संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको विशेष समिति बैठकले बुधबार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो । सहकारीका पीडितहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । मंगलबारको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो । बुधबार पीडितहरूसँग छलफल गरी त्यहाँभित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि समितिले जनाएको छ । सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं, २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरूलाई बोलाएका छौं, सबै पीडितहरू बोलाएर छलफल गर्न सम्भव हुन्न, हामीले विभिन्न संघर्ष समितिका रूपमा, व्यक्तिगत रूपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’ विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो । अब पीडितहरुसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरुको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।

एक व्यक्ति एकभन्दा बढी सहकारीमा सञ्चालक हुन नपाउने विभागको निर्देशनमा महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघसंस्थाको सञ्चालक हुन नपाउने सहकारी विभागको व्यवस्थाले सहकारी अभियानमा समस्या हुने भन्दै आपत्ति जनाएको छ । सहकारी विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक भएमा त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको थियो । महासंघले मंगलबार एक विज्ञप्ति जारी गरेर विभागको उक्त निर्देशन कार्यान्वन गर्न नसकिने जनाएको छ । महासंघकी अध्यक्ष अ‍ोमदेवी मल्लले विज्ञप्तिमार्फत विभागको सो निर्देशन कार्यान्वयन गर्न नसकिने बताएकी छन् । विभागको उक्त निर्देशनले सहकारी अभियानलाई नै समस्या हुने भन्दै राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक संस्थामा मात्रै उक्त व्यवस्था गरी संघमा सञ्चालक हुने पाउने व्यवस्था गर्नुपर्ने माग गरेको हो । एक जना व्यक्ति एकै समयमा एउटा मात्र सहकारी संघरसंस्थाको सञ्चालक हुन सक्ने भन्ने निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न भएको महासंघको ठम्याइ छ । हालको विषम परिस्थितिमा विभागको निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचैमा नेतृत्व छोड्दा अन्योल सिर्जना भई समस्या आउन सक्ने महासंघको भनाइ छ । महासंघले विभागको उक्त निर्देशनअनुसार सम्बन्धित व्यक्तिहरूले ३० दिनभित्र एउटै संघरसंस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्ने, अन्यथा कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने भन्ने निर्देशित गरिएको र हालको विषम परिस्थितिमा यो निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचमै नेतृत्व छोड्दा अन्यौलता सिर्जना भई समस्या आउन सक्ने भएकाले सम्पूर्णमा विचलन नभई पूर्ववत् अवस्थामा काम गर्नसमेत महासंघले आह्वान गरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रिको सभापतिन्वमा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगञ्जको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताए । समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृतले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गरे । उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगंजमा लुम्विनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदुर पश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । साथै, उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई र काठमाडौंमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए । नेपालगञ्ज र महेन्द्रनगर मा सम्पन्न छुट्टा छुट्टै कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित प्रवन्धक विवेक शर्मा, विभागिय प्रमुख सुष्मिता राणा लगायत नेपालगञ्जमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दिप नारायण खनाल तथा लुम्विनी र कर्णाली प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी लगायत उक्त प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।