युवराजको दबाबपछि गभर्नरले हटाए सेयरधितोमा २० करोडको सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाएको २० करोडको सीमा खारेज गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा लगाइएको २० करोडको सीमा हटाएको घोषणा गरेका हुन् । यसअघि पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले २० करोडको सीमा हटाउनु पर्ने अडान राख्दै आएका थिए । ‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।
नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्बन्धी सम्झौता
काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवेमार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् । नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नबिल बैंकका सीईओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्थाबीचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए । एनसेलका सीईओ कायुमोभले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए । अब एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र एनबैंक लद्यबलप गरी तीन वटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।
लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै
काठमाडौं । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको बैंकले बताएको छ । खुत्रुके देखी समुन्नती सम्मको यात्रा फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ । उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्युतजस्ता ठुला परियोजनाहरुमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनी पढ्न पाउँदछ । लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ । सफलताको गाथा बुन्दै बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्दछ । यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि यस फिल्ममा समेटिएको छ । साझा समृद्विको उत्सव मनाउँदै यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छस र बचत गर्नु हुने बैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ । तसर्थ, यस फिल्मले बचत तथा बैंकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुनस् परिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।