पुस्तक समीक्षा : अमेरिका जान चाहनेलाई उपयोगी पुस्तक ‘सपना र यथार्थमा अमेरिका’

काठमाडौं । विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ । विश्व मानचित्रमा जनसङ्ख्या र भूगोलमा तेस्रो ठूलो देश अमेरिका पाँच सय वर्षको इतिहासमा अनेक आरोहअवरोह पार गर्दै विश्वको महाशक्ति राष्ट्र बनेको छ । करिब सात दशकदेखि धेरै नेपालीको गन्तव्य बनेको अमेरिका पछिल्लो दुई दशकयता झनै बढी आकर्षणको केन्द्र बनेको छ । एकातिर उच्चशिक्षाको अवसरमा जानेखोजिरहेका छन्भने अमेरिकाले डिभी योजना चलाएपछि भाग्यवश धेरै नेपाली यस ढोकाबाट पनि तानिएका छन् । अमेरिका जाने र सुन्दर भविष्यको सपना देख्ने नेपालीहरुको भीडमध्येका एक हुन् सानबाबु सिलवाल । लामो समय नेपालमा पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका उनले सन् २००५ देखि अमेरिकालाई आफ्नो कर्मथलो बनाएका छन् ।अमेरिकामा रहँदा आफूले खाएका अनेक हण्डरहरुको चर्चा मात्र गरेका छैनन्, भविष्यमा कसैले त्यस्तो अवस्थासँग जुध्न नपरोस् भनेर बाटो देखाउने काम ‘सपना र यथार्थमा अमेरिकामा’ नामक पुस्तकमार्फत गरेका छन् । पुस्तक दुई सय ८३ पृष्ठको र नौ एकाइमा विभक्त रहेको छ । पुस्तकमा आर्थिक धरातलमा रहेर अमेरिकालाई चिनाउँदै अमेरिकामा रहेका नेपालीहरूको अनुभव, अमेरिकामा नयाँ जीवन सुरु गर्ने मार्गनिर्देशन, त्यहाँ उपलब्ध अवसरहरू, मुद्रा व्यवस्थापन, करलगायत विषयहरू समेटिएका छन् । पुस्तकमा अमेरिकी कानुनसम्बद्ध केही मुद्दाहरू, सडक सुरक्षा र नियमका प्रसङ्गहरु, संयुक्त राज्य अमेरिका र नेपालबीचको सम्बधजस्ता विविध विषयका बारेमा पनि जानकारी गराइएको छ । पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, कर प्रणाली, कानुनसम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्धलगायत विभिन्न विषय समावेश गरिएको छ । कृतिमा अमेरिकी कानुन, यातायात, पर्यटन, न्यायालय, अर्थ व्यवस्थाको व्याख्या गरिएकाले अमेरिकी समाजबारे धेरै जानकारी पाउन सकिन्छ । विश्वका धेरै मानिसका निम्ति अमेरिका सपनाको देश बनेको छ र अमेरिका पुग्न सक्नुलाई मात्र पनि ठूलो सफलता ठान्नेहरूको नेपाली समाजमा झनै बढी रहेको छ । समृद्धिको सपना देखेर प्रवासमा हाम्फालेका जो कसैले पनि यस पुस्तकबाट लाभ लिन सक्नेछन् । अमेरिकी भूमिका संघर्ष गरिरहेका नेपालीलाई पुस्तकले बाटो देखाएको छ । केही न केही आफूले निरन्तर मिहिनेत र संघर्ष गरेर व्यावसायिक सफलतातिर उन्मुख भएको र यो क्रममा आफ्ना प्रेरणाका स्रोतहरुको उल्लेख गरेका छन् । पुस्तकको बारेमा भूमिका लेखेका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मूलतः अमेरिका जाने सोच बनाउनुअघि यो कृतिका प्रत्येक अक्षर, शब्द, आशय अध्ययन गर्नु र अमेरिका पुगेपछि गहिरोसँग मनन गर्नु जरुरी छ भन्दै पुस्तकको महत्वलाई उजागर गरेका छन् । यो पुस्तक अमेरिकामा रहेका हुन् वा भविष्यमा अमेरिकाको सपना देखेका नेपाली हुन् सबैका लागि ‘डिस्नेरी’ बन्न सक्छ भन्ने उनको भनाइ छ । त्यस्तै अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पनि आफ्नो भूमिकामा अमेरिकालाई नेपालीमा बुझ्न चाहनेहरुका निम्ति पुस्तक अत्यन्तै उपयोगी रहेको उल्लेख गरेका छन् । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले अमेरिकी समाजलाई लक्षित गरेर लेखिएको भए पनि अन्य क्षेत्रका मानिसका लागि समेत उत्तिकै उपयोगी हुनसक्ने विश्वास व्यक्त गरेका छन् । