लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरूले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) मार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरू प्रदान गर्नेछ ।
नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरू सम्मानित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सीइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढि अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा सुदुर पश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । यसै गरी यस प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरूप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिए सँगै सीइओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा सहभागी जनाउने सबै अभिकर्ताहरूलाई धन्यावाद तथा बधाई ज्ञापन गरे। उनले, अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुसरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्य रहेको बताए ।
नबिल बैंकमा एमएडब्ल्युको लगानी, ६३ सेयरधनीले होल्ड गरे १७ अर्ब ३० करोडको सेयर
काठमाडौं । नबिल बैंकमा ६३ सेयरधनीहरूले एक लाख बढी कित्ता सेयर होल्ड गरेका छन् । बैंकका अनुसार गत असारसम्म १ लाख भन्दा बढी कित्ता धारण गरेका ६३ सेयरधनी छन् । जसमा ६३ सेयरधनीहरूसँग १७ अर्ब ३० करोड ६९ लाख ६० हजार रुपैयाँ बराबरका १७ करोड ३० लाख ६९ हजार ६ सय कित्ता सेयर स्वामित्व छ । बैंकका अनुसार विभिन्न ६ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । बैंकमा सबैभन्दा ठूला सेयरधनी एन.बी.(ईन्टरनेशनल) लिमिटेड हो । एन.बी. इन्टरनेशनलको ३९.४४ प्रतिशत अर्थात् १० अर्ब ६७ करोड ६ लाख २४ हजार २८४ रुपैयाँको सेयर स्वामित्व छ । यस्तै, आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेशको ७.७७ प्रतिशत अर्थात् २ अर्ब १० करोड १७ लाख २६ हजार ४ सय रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत अर्थात् २ अर्ब ६ करोड ३६ लाख ९८ हजार ६ सय रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, निर्वाणकुमार चौधरीको ०.७० प्रतिशत अर्थात् १८ करोड ९७ लाख ४५ हजार ९ सय