कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको समुपस्थितीमा कामना सेवा विकास बैंकका संचालक बलराम बरालले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक वहादुर भण्डारीलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बोल्दै उपकुलपती अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरुले प्राप्त गर्ने बैंकिङ सेवामा कामना सेवा विकास बैंकको उत्कृष्ट योगदान भएको बताए । विश्वविद्यालय स्थापना देखी नै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएतापनी हाल शिक्षण अस्पतालले १०० शैयाको संचालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए । १०० शैयाको अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.दिपक वहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पुर्याएको योगदानको कदर गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवा विकास बैंकका संचालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरुको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरुको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले खुशी व्यक्त गरे । साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरुमा विश्वविद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरुमा समेत साझेदारी गर्ने समेत बताए । उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संकायका डिन, निर्देशक तथा बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सोही कार्यक्रमका बिच कामना सेवा विकास बैंक र पोखरा विश्वविद्यालयविच वित्तीय सेवा सुविधा प्रदान सम्बन्धी औपचारीक समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा.दिपक बहादुर भण्डारी र बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् । उक्त समझदारी पश्चात विश्वविद्यालयका प्राध्यापक, कर्मचारीहरुलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्नेछ । हाल पोखरा विश्वविद्यालयले देशैभरका विभिन्न ५८ वटा क्याम्पसहरुलाई सम्वन्धन प्रदान गरि उक्त क्याम्पसहरु तथा विश्वविद्यालयको केन्द्रीय क्याम्पसवाट विभिन्न २६ वटा कार्यक्रममा अध्यापन गराउदै आएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका छन् । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६८ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ । बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
सिटिजन्स बैंकद्वारा घरबार विहीनलाई १७ दिन भोजनको व्यवस्था, निःशूल्क स्वास्थ्य शिविर
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सडक आश्रित घरबार बिहीनलाई दिवा भोजनको व्यवस्था गरेको छ । बैंकले आफ्नो सत्रौं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई बिहीबार १ हजार ७०० व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो । बैंकले आफ्नो सत्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ । भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो । सन् २०२० मा कोभिड १९ को सुरुवातसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरुलाई खाना खुवाउने कार्यको थलानी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको छ । यसका साथै आजै बैंकको कोशि प्रदेशको धरान शाखाबाट निःशूल्क स्वास्थ्य शिविर संचालन गरि करीब १५० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ । साथै कोशि प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्दनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमि, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरुबाट बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका छन् । हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।