुःख पर्दा हेर्न मन लाग्ने हुन्छ, कुनै फिल्म खुसीको समयमा त कुनै फिल्म उत्प्रेरणाको लागि । यतिबेला हामीले धेरै नेपालीहरुले मनाउने महान चाड बिजयादशमी मनाइरहेका छौं । सरकारी, गैरसरकारी तथा निजी सम्पूर्ण क्षेत्रका उद्योग तथा व्यवसायमा एक प्रकारले छुट्टीको अवस्था छ । चाडबाडको रंगरमाइलो एवं फुर्सदको बेलामा उद्यम तथा व्यवसायमा रुची राख्नेहरुले केही चलचित्र हेरेर यो बेलामा उत्प्रेरणा लिन सकिन्छ । यहाँ केही चलचित्रको बारेमा चर्चा गर्न खोजिएको छ, जुन फिल्मले उद्यमशील सोच भएका व्यक्तिहरुलाई थप उत्प्रेरणा प्रदान गर्न सहयोग पुर्याउन सक्छन् । हामी सबैलाई थाहा छ की सफल उद्यमी तथा व्यवसायी बन्न कडा परिश्रम, दत्तचित्तता र उत्प्रेरणा चाहिन्छ । ९० प्रतिशत भन्दा धेरै स्टार्टअप उद्यम तथा व्यवसायहरु प्रतिस्पर्धा र सीमित अवसरको कारणले गर्दा असफल हुने गरेको अध्ययनले देखाएको छ । उद्यम तथा व्यवसायमा उत्कट चाहना हुनेहरुलाई कतिपय चलचित्रहरुले थप अध्ययन र ज्ञानको लागि सहयोग पुर्याउन सक्छन् । १. द सोसियल नेटवर्क ‘सोसियल नेटवर्क’ डेभिड फिन्चरद्वारा निर्देशित चलचित्र हो । सो चलचित्रले हावर्ड विश्वविद्यालयमा पढ्दा मार्क जुकरबर्गले कसरी फेसबुकलाई बनाए भन्ने विषयलाई देखाएको छ । चलचित्रमा जेसी आइजेनबर्गले मार्क जुकरबर्गको रुपमा जीवन्त तरिकाले भूमिका निभाएका छन् । मार्क जुकरबर्गलाई आर्थिक समस्या, अन्य मानिसहरुको वेवास्ता र कानुनी अड्चनका बाबजुद पनि धेरै इच्छाशक्ति भएको व्यक्तिको रुपमा चलचित्रमा हाइलाइट गरिएको छ । चलचित्रमा जुकरबर्गले दुई भाइहरुबाट मुद्दा र एकजना मिल्ने साथीबाट धोका पाएका थिए । विभिन्न चुनौतीहरुका बाबुजुद जुकरबर्गले फेसबुक स्थापना गरेका छन् । अहिले फेसबुक विश्वमा नै एउटा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । नयाँ उद्यमको स्थापना गरेर सफल हुन चाहने व्यक्तिलाई उत्प्रेरणा प्रदान गर्छ । चलचित्रले सफल हुनको लागि धनी हुन आवश्यक नभएको र सही विचारको आधार निर्माण गर्नुपर्ने बताएको छ । सकारात्मक नतिजाको लागि नेतृत्वमा आत्मविश्वास र अनुशासन हुनुपनर्पे शन्देश दिएको छ । २. मनीबल यदि तपाईं बेसबलको प्रेमी हुनुहुन्छ र उद्यमी हुनुहुन्छ भने यो चलचित्रले उत्प्रेरणा दिन्छ । यद्यपी चलचित्र बेसबलमा कम र ओकल्यान्ड ए का महाप्रवन्धक बिली बीनको बेसबल जित्ने दृष्टिकोणमा बढी केन्द्रित भएको छ । बीनले आफ्नो टोलीलाई बेसबल लिगमा सफलता हासिल गर्नको लागि तयार गर्न अपनाइएको अलोकप्रिय सेबरमेटिक प्रकृयाको विषयमा चलचित्रमा देखाइएको छ । उनले आफ्नो टोलीमाथि आइपरेका आर्थिक लगायतका समस्याहरुलाई छिचोल्दै अगाडि बढ्न अभ्यास नयाँ प्रयोगहरुलाई अवलम्बन गर्छन् । चलचित्रले धेरै स्टार्टअपहरुले बीनले जस्तै समस्याहरुको सामना गर्छन् र बाँच्नको लागि अनुकुलुन हुन तयार हुनुपर्छ भन्ने शन्देश दिएको छ । साथै चलचित्रले प्रत्येक उद्यमीले उद्यमको लागि विश्लेषणात्मक दृष्टिकोण अपनाउनुपर्छ भन्ने सन्देश दिएको छ । ३. द वल्फ अफ वाल स्ट्रीट चलचित्रमा सम्पूर्ण कथा वास्तविक संसारको अवस्थालाई सरलिकृत रुपमा प्रस्तुत गरिएको छ, जसले मानिसलाई अत्यन्तै धेरै प्रेरणा प्रदान गर्छ । चलचित्रमा जोर्डन बेलफोर्टको उद्यममा भएको उकाली ओरालीलाई हाइलाइट गरेर देखाइएको छ । पात्रमा भएको उर्जा र बिक्री प्रतिको मानसिकताले तपाईंलाई वास्तविक वालस्ट्रीट र भित्री इन्साइडर ट्रेडिङको बारेमा बताउँछ । साथै यसले अर्थतन्त्रलाई राम्रो र नराम्रो आकार दिन कसरी भूमिका निर्वाह गर्छ भन्ने बारेमा देखाउँछ । सफल व्यवसायीहरु सधैं नै बेच्नको लागि तयार हुनुपर्ने, साथै उद्यमी लोभी र सहानुभूति नभएको हुन नहुने विषयलाई पनि चलचित्रले देखाएको छ ।
फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश
म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गए । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका लागे । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुन् । पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन सुरु भएको छ । श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुगेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको मेसो मिलाएको बताए । ‘हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ’, उनले भने, ‘आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली बेलायतमा दसैँ मनाउने योजना बनायौ ।’ अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा बेलायतलगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ अमेरिकाका अध्यक्ष रघु सुवेदीको भनाइ छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इसान) अमेरिकाका अध्यक्ष राहुल केसीले चाडपर्व मनाउन, विवाह, छेवर, व्रतवन्धका लागि विभिन्न देशमा नौमती बाजा समूह नै गठन गरिएको उनको भनाइ छ । ‘नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन्’, उनले भने, ‘नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् ।’ म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले ‘डायसपोरा’मार्फत नेपाली संस्कार र संस्कृति संसारभर फैलिन थालेको बताए । ‘पहिले डायसपोरामार्फत पश्चिमा संस्कृति नेपाल आयो । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो,’ उनले भने, ‘यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको छ ।’ रासस