समाज लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको जेठ २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले गत वर्षको नाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरी महतोले बताए । सीईओ महतोका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जसमध्ये २० प्रतिशतले हुन आउने ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेड़ा कोष र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको हो ।

आईएमई लाइफका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथली स्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन् । दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भए पश्चात आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरुले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरुमा एक्सक्लुसिभ डिस्काउन्ट पाउनेछन् । यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरुले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डरराइटिङ प्रमुख सुदिप राणाले सम्झैता आदान–प्रदान कार्यक्रममा बताए ।

सिटिजन्स बैंकका ग्राहकले साई डेण्टल क्लिनिकमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले साई डेण्टल क्लिनिकमा छुट पाउने भएका छन् । बैंक र वीरगञ्ज, पर्सा स्थित साई डेण्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।