कुमारी बैंकको प्रशिक्षण गर्ने कायक्रम सम्पन्न
काठमाडौं । युसएड सँगको सहकार्यमा ‘देशै भरि वर्षै भरि’ अभियानकैरुपमा वित्तिय साक्षरता प्रर्वद्धन गरि विभिन्न स्थानमा रहेका ब्यावसायिक एवं उद्यमशिल सोचहरुलाई औपचारिक वित्तिय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोवृद्ध तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा वित्तिय साक्षरता प्रर्वद्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ । स्थानियस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तिय साक्षरता सामाग्री विकास गरि समाजमा रहेका ब्यावसायिक एवं उद्यमशिल संभावनाहरुलाई प्रर्वद्धन गर्दै उद्यमशिलता बिकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले सांसदलाई दियो वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा कोशी प्रदेशसभाका माननीय सदस्यहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेशसभाको सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले माननीय प्रदेश सभाका सदस्यहरूलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा कोशी प्रदेश सभाका मननीय सभामुख अम्बर बहादुर बिष्टले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै व्यवसायीहरू ब्याजदरको कारणले पलायन हुन सक्ने जोखिम रहेको त्यसको लागि बैंकहरूको ब्याजदर स्थिर हुनुपर्ने बताए । कोशी प्रदेश सभाका मननीय उपसभामुख सृजना दनुवारले वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले बैंकको वर्तमान अवस्था एवं बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पारेका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर क्षेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानूनी आधार बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याजदर, बैंक, उत्पादन र रोजगारीबीचको सम्बन्ध, विकास आवश्यकता छनौट लगायतका विषयमा प्रदेश सभा सदस्यहरुले जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा छुट हुने
काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलका सेवाहरुमा छुट दिइने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट पाउने छन् । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, भिलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् । एक समारोहबीच ब्लु क्रस हस्पिटलका तर्फबाट मेम्बर-सेक्रेटरी रजत श्रेष्ठ र प्रभु बैंकको तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आएको छ ।