गुराँस लघुवित्तको नाफामा १ हजार ४५० प्रतिशत छलाङ, एनपीएल ४ % घटायो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथौं त्रैमास खुद नाफा १ हजार ४५० प्रतिशत बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा लघुवित्तधको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ छ । लघुवित्तले आफ्नो खराब कर्जा (एनपीएल) उल्लेख्य घटाएको छ । अघिल्लो वर्ष ६.३६ प्रतिशत रहेको खराब कर्जा गत असारमा २.४६ प्रतिशतमा झारेको छ । लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी बढेर २५.६१ रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४६.५२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ र जगेडा कोष ४ करोड ७१ लाख रुपैयाँ छ । साथै गत वर्ष लघुवित्तले सापटि १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ र निक्षेप ३४ करोड ९४ लाख रुपैयाँ संकलन गरी १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना गरेको छ । स्थापनाको ४०औं वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्य प्रति प्रतिबद्धताका लागि वाकनाथमार्फत ऐक्यबद्धता जनाएको छ । वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता गरे । ‘नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरू दिगो बैंकिङमार्फत यसको सुरुआत गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज यहाँ उपस्थित भएका छौँ,’ उनले भने । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धता सहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । ‘बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ, आज देशव्यापी रूपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन यस थप सहयोग हुनेमा हामी विश्वस्त छौँ,’ उनले भने । सो अवसरमा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक अनन्त पौड्याल, प्रमुख कार्यकारी अधिकृत (सीइओ( ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय मनोज ज्ञवाली र भूपेन्द्र पाण्डे, विभिन्न विभागका प्रमुख लगायत काठमाडौं उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति थियो । शनिबार बिहान ७ः३५ बजे दरबार मार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्युरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालायमा पुगेर टुङ्गिएको थियो । बैंकका अनुसार नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ वाकाथन आयोजना गरिएको थियो ।

‘बन्द भएका हातखुट्टा खुल्छन्, सेयर बजारलाई असर गर्न चाहँदैनौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बन्द भएका हातखुट्टा खोल्ने गरी मौद्रिक नीति ल्याएका बताएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले अब मौद्रिक नीतिले बन्द भएका हातखुट्टा चल्ने बताएका हुन् । लामो समयदेखि ठप्प रहेको अर्थतन्त्र चलायमान हुने र विकास निर्माणले गति लिने गरी मौद्रिक नीति ल्याएको गभर्नर अधिकारीको भनाइ छ । ‘ठूला घराना, सिमेन्ट व्यवसायीलाई मात्रै सुविधा दिन खोजेको होइन, निर्माण व्यवसायीलाई समावेश गर्न खोजिएको हो, निर्माण व्यवसायीहरूको चक्रमा समस्या छ, काम गरेर पनि भुक्तानी पाउन सकेका छैनन्,’ उनले भने, ‘रकम नपाएका कारण चेक बाउन्स भइरहेको छ, चेक बाउन्सका कारण कालोसूचीमा परेका छन्, कालोसूचीमा परेकाले बैंक खाता बन्द छन्, बैंक खाता बन्द हुँदा हातखुट्टा बन्द छन्, यो चक्रलाई समावेश गर्ने गरी सहजीकरण गरेको हो ।’ आर्थिक गतिविधि बढाउने स्पष्ट आधार मौद्रिक नीतिमा उल्लेख गरिएको उनको दाबी छ । सिथिलतापछि माग घटेको, निर्माण कार्य रोकिएको र निर्माणसँग सम्बन्धित अन्य उद्योग व्यवसायमा सिथिलता आएको उनले बताए । साथै सहकारी क्षेत्रमा पनि समस्या आउँदा अर्थतन्त्रमा असर परेको उनको भनाइ छ । यी सबै विषयलाई समावेश गर्ने गरी मौद्रिक नीति तय भएको उनकाे भनाइ छ । ‘मौद्रिक नीतिले सबै विषय समेट्न सक्दैन, यदि मौद्रिक नीतिले सबै विषयलाई समेट्न खोज्यो भने जोखिम निम्त्याउँछ, ब्याजदरलाई स्थिरता दिने, लगानीको वातावरण वा माहोल बनाउने काम गर्छ, अन्य निकायसँगको तादम्यता र क्रियाकलाप बढ्यो भने मात्रै मौद्रिक नीतिले दिएका सुविधाहरू उपयोग हुन्छन्,’ उनले भने । मौद्रिक नीति र म्याक्रो प्रुडेन्सियल नीतिबीच समन्वय गर्न खोजिरहेका उनले बताए । अहिले बैंकिङ क्षेत्रमा अधिक तरलता भएको भनि दाबी गरिएपनि कर्जा लगानीका लागि त्यो प्रयाप्त नभएको उनको भनाइ छ । ‘मौद्रिक नीति लचिलो र म्याक्रो प्रुडेन्सियल नीति कडा हुँदा राम्रो मानिदैँन, म्याक्रो प्रुडेन्सियल नीतिमा सहजीकरण गर्न खोजेका छौं, बैंकहरूलाई पुँजी कोषको दबाब छ, पुँजी कोषको दबाबलाई कम गर्ने गरी मुख्य ७ वटा बुँदा मौद्रिक नीतिमा समावेश छन्, त्यसले बैंकको पुँजी कोषलाई सहजीकरण गर्छ,’ उनले भने, ‘बैंकहरूलाइ कर्जा दिँदा सीमा तोकेको छ, बैंकिङ क्षेत्रमा ६/७ खर्ब तरलता छ भन्ने सुनिन्छ । तर, कोर क्यापिटलको हिसाबमा उक्त रकम प्रयाप्त होइन, बैंकसँग कर्जा दिने क्षमता छैन ।’ उनका अनुसार बैंकको कर्जा दिने क्षमता बढाउने गरी मौद्रिक नीतिमा नियामकीय व्यवस्था गरिएका छन् । असल कर्जामा राख्ने प्रोभिजनदेखि थुप्रै औजारलाई अनुमति दिइएको छ । टायर २ क्यापिटल गणना गर्दा रेगुलेटरी रिजर्भमा रहेको रकम गणना गर्न दिईएको छ । जसले कर्जा प्रवाहमा भएको सकसलाई समाधान गर्ने उनको दाबी छ । ‘बजारमा कर्जा बढोस् भनेर साढे १२ प्रतिशत लक्ष्य राखिएको छ, यसले बैंक र व्यवसायीलाई साहस बढाउन खोजिएको हो,’ गभर्नर अधिकारीले भने । निर्माणलाई सहयोग पुग्नेगरी निर्माण क्षेत्रमैत्री मौद्रिक नीति ल्याएको बताउँदै उनले भने, ‘सन्तुलन कायम गर्न खोजेका छौं, अब भोलिपर्सि सर्किट लाग्छ वा लाग्दैन थाहा छैन, हामी सकभर पुँजी बजारलाई असर गर्न चाहँदैनौं, बैंकबाट जाने ऋणलाई छुन खोजेको मात्रै हो, त्यो ऋणको आआफ्ना सीमा छन्, संस्थागत रूपमा कर्जा लिएर कारोबार गर्दा कर्पाेरेट ट्याक्स तिर्नुपर्ने हुन्छ, सेयरधितो कर्जाको सीमा संस्थागतलाई हटाइएको हो, व्यक्तिलाई होइन ।’ अहिले सबै नीति खुकुलो बनाउँदा भविष्यमा जोखिम निम्तिन सक्छ । नेपालको बजार परिपक्व नभएकाले त्यो जोखिमबाट जोगिन सबै शतर्क रहनुपर्ने उनको भनाइ छ । ‘हाम्रो बजार अपरिपक्व छ, हामी सबै शतर्क हुनुपर्छ, सचेतनाका लागि सेबोनसहित हामी सबै काम गर्नुपर्छ, कति फण्डामेन्टल र कति स्प्याकुलेसन गर्ने हो त्यो पार्टाेलाई सबैले सघाउनुपर्छ,’ उनले भने, ‘नियामकीय नीति एकैपटक खोल्दा अर्थतन्त्रमा नयाँ साइकल आउन नदिन हामी शतर्क छौं, समस्या आउन नदिने गरी सजगताका साथ लचकता मौद्रिक नीति ल्याएका हौं ।’