लघु कम्पनीलाई पनि मोटर तेस्रो पक्षको पुल प्रणालीमा समावेश गर्ने तयारी

काठमाडौं । मोटर बीमाको तेस्रो पक्षको पुल प्रणालीमा लघु बीमा कम्पनीलाई पनि समावेश गर्ने तयारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले लघु बीमा कम्पनीलाई पनि तेस्रो पक्षको पुल प्रणालीमा समावेश गर्ने तयारी भएको जानकारी दिए । हाल मोटर बीमाअन्तर्गतको तेस्रो पक्ष बीमामा पुल प्रणाली लागू छ । जहाँ ठूला निर्जीवन बीमा कम्पनीमात्र प्रणालीमा समावेश छन् । हाल नेपालमा ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । उनीहरूले ५० लाख रुपैयाँ सम्मको बीमा गर्न पाउँछन् । तेस्रो पक्ष बीमा भने उनीहरूले पनि ठूला निर्जीवन कम्पनी सरह नै गर्न पाउछन् । तर, उनीहरू अहिले पुल प्रणालीमा समावेश छैनन् । उनीहरूलाई पनि सोही पुलमा समावेश गर्ने गरी छलफल भइरहेको अध्यक्ष सिलवालले बताएका छन् । निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघ, प्राघिकरण र लघु निर्जीव बीमा कम्पनीबीच यसबारेमा छलफल भइरहेको उनले बताए । मोटर तेस्रो पक्षको पुलको मोडालिटी पनि केही परिवर्तन गर्ने तयारी भएको उनले उल्लेख गरे ।

सिटी एक्सप्रेसको दशैं-तिहार योजना सार्वजनिक, हरेक हप्ता दुई जनालाई स्मार्ट टिभी

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान चाड दशैं-तिहार र छठ्लाई लक्षित गर्दै विशेष याेजना घाेषणा गरेकाे छ । सिटी एक्सप्रेसले १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्नेगरी ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको हाे । उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्टफोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु ५०० को वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने सिटी एक्सप्रेसले जनाएकाे छ । कम्पनीका अनुसार ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुनेछैन । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ । उक्त कार्यक्रममा चर्चित हास्यकलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थिति रहेको थियो ।

सानिमा रिलायन्सले १८.३८ प्रतिशत लाभांश दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० को संचित नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको हाल रहेको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशत लाभांश स्वरुप बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । नियमनकारी निकायको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने कम्पनीले जनाएको छ ।