यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ । त्यसैगरी, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन भएको छ । अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा कायम रहेको थियो । त्यसैगरी, युरो एकको खरिदर १४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा दर कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर १४८ रुपैयाँ १८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा कायम रहेको थियो । केन्द्रीय बैंकका अनुसार बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेकामा आजका लागि खरिददर १७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७१ पैसा तोकिएको छ । आज स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७० र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा कायम भएको छ । जापानिज येन १० को आजका लागि खरिददर नौ रुपैयाँ ४१ र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८८ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ९१ पैसा छभने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

साउनमा लघुबीमा कम्पनीको व्यापार पौने ९ करोड, जीवनतर्फ गार्डीय र निर्जीवनतर्फ नेपाल माइक्रो अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा लघुबीमा कम्पनीहरूले करिब ९ करोड रुपैयाँको व्यापार गरेका छन् । चालु आवको साउन महिनामा ७ लघु बीमकले ८ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये लघु निर्जीवन बीमकले ३ करोड ७० लाख र लघु जीवन बीमकले ५ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्जीवनतर्फ नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । नेपाल माइक्रोले १ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रोले १ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १ करोड २२ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यसैगरी, जीवनतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । गार्डियनलले १ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा क्रेष्ट माइक्रो लाइफ र निबर्टी माइक्रो लाइफले क्रमशः १ करोड २९ लाख र ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

ऋणको गुणस्तर, डिजिटल बैंकिङ र फिनटेकमा राष्ट्र बैंकको प्रयास

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयको संयुक्त आयोजनामा बिहीबार ललितपुरमा आयोजना भएको ‘अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन’ मा गभर्नर अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको नेपालको अर्थतन्त्र क्रमशः सुधार हुँदै पछिल्लो दुई वर्षमा निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढि प्रगति गरेको बताएका हुन् । ‘नेपालको वित्तीय सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमा महत्वपूर्ण परिचालन सुधारको यात्रा पनि अघि बढाएको छ । २०१६/१७ मा ब्याज दर करिडोरको सुरुवात र २०२०/२१ मा रिजर्भ लक्ष्यबाट ब्याज दर लक्ष्यतिर सर्दै मौद्रिक नीति प्रसारणको प्रभावकारिता बढाउने उद्देश्यले यी परिचालन सुधारहरू क्रमशः हुँदै आएको छ ।’ उनले भने, ‘प्रभावकारी तरलता व्यवस्थापनका लागि २०२३/२४ मा स्थायी निक्षेप सुविधा, हालैका नीतिगत सुधारहरू, मौद्रिक नीति सञ्चालनको आधुनिकीकरण, ऋणको गुणस्तर अभिवृद्धि, डिजिटल बैंकिङ र फिनटेकलाई जोड दिने, आधुनिक भुक्तानी प्रणालीको विकास र त्यसलाई विश्व बजारमा एकीकरण गर्ने र वित्तीय सुदृढीकरणका उपायलाई निरन्तरता दिनेमा हाम्रा प्रयासहरु केन्द्रित रहेका छन् ।’ देशको दिगो आर्थिक वृद्धिलाई परलक्षित गर्दे राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको र यस सम्मेलनले नेपालको आर्थिक तथा मौद्रिक क्षेत्रको विश्लेषणात्मक अध्ययनमा टेवा दिँदै नीति निर्माणमा पनि सधाउने उनले बताए । विकसित विश्वव्यापी परिदृश्यमा नेपालको समष्टि आर्थिक अवस्था र दिगो र समावेशी वृद्धि सुनिश्चित गर्न सुधार गर्दै लचिलो वित्तीय क्षेत्र निर्माण गर्न आवश्यक रहेकाे उनकाे भनाइ छ । उनले विश्व बजारको अन्तरसम्बन्धलाई आर्थिक गतिविधिमा विश्वव्यापी झट्काको प्रभावलाई कम गर्न नीतिगत मेलमिलाप आवश्यक रहेकाे बताए । गभर्नर अधिकारीले यस सम्मेलनले वित्तीय स्थिरता, मौद्रिक नीति र समग्र वित्तीय विकासमा प्रमाणमा आधारित नीतिगत अन्तरदृष्टि प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरे । उनले यस सम्मेलनले शैक्षिक समुदाय र केन्द्रीय बैंकिङ संस्था बीचको गतिशील संवादलाई प्रोत्साहन गर्छ, प्रमाणमा आधारित नीति निर्माणलाई बढावा दिन्छ र आर्थिक विज्ञानको विकासमा योगदान पुर्याउने बताए । ‘हाम्रो फोकस मौद्रिक र म्याक्रोप्रुडेन्सियल नीतिहरू बीचको राम्रो समन्वयमा छ । बैंकिङ क्षेत्रले दिगो आर्थिक विकासमा टेवा पुर्याउने र सम्पत्तिको बुलबुलेको जोखिमलाई कम गर्न सक्ने सुनिश्चित गर्न उत्पादनशील क्षेत्रतर्फ ऋण प्रवाह गर्ने प्रयास गरिरहेका छौँ । हामीले वित्तीय समावेशीकरणलाई पनि प्रवर्द्धन गर्दै आएका छौँ ‘, उनले भने । खुला विश्वविद्यालयका उपकुलपति शिलु मानन्धर बज्राचार्यले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित रहेर गुणस्तरीय अनुसन्धानका लागि यस सम्मेलनले महत्त्वपूर्ण सन्दर्भहरुको उजागर गर्ने बताए । उनले यस सम्मेलनबाट हासिल हुने उपलब्धिले विश्वविद्यालय तथा शिक्षण संस्थाका लागिसमेत गुणस्तरीय अनुसन्धान र शिक्षण सिकाइका लागि अत्यन्तै प्रभावकारी तथा महत्त्वपूर्ण उपलब्धि हासिल हुने धारणा राखे । यस कार्यले नेपालका विश्वविद्यालयले प्रदान गर्दै आएको उच्च शिक्षालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्डिफ विश्वविद्यालय युकेका अर्थशास्त्र विभागका प्रमुख प्राध्यापक कुल लुइँटेलले अर्थशास्त्र, वित्त, व्यवस्थापन, र सम्बन्धित विषयमा अत्याधुनिक अनुसन्धान प्रस्तुत गर्न र छलफल गर्न साझा मञ्च प्रदान गरेर नेपाली शिक्षाविद्हरूको क्षमता निर्माण र सञ्जाल निर्माणमा योगदान दिन यो सम्मेलन आयोजना गरिएको बताए । यस सम्मेलनले सहभागीमा अर्थशास्त्र, वित्त, र सम्बन्धित क्षेत्रमा ज्ञानको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको उनले जानकारी गराए । वित्तीय समावेशीकरण, दिगो वृद्धि र क्षेत्रीय एकीकरण जस्ता चुनौतीको सम्बोधन गर्न नेपाल खुला विश्वविद्यालयले सयुक्त अधिराज्यस्थित कार्डिफ विश्वविद्यालयलगायत नेपाल राष्ट्र बैंक, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौंं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयसँगको सहकार्यमा सो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा नेपालको विकास प्राथमिकता र संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यहरू, विशेषगरी गरिबी न्यूनीकरण, मर्यादित काम र दिगो आर्थिक वृद्धिसँग सम्बन्धित विषयवस्तु रहेको जानकारी गराइएको छ । सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रियस्तरका अनुसन्धानकर्ता, अभ्यासकर्ता, नीति निर्माता, अन्वेषक, र अध्यतालाई एकसाथ ल्याएर अर्थतन्त्र, वित्त व्यवस्थापन र यससँग सम्बन्धित अरु विषयवस्तुका अत्याधुनिक अनुसन्धानबााट आएका नवीनतम निष्कर्षहरू प्रस्तुत गरी त्यसका मूलभूत मुद्दाको गहिरो विषलेण र छलफल गरी नेपालको शैक्षिक क्षेत्रको क्षमता विद्धि गर्ने र नेपालको शैक्षिक क्षेत्रको अन्तराष्ट्रिय अनुसन्धानकर्ताको सञ्जाल संग सामीप्यता वृद्धि गर्नु रहेको छ । सम्मेलनका विषयवस्तु नेपालका विकास प्राथमिकता र संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यहरू विशेष गरी गरिबी न्यूनीकरण, मर्यादित काम र दिगो आर्थिक वृद्धिसँग सम्बन्धित छन् । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित चीन, बेलायत, नर्वे, स्पेनका ६० जना अर्थविद्को सहभागिता रहेको छ । सम्मेलनमा विश्वव्यापी अनुसन्धानकर्ता, अभ्यासकर्ताले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित रहेर विज्ञहरुले तयार पारेको १० वटा कार्यपत्र प्रस्तुत भई छलफल हुनेछन् ।