समाज लघुवित्तले बोलायो विशेष साधारण सभा, जारी पुँजी ४ करोड रुपैयाँ पुर्याउने

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले साउन ३२ गते सर्लाहीमा बिहान ११ बजे विशेष साधारण सभ ागर्ने निर्णय गरेको हो । लघुवित्तको साधारण सभाले लघुवित्त संस्थापना ताका राखिएको जारी पुँजी बोनस सेयरको लागी अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी ४ करोड रुपैयाँ कायम गर्ने र स्वीकृत प्रबन्ध पत्रको दफा ६ (ख) मा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले साधारण सभा प्रयोजनार्थ साउन २५ गतेदेखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा साउन २४ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागीता जनाउन पाउने छन् ।

नेपाल एसबिआई बैंकद्वारा बागलुङ बजारका रहेको शाखा स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष, कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख सञ्चालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यावसाय प्रवर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेको छ । साथै, नेपाल एसबिआई बैंकले आफ्नो बागलुङ नगरपालिका–०२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं–०३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ । त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका–०८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुवै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन् । यसबाट ग्राहकलाई थप सुविधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

कतारमा रहेका नेपालीले ग्लोबल रेमिटमार्फत पैसा पठाउन सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबीच कतारबाट नेपालमा सहज रूपमा रेमिटेन्स पठाउने सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेको नेपालीहरूले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रूपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपालभरि रहेको आइएमई लिमिटेड र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिने बैंकले बताएको छ । साथै, यसै सम्झौता अनुसार कतारमा रहेका नेपालीहरूले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।