पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा सञ्चालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १४ पुगेका छन् । बिरौटामा बिहीबार आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा पोखरामा थप एक शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । डि-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र पहिलो वर्ष लकर शुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको छ । बिरौटामा आफ्नो नयाँ शाखाको शुभारम्भ गरेको दिनमानै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा १७ छोरेपाटनमा अवस्थित श्री गुप्तेश्वर महादेव वेदविज्ञान पाठशालालाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु उपलब्ध गराएको छ ।

बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन सूचना जारी गरेको छ । राष्ट्र बैंकले बिहीबार नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद गरेका लगानीकर्ताहरूले पाकेको साँवा ब्याज भुक्तानी लिन नआएको भन्दै सार्वजनिक सूचना जारी गरेको हो । राष्ट्र बैंकले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका लगानीकर्ताहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र केयर मेडिकल सेन्टरबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्योरेन्स लिमिटेड र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । इन्स्योरेन्स र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेटबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी शरण रेग्मी र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक राहुल सिंघानियाले हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले केयर मेडिकल सेन्टर प्राइभेटले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने बताए । साथै, उनले अस्तालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।