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ । पुस्तक बिक्रीबाट आएको आम्दानीले लेखकले विपन्नहरुको निःशुल्क उपचारमा योगदान गर्न चाहेका छन् । समाजसेवामा अभिरुचि राख्ने लेखक अमेरिकामा रहँदा दुःखमा परेका नेपालीहरूलाई सहयोग गर्ने र मातृभूमिप्रति पनि उत्तिकै चिन्तित रहेको पुस्तक पढ्दा धेरै दृष्टान्तहरुबाट थाहा हुन्छ । हालै राजधानमीमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने लेखकको प्रशंसा गरे । लेखक सिलवालले पुस्तकमा आफ्नो भनाइ राख्दै अमेरिका बसिरहेका, यहाँ आउँदै गरेका र भविष्यमा आउने सोच बनाएका नेपाली अमेरिकी र नेपालीलाई लक्षित गरी आफ्ना अनुभवहरुसमेत बाँड्ने उद्देश्यले पुस्तक लेखेको बताउँछन् । अवसरको खोजी गर्दै अमेरिका पुगेका तर चुनौती सामना गरिरहेका नेपालीलाई मार्गदर्शन र सहयोग गर्ने आफ्नो उद्देश्य रहेको बताउँछन् । उनले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको कुरा पनि पुस्तकमा उल्लेख गरेका छन् । हाल अमेरिकामा रहेका झन्डै पाँच लाख रहेका छन् । रासस

११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा १३ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्क अनुसार १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो । ११ महिनाको अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

गृहमन्त्रीको चल-अचल सम्पत्ति र बैंक खाता रोक्का गरी छानबिन गर्न सहकारी पीडितको माग

काठमाडौं । सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । बुधबार सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिमा बोल्दै सहकारी पीडितहरूले यस्तो माग गरेका हुन् । उनीहरूले साहारा बहुउद्देश्यीय सहकारीलगायत अन्य सहकारीकाे १ अर्ब रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन आवश्यक रहेको बताए । साहारा सहकारी पीडितले सहकारीको नीति र कानुनविपरीत गोर्खा मिडिया नेटवर्कमा लगानी लगाइएको भन्दै उक्त रकम अपचलन गर्ने शक्तिशाली व्यक्ति गृहमन्त्री भए पनि अनुसन्धान गरी दोषी भए हदैसम्मको कारबाही गर्न समितिसँग पीडितहरूले माग गरे । समितिको छलफलमा बोल्दै साहारा बहुउद्देश्यीय सहकारी पीडित शालिग्राम दुवाडीले पीडितहरूले ती कम्पनीहरूलाई मुद्दा हाल्दा चितवन प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको नाम देखेपछि रोकेको बताए । गोर्खा मिडिया नेटवर्क प्रालिको नाम आउनेबित्तिकै मुद्दा किन रोकिएको ? भन्दै प्रश्न गरे । गोर्खा मिडिया नेटवर्क २५ करोडमा खोल्न सकिने भए पनि साहारा सहकारीबाट १ अर्ब बढी रकम लिएर अपचलन गरिएको दाबी गरे । उक्त बचतकर्ताको रकम तत्काल फिर्ता गर्नका लागि रकम हिनामिना गर्नेहरूलाई अनुसन्धान गरी तत्काल बचत फिर्ता गराउन माग गरे । उनले सहकारी जनता ठग्नलाई खोलिएको जस्तै भएको भन्दै गोर्खा मिडियामा १ अर्ब पैसा गएको बताए । जतिसुकै शक्तिशाली मान्छे गृहमन्त्री नै भए पनि उनीमाथि अनुसन्धान गरी दोषी चल-अचल सम्पत्ति र बैंक खाता रोक्का गर्न माग गरे । सहकारी ठगने व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाही गर्न समितिसँग आग्रह गरे । बचतकर्ताको रकम अपचलन गर्नेमाथि प्राण भएसम्म नछाड्ने साहारा सहकारीका चितवनका