६९औं वार्षिकोत्सव मनाउँदै नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आफ्नो ६९औं वार्षिकोत्सव मनाउँदै छ । बैंकले ६८ वर्ष पूरा गरी ६९ वर्ष प्रवेश गरेको अवसरमा वार्षिकउत्सव मनाउन लागेको हो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्रांगणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुनेछ । वार्षिकोत्सवमा सहभागी हुनका लागि राष्ट्र बैंकका पूर्वगभर्नरहरू, पूर्वडेपुटी गभर्नरहरू, पूर्व विशिष्ट श्रेणी तथा पूर्वप्रथम श्रेणीका अधिकृतहरूलाई घर ठेगानामा निमन्त्रणा पत्र पठाइसकिएको बैंकले जनाएको छ । यदि निमन्त्रणा पत्र प्राप्त हुन नसकेको भए सार्वजनिक सूचनालाई निमन्त्रणा मानी वार्षिकोत्सव समारोहमा उपस्थित भइदिन पनि बैंकले अनुरोध गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकाससँगै सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच बिस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्ष्यित गरेको आर्थिक विकासका लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाली बैंक तथा वित्तीय संस्थाको नियामक निकायका रूपमा काम गर्दै आएको नेपाल राष्ट्र बैंकको स्थापना सन् १९५६ अर्थात वि.स २०१३ सालमा भएको हो । बैंक स्थापना कालमा हिमालय शमशेर जवरा राणा गभर्नर रहेको राष्ट्र बैंकमा अहिले महाप्रसाद अधिकारी गभर्नरका रूपमा कार्यरत छन् । राष्ट्र बैंकले हालसम्म १७ वटा गभर्नर पाइसकेको छ ।
सर्वोत्तम सिमेन्टको १५ प्रतिशत लाभांश पारित, सञ्चालकमा ७ जना निर्वाचित
काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । बैशाख १२ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत (करसहित)को नगद लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले संस्थापक सेयरधनी समूहबाट ५ (पाँच) जना सञ्चालकहरु विष्णुप्रसाद न्यौपाने, बिमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण सेयरधनी समूहबाट एक जना शिव सिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, स्वतन्त्र संचालकमा नेहा अग्रवाल मनोनित भएकी छिन् । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिवद्धता जनाएका छन् । साथै, उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिङकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन् । उक्त सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो ।
एनसीएचएलले नेप्सलाई १ः०.२८ को स्वाप रेसियोमा प्राप्ति गर्ने
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् (नेप्स) लाई १ बराबर ०.२८ को स्वाप रेसियोमा प्राप्त गर्ने भएको छ । बैशाख १३ गते सम्पन्न एनसीएचएलको विशेष साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै नेप्सको १०० कित्ता सेयर बराबर एनसीएचएलको २८ कित्ता सेयर हुने छ । नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फछ्र्यौट विनियम बमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल राष्ट्र बैंक समक्ष नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडको संयुक्त रुपमा अन्तिम स्वीकृती प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनुपर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकिकृत कार्य प्रारम्भ गर्ने छन् । प्राप्ति कार्य गरे पश्चात् परिवर्तन हुने शेयर तथा चुक्ता पूँजी वृिद्घ गर्न, सेयर समूह स्वामित्व परिवर्तन गर्न एनसीएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफा/नियमहरु संशोधन गर्ने लगायतका विषयहरुमा पनि विशेष साधारण सभाले स्वीकृति तथा अख्तियारी प्रदान गरेको छ । प्राप्तिका लागि २०८० पुस ६ गते प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्ककन पश्चात २०८० चैत २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । हाल एनसीएचएल र नेप्सको चुक्ता पुँजी क्रमश १ अर्ब ६६ लाख रुपैयाँ र २१ करोड १२ लाख रुपैयाँ रहेको छ । प्राप्ति पश्चात एकिकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ६ करोड ५८ लाख रुपैयाँ हुनेछ । एनसीएचएलको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा ३७ करोड ६८ लाख रुपैयाँ थियो भने नेप्सको ६ करोड ४६ लाख रुपैयाँ थियो । बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित दुवै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ-आफ्नो क्षेत्रमा कार्य गरी आएका हुन् । नेप्सले कार्डमा आधारित भुक्तानी प्रणालीको सञ्जाल स्थापना गरि सदस्य बैंकहरुलाई विभिन्न अन्तराष्टिय कार्ड स्किममा आधारित कार्डहरु जारी गर्न तथा सो सम्बन्धी विविध कारोबार सञ्चालन तथा फर्छौट गर्ने सेवा प्रदान गर्दै आएको छ । त्यस्तै एनसीएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार तथा प्ल्याटफर्म मार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ । विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको उक्त क्षेत्रलाई आधुनिकिकरण तथा अन्तरआबद्धता कायम गर्न र यस सम्बन्धी दूरगामी परियोजनाहरुको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्वीच लगायतका थप पूर्वाधारहरु विस्तार गर्न सहयोग हुने अपेक्षा गरिएको छ । प्राप्ति प्रक्रियाको माध्यमबाट दुवै संस्थाका प्रणाली, पूर्वाधार र कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीको क्षेत्रमा आफ्नो उपस्थितिलाई सशक्त गर्न समेत एनसीएचएल र नेप्सबीचको प्राप्तिले उल्लेखनीय भूमिका खेल्ने छ । प्राप्ति पश्चात कम्पनीको पुँजी थप वृद्धि हुनुको साथै पहुँच, अनुभव र क्षमताको आधारमा यस क्षेत्रमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दीर्घकालिन उद्देश्य प्राप्ति गर्न समेत सहयोग हुने कम्पनीको विश्वास छ ।