चीनसँग इन्धन सम्झौता किन नगरेको ? : निगम निर्देशक खड्का
काठमाडौं, १६ चैत । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा इन्धन खरिद सम्झौता नभएकोमा असन्तुष्ठि व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजीत अभाव, महंगी र कालोबजारीः समाधान कसरी ? बिषयक सडक बहसमा उनले भने–चीनसँग पनि इन्धन खरिद सम्झौता गर्नु पथ्र्याे, मैले नै चीन गएर ३० प्रतिशत इन्धन किन्ने समझदारीमा हस्ताक्षर गरेको हुँ ।’ खड्काले के कति कारणले चीनसँग इन्धन सम्झौता नभएको भन्नेबारे आफु अनभिज्ञ रहेको समेत बताए । उनले पेट्रोलियम पदार्थमा भारतको मात्रै भर पर्दा जनताले दुःख पाएको भन्दै कम्तिमा पनि ३० देखि ४० प्रतिशत इन्धन तेश्रो मुलुकबाट ल्याउनु पर्नेमा जोड दिए । ‘मैले पहिले देखि नै इन्धनमा भारतको एकाधिकार तोड्नु पर्छ भन्दै आएको हुँ, चाहे चीनबाट होस वा खाडी मुलुकबाट नै किन नहोस, कम्तिमा पनि ४० प्रतिशत इन्धन ल्याउनु पर्छ ।’, खड्काले भने । इन्धन कालोबाजरी गरेको आरोप खेप्दै आएका खड्काले न्युन आपुर्तिकै कारण बजारमा अभाव उत्पन्न भएको दावी गरे । ‘अहिले पनि मागको ८० प्रतिशत मात्रै आपुर्ति भैरहेको छ, ग्यास त झन मागको ६० प्रतिशत मात्रै आपुर्ति भैरहेको छ ।’ खड्काले भने । उनले भण्डार क्षमताका अभावले पनि इन्धन आपुर्तिमा समस्या उत्पन्न गरेको बताए । आफ्नै कार्यकालमा ९० दिनलाई पुग्ने भण्डारण स्थल बनाउने उनले प्रतिवद्धता व्यक्त गरेका थिए । निगम पुर्णरुपले ऋण मुक्त नभएसम्म कर्मचारीलाई बोनस नबाढ्ने उनको भनाई थियो । निगमले सेवा गर्ने होकी व्यापार गर्ने हो सरकारले स्पष्ट पार्नु पर्ने उनले प्रश्न गरे । ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले निजी क्षेत्रलाई इन्धन कारोबार प्रवेश गराए सरकार गठनका लागि संसद आवश्य नपर्ने टिप्पणी गरेका थिए । संसारका कुनै पनि देशमा इन्धन कारोबारमा निजी क्षेत्रको बोलवाला नरहेको बताउँदै नेपालमा त्यस्तो भएमा इन्धन कारोबारीले नै सरकार बनाउने र ढाल्ने हैसियत राख्ने उनको भनाई थियो ।
स्टाण्डर्ड चार्टर्ड बैंकले अझै पाएन बोनस दिने स्वीकृति, यस्तो छ सेयर मूल्य बढ्नुको कारण
काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले लामो समय विते पनि स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको बोनस सेयर स्वीकृत गरेको छैन । बैंकले पहिलो पटक गरेको बोनस सेयर प्रदान गर्ने प्रश्ताव अस्वीकार गरेको राष्ट्र बैंकले दोस्रो पटक पनि पेश गरेको प्रश्ताव पनि त्यत्तिकै थन्क्याएर राखेको हो । स्टाण्डर्ड चार्टर्डले सुरुमा १५ प्रतिशत बोनस सेयर र २७ प्रतिशत नगद लाभांश दिने प्रश्ताव राष्ट्र बैंक समक्ष गरेको थियो । सो प्रश्ताव अस्वीकृत भएपछि बैंकले पुन २५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश दिने प्रश्ताव गरेको थियो । सो प्रश्ताव पनि पारित नभएको राष्ट्र बैंक स्रोतको भनाइ छ । बैंकको बोनस सेयर प्रश्तावलाई राष्ट्र बैंकले अस्वीकार गरेपछि बैंकको सेयर मूल्य भने बृद्धिको क्रममा रहेको छ । राष्ट्र बैंकले २०७४ को असार मसान्तमा बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ हुनै पर्ने ब्यवस्था गरेको छ । यसको लागि भन्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने प्रतिफलमा नगद लाभांशलाई निरुत्साहित गर्दै बोसन सेयर प्रदानलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ । स्टाण्डर्ड चार्टर्डले नगद लाभांश दिन लागेको कारण राष्ट्र बैंकले असहमति जनाएको हो । नगद लाभांश दिन रोक लगाइमा सो बैंकले करिब ४० प्रतिशत बोनस सेयर प्रदान गर्नेछ । यसैको आशामा केही दिन यता बैंकको सेयर कारोवार संख्या र मूल्य बृद्धि भइरहेको छ । मार्च महिनामा बैंकको सवैभन्दा धेरै कित्ता सेयरको कारोवार गत आइतवार भएको थियो । सो दिन स्टाण्डर्ड चार्टर्ड बैंकको १३ हजार ३ सय ९८ कित्ता सेयर कारोवार भएको थियो । मार्च महिनामै सो बैंकको कुनै दिन जम्मा ९ सय ७७ कित्तासम्म सेयर कारोवार भएको थियो । यस्तै यही महिनामा प्रतिकित्ता २ हजार ७ सय ८५ रुपैयाँमा कारोवार भएको सो बैंकको सेयर केही दिनयता बढेर ३ हजार ४० रुपैयाँसम्म पुगेको छ ।
धितोपत्र वोर्डले जारी गर्यो द्धिअर्थी विज्ञप्ति, थप लगानी गर्ने कि नगर्ने अन्योल झन बढ्यो
काठमाडौं, १५ चैत । धितोपत्र वोर्डले पूजी बजारको बृद्धिप्रति फेरि असन्तुष्टि जनाएको छ । अर्थतन्त्रका आधारभूत परिसुचक सन्तोषजनक नभएको अवस्था देखिएको पूजी बजारको बृद्धिप्रति बोर्डले असन्तुष्टि जनाएको हो । बोर्डले विज्ञप्ति नै निकालेर बजारको बृद्धिप्रति असन्तुष्टि जनाएको छ । तर उसले विज्ञप्तिमा निकालेको भाषा द्धिअर्थी छ । एकातिर बोर्ड आफै भन्छ कि बजार विकास तथा सुधारका लागि बोर्डले गरेको कार्यले सहजता प्रदान गरेर बजार बढेको हो । अर्काेतिर आर्थिक परिसुचक राम्रो नभएको कारण हौसिएर वा हल्लाको भरमा लगानी गर्दा डुब्न पनि सकिन्छ भन्ने बोर्डको भनाइ छ । बोर्डको यस्तो विज्ञप्तिमा सजगता अपानाउन भनिएको त छ तर त्यो सजगता भनेको थप सेयर किन्नु भनेको हो कि अब मूल्य बढ्यो भने नकिन्नुस भनेको हो भनेर अनुमान लगाउन गाह्रो छ । ‘हालसाल धितोपत्रको दोस्रो वजार विशेषरुपले निरन्तर वढोत्तरीतर्फ गइरहेकोमा धितोपत्र बोर्ड संवेदनशील भएको छ, विनासकारी भुकम्प र त्यस पछिको तराई मधेश आन्दोलन आदिले गर्दा देशको अर्थतन्त्रलाई नकारात्मक असर गरी यो वर्ष आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा हुने अनुमानको साथै सूचिकृत संगठित संस्थाहरुको अवस्था पनि सन्तोषजनक नरहेको अवस्थामा अर्थतन्त्रको परिसूचकको रुपमा रहेको नेप्से परिसूचक २०७२ आषाढ मसान्तको ९६१.२३ वाट निरन्तर वढ्दै यो परिसूचक १३५० निकै माथिआईसकेको छ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ । बोर्डको यो भाषाले बजार बृद्धि अस्वभाविक छ, लगानी गर्ने हो भने विचार गर्नै पर्ने हुन्छ भन्ने देखाउछ । तर वोर्डले ‘बोर्डबाट गरिएका धितोपत्र वजार विकास तथा सुधार कार्यले यस किसिमको विशेष वृद्धिलाई केही सहज गरे तापनि देशको आर्थिक अवस्था, संगठित संस्थाहरुको वित्तीय अवस्था इत्यादि आधारभूत परिसूचकको आधारमा यस वृद्धिलाई सजगतापूर्ण रुपमालिनु पर्ने देखिन्छ, यसै परिप्रेक्षमा यस बोर्डले लगानीकर्ताहरुलाई हालसाल यो दोस्रो पटक सर्तक गराई यस तर्फ विषेश ध्यानाकर्षण गराइएको छ,’ भनेको छ । यस्तै बोर्डले ‘बजारमा चलेका हल्ला र आधारहीन अनुमानको पछाडी नलागी धितोपत्र वजारमा लगानी गर्दा देशको विद्यमान आर्थिक परिदृष्य, सुचिकृत संगठित संस्थाहरुको आधारभुत विश्लेषणलगायत जोखिम वहन गर्न सक्ने क्षमता आदिलाई दृष्टिगत गरी वढी सजग भई लगानी गर्न लगानीकर्ताहरुलाई बोर्ड विषेश अनुरोध गर्दछ,’ पनि भनेको छ । बोर्डले आफ्नो विज्ञप्तिमा प्रष्ट रुपमा बजारको अहिलेको अवस्था यस्तो हो, यतिसम्मको बृद्धि स्वभाविक र यतिसम्मको अस्वभाविक हो भनेर भन्न सकेको छैन ।