पीडितहरूको संकल्प नभएको बताए । ओरिन्टल सहकारी पीडित खगेन्द्रनाथ काफ्ले सहकारी बचतकर्ताको पैसा सहरकारी सञ्चालकहरुले आफ्नो इच्छाले घरजग्गाहरूमा लगानी गर्ने र जग्गा अर्काको नाममा राखेर बचतकर्ताको पैसा सक्ने काम भएको बताए । उनले सबै सहकारीहरूको सम्पत्ति सरकारले नियन्त्रणमा लिएर सरकारले पीडितहरूलाई उनीहरूको रकम फिर्ता दिनुपर्ने जानकारी दिए । ‘सहकारी बचतकर्ताको पैसा सहरकारी सञ्चालकहरूले आफ्नो इच्छाले घरजग्गाहरुमा लगानी गर्ने र जग्गा अर्काको नाममा राखेर बचतकर्ताको पैसा सक्ने काम भयो, सबै सहकारीहरूको सम्पति सरकारले नियन्त्रणमा लिएर र पीडितहरूलाई फिर्ता दिनुपर्छ’, उनले भने । शिवशिखर बहुउद्देश्य सहकारी संस्था पीडित चक्रबहादुर श्रेष्ठले दुई वर्षदेखि बचत फिर्ताको लागि संघर्ष गरीरहेको भए पनि कतैबाट पनि सुनुवाइ नभएको बताए । उनले सहकारीका सञ्चालक केदारनाथ शर्मा र गिता शर्माको नाममा २६ करोड रकम फ्रिज भएर बसेको भन्दै त्यो रकमबाट १ लाख बचतकर्ताको रकम फिर्ता गर्न सकिने जानकारी दिए । विभिन्न कम्पनीमा सहकारीले गरेको लगानी लिलामि हुन थालेकाले बचतकर्ताको रकम सुरक्षित गर्न समितिसँग माग गरे । ‘सञ्चालक केदारनाथ शर्मा र गीता शर्माको नाममा २६ करोड रकम फ्रिज भएर बसेको छ, त्यो रकमबाट १ लाख बचतकर्ताको रकम फिर्ता गर्न सकिन्छ, विभिन्न कम्पनीमा सहकारीले गरेको लगानी लिलामी हुन थालेकाले बचतकर्ताको रकम सुरक्षित गर्न समिमिले काम गरिदिनुपर्छ’, उनले भने । त्यस्तै, यमुना आइटल सहकारी पीडित दिनेश घिमिरेले छानबिन समितिले पार्टी भन्दा माथि उठेर सहकारी पीडितहरूलाई न्याय दिलाउनुपर्ने बताए । उनले समितिले पीडकहरूको आवाजभन्दा पनि पीडित बचतकर्ताहरूको आवाज सुनेर समस्या समाधानमा लाग्न आग्रह गरे । अहिलेसम्म बचतकर्ताहरूको आवाज सुन्ने निकाय नभएको भन्दै छानबिन समितिप्रति आशा रहेको बताए । उनले सरकारले अहिलेसम्म पीडकहरूको मात्रै आवाज सुनेको बताए । पीडितहरूलाई सहकारी विभागले न्याय दिन नसक्दा कानुनअनुसार प्रहरीमा गएको प्रहरीबाट पनि पीडितलाई अवरोध भएको बताए । ‘पीडितहरूलाई सहकारी विभागले न्याय दिन नसक्दा कानुनअनुसार प्रहरीमा गएका छौं, एक वर्षका लागि सहकारी सञ्चालकहरूले समय माग गरेर सरकारले उनीहरूलाई भाग्न र जग्गा नामसारी गर्नका लागि समय दिएको छ, छानबिन समितिले न्याय दिन्छ भन्ने आशा छ’, उनले भने । त्यस्तै, इमेज सहकारी पीडत डिलबहादुर कार्कीले छानबिन समितिका सदस्यहरू सहकारी पीडितहरू सामु पुगेर गुनासो सुन्न आवश्यक रहेको सुझाव दिए । वाग्लुङ र गुल्मीका सहकारी पीडित बचतकर्ताहरु सरकारबाट न्यायको आशा गरेर बसेको बताए । सहकारीका सञ्चालक देवकुमार नेपालीले बचत कर्ताले जम्मा गरेको रकमबाट व्यक्तिगत रूपमा सम्पत्ति आर्जन गरेको बताए । बचतकर्ताको रकम फिर्ता भएपछि मात्रै सम्पति शुद्धिकरणले छानबिन गर्न नहुने जानकारी दिए । ‘वाग्लुङ र गुल्मीका बचतकर्ताहरू सरकारको कुरा सुन्न आतुर भएर बसेका छन्, वास्तविक रकम २ अर्ब देखिएको छ, अपचलन २ अर्ब ३५ करोड रहेको छ’, उनले भने । समितिमा आएका अधिकांश सहकारी पीडितहरुले समितिले निष्पक्ष रूपमा छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । शक्ति र राजनीतिक आडमा बसेका सहकारी सञ्चालकहरूबाट बचतकर्ताको रकम तत्काल फिर्ता गराउनुपर्ने उनीहरूको माग छ ।