प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा विराटनगरमा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङसँगको सहकार्यमा विराटनगरमा एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा करीब १०३ जनाको उपस्थिति रहेको थियो । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स मुख्य कार्यालयको तर्फबाट प्रतिनिधि राजेन्द्र पाठकले दैनिक जीवनका जोखिमहरु, जोखिम व्यवस्थापनमा बीमाको महत्वका साथै लघुबीमाको आवश्यकता र हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले प्रचलनमा ल्याएका लघुबीमालेखको बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा बोल्दै पुष्पा खनालले प्राधिकरणको प्राथमिकताको क्षेत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सहकार्य गरी कार्य गरेकोमा खुसी व्यक्त गरिन् भने प्रमुख अतिथिले निर्जीवन बीमाको क्षेत्रमा भन्झट रहित दावी भुक्तानी प्रकृया सहितको प्रस्तुतीका लागि धन्यवाद व्यक्त गरे । कार्यक्रमको समापनको क्रममा अध्यक्ष निरौलाले सहज सहकार्यका लागि प्रोटेक्टिभ माइक्रोका इटहरी प्रमुख धना भट्टराईलाई धन्यवाद ज्ञापन गर्दै छिट्टै नै कार्यगत एकता गरेर महासंघ सँग आवद्ध सम्पूर्ण व्यवसायीहरुलाई लघुबीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा मुख्य कार्यालय रहेको यस कम्पनीले कोशी प्रदेशको इटहरी, विराटनगर, उर्लावारी र विर्तामोडमा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ ।

२० प्रतिशत लाभांश पारित गर्न सूर्यज्योति लाइफले पुस ६ गते डाक्यो सेयरधनी भेला

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले पुस ६ गते विराटनगरको बिग होटलमा बिहान १० बजे वार्षिक साधारणसभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँको करसहित २० प्रतिशतका दरले १ अर्ब २३ लाख ८९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले गत वर्ष कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्नेछ । वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति र आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंक र ग्लोबल आइएमईका सेयरधनीले बिक्रीमा राखे सेयर

काठमाडौं । कुमारी बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक र लघुवित्त संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । कुमारी बैंकका अनुसार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै, ग्लोबल आइएमई लघुवित्त संस्थाको संस्थापक सेयरधनी दिलिप घलले आफ्नो नाममा रहेको ८ हजार ७११ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंक र लघुवित्तको सेयरमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । खरिद इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधि भित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।