आईएमई ग्रुप संस्थापक हेमराज ढकाल विकास नायकबाट सम्मानित
काठमाडौं । विकास नायक–२०८२ बाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण समारोहमा ढकाललाई सम्मान गरेको हो । नवीन प्रविधि विकास तथा कृतिम बौद्धिकता (एआई) विकास गरी सर्वसाधारणको जीवनशैलीमा रूपान्तरण गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले ढकाललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । नेपालमा उत्पादन भएका सफ्टवेयरहरू अमेरिका, क्यानडा, कोरिया, अष्ट्रेलिया, मलेसिया र भारतसम्म निर्यात गर्दै नेपाललाई विश्व डिजिटल बजारमा उभ्याउने अग्रणी नाम हो हेमराज ढकाल । आइएमई ग्रुपका संस्थापक हेमराजले नेतृत्व गरिहेका आईटी कम्पनीहरुले उत्पादन गरेका सफ्टवेयरहरु विदेशमा निर्यातसँगै स्वदेशी बैंक तथा बीमा कम्पनी, अस्पताल, शैक्षिक संस्था तथा ठूला कर्पोरेट हाउसको सेवा प्रवाहमा उल्लेखनीय प्रभाव पारेका छन् । ९० को दशकको कागजी प्रक्रियाको झन्झड तोडेर मिनेटमै विदेशबाट नेपालका विकट ठाउँमा पनि पैसा पठाउन सक्ने आइएमई सेवाको सुभारम्भ गरेका हेमराज ढकालले नेपालमा सूचना प्रविधि क्षेत्र विकासको जग बसाले । अहिले सात वटा आईटी कम्पनीहरुको नेतृत्व गरेर उनले देश तथा विदेशका कम्पनीहरुलाई पनि सेवा प्रवाह गरिरहेका छन् । अब हेमराज ढकालको ध्यान नेपालमै डेटा सेन्टरको स्थापनातर्फ छ । उनले नेपालमा डेटा सेन्टरको सम्भावना अत्याधिक देखेका छन् ।
जीवा लामिछाने विकास नायक अवार्डबाट सम्मानित
काठमाडौं । विकास नायक–२०८२ बाट सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा लामिछानेलाई सम्मान गरेको हो । श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले खनाललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । सामान्य किसान परिवारमा जन्मिएर नेपाली तथा विदेशी बिजनेस टाइकनहरुसँग प्रतिस्पर्धा गर्दै व्यावसायिक शिखरमा पुगेका पात्र हुन् जीवा लामिछाने । २० वर्षमै विदेशी भूमिमा पुगेर २५ वर्षको उमेरमा विदेशमै व्यवसाय थालेका जीवा अहिले हस्पिटालिटी क्षेत्रमा परिचित नाम बनेको छ । जर्मनी, बेल्जिमय र स्विजरल्याण्डमा होटल व्यवसाय गरेर एक सफल पर्यटन व्यवसायीको परिचय बनाएका जिवाले सानिमा ग्रुपमार्फत पनि बैंक, बीमा, जलविद्युत, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् । विदेशी भूमिमा बसेका लाखौं नेपालीलाई एकीकृत गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना तथा विस्तारमा जिवाको भूमिका अनुकरणीय छ । साहित्य, समाजसेवा र पर्यटन प्रवद्र्धनमा सक्रिय जीवा नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भूमिका खेलिरहेका छन् । विदेशमा कमाएको पैसालाई स्वदेशमै लगानी गर्नुपर्छ भन्ने बलियो उदाहरण र प्रेरणा जीवा लामिछाने बनेका छन् ।
कला क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्तलाई विकास नायक अवार्ड
काठमाडौं । विकास नायक–२०८२ बाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भएकी छिन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा पन्लाई सम्मान गरिएको हो । कला तथा मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाए बापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले पन्तलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । सुरक्षा पन्त नेपालली सिनेमा जगतकी एक बहुप्रतिभाशाली अभिनेत्री हुन् । मानिसको जीवन, मनोविज्ञान र भावनाका कथाहरुमा डुब्ने नायिकाको पहिचान बनाएकी सुरक्षाले एक सिर्जनशील र सफल अभिनेत्रीको परिचय निर्माण गरेकी छन् । कथामा नयाँपन, चिन्तन र जनजीवन खोज्ने सुरक्षा पढाइले एक इन्जिनियर हुन् । नेपाली चलचित्र उद्योगमा अभिनयको गहिराइ, चरित्रप्रतिको इमानदार समर्पण र फरक धारका भूमिकामार्फत दर्शकमाझ चिनिएकी सुरक्षाले एक दर्जन बढी सिनेमामा अभिनय गरेकी छन् । सुरक्षा आगामी दिनमा अभिनयसँगै निर्देशन, कथा लेखन तथा सिनेमा निर्माणमा पनि सक्रिय हुने योजनामा छिन् ।