४ सय रुपैयाँमा मिथिला लघुवित्तको सेयर बिक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि बोलकबोल पेश गर्नुपर्नेछ । लघुवित्तको सेयरमा मंसिर ५ गतेसम्म आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयरमा आवेदन दिँदा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट हुने भएको छ । बैंकले धुलिखेल, काभ्रेस्थित दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरे ।

बैंकमा खाता खोल्दा केवाईसी भर्नु नपर्ने, राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नुपर्ने बाध्यतामा उन्मुक्ति मिल्ने भएको छ । सरकारले यही १५ कात्तिकमा संशोधन गरेको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावलीमा बैंक खाता खोल्दालगायत विभिन्न गतिविधि गर्दा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार जानकारी लिन सक्ने व्यवस्था गरेको हो । गत असोजमा ऐन संशोधन भएपछि त्यसैअनुसार अहिले नियमावली पनि संशोधन भएको हो । अब बैंक तथा वित्तीय संस्थामै गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु पर्ने छैन । यो व्यवस्थासँगै अबदेखि मोबाइन नम्बर र ग्राहकको अनुमति भएपछि केवाईसी भर्ने झन्झट हटेको हाे । तर यसका लागि राष्ट्रिय परिचयपत्र भने बनाउनु पर्ने छ । वित्तीय कारोबारका लागि खोलिएका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमतिमा ‘केवाईसी’सम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गर्न सक्नेछन् । यद्यपि नयाँ व्यवस्था कार्यान्वयनमा आउन भने अझै केही समय लाग्ने जनाइएकाे छ । नियमावलीको व्यवस्थाबमोजिम विद्युतीय माध्यमबाट ग्राहकको परिचयको पहुँचसम्म पुग्न सक्ने अनलाइन प्रणाली विकास गर्न बाँकी नै छ । नियमावलीको नियम ३ मा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७ (क) बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिई ग्राहक पहिचान गर्न सक्ने उल्लेख छ । त्यस्तै, ऐनको दफा ७ (क) मा व्यावसायिक सम्बन्ध स्थापित गर्दा, खाता खोल्दा, तोकिएको रकमभन्दा बढीको आकस्मिक कारोबार गर्दा, विद्युतीय माध्यमबाट वायर ट्रान्स्फर गर्दा ग्राहकको पहिचानको लागि पहिले लिएको जानकारीको सत्यता वा पर्याप्ततामा शंका लागि थप सम्पुष्टि गर्नुपर्दा, सम्पत्ति शुद्धीकरण वा आतंककारी कार्यमा वित्तीय लगानी भएको शंका लागि थप सम्पुष्टि गर्दा, उच्च जोखिमयुक्त ग्राहक वा उच्च पदस्थ व्यक्तिले प्रत्येक कारोबार गर्दा वा नियमनकारी निकायले तोकेको अरु कुनै कार्य गर्दा ग्राकहको पहिचान गर्नु पर्ने र सोको सम्पुष्टि गर्दा भरपर्दो स्रोतबाट कागजात, तथ्यांक वा जानकारी प्राप्त गर्नुपर्ने उल्लेख छ ।