स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपालबीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इएमभि स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माईपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरे ।

संस्थापक न्यौपाने डिप्रोक्स लघुवित्तबाट बाहिरिँदै, बिक्रीमा राखे सेयर

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबाट विष्णुप्रसाद न्यौपाने बाहिरिने भएका छन् । लघुवित्तमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी न्यौपाने बाहिरिने भएका हुन् । लघुवित्तका अनुसार न्यौपानेले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तको उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले खरिद गर्न पाउने छन् । यदि ३५ दिनभित्र उक्त सेयर संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

बाढीको क्षतिले साढे १० अर्बको दाबी, ४ कम्पनीलाई ६० प्रतिशत भार

काठमाडाैं । असोजको दोस्रो साता आएको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति गर्‍यो । अविरल वर्षसँगै आएको बाढी-पहिरोले अरबौंको क्षति गरेको थियो । जसमध्ये बीमा कम्पनीहरूमा हालसम्म साढे १० अर्ब बढी रुपैयाँको दाबी पेस भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज २० गतेसम्म बीमा कम्पनीहरूमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँको दाबी पेश भएको हाे । जसमध्ये बीमा कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी दिइसकेका छन् । साढे १० अर्बको दाबी पेस हुँदा ४ कम्पनीमा अत्यधिक भार पर्ने देखिएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, दि ओरिएन्टल नेपाल, शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स १ अर्ब रुपैयाँ भन्दा बढीको दरले दाबी पेश भएको छ । सिद्धार्थ प्रिमियरमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँको दाबी पेश हुँदा ओरिएन्टलमा १ अर्ब ५० करोड ७ लाख, शिखरमा १ अर्ब ३ कराेड ९४ लाख र नेकोमा १ अर्ब २ करोड ४६ लाख रुपैयाँको लागि दाबी पेश भएको छ । उक्त ४ कम्पनीमा ६ अर्ब १३ करोड रुपैयाँभन्दा धेरैको दाबी परेको छ । जुन कुल दाबी रकमको ५८.२३ प्रतिशत हो । हालसम्म ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ, जसमध्ये सबैभन्दा धेरै शिखरले भुक्तानी गरेको छ । शिखरले २५ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ भने सिद्धार्थ प्रिमियरले ७ करोड ६७ लाख, नेकोले २ करोड २३ लाख, हिमालय एभरेष्टले ३ करोड ५५ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ करोड ३८ लाख, आईजीआई प्रुडेन्सियलले १ करोड २५ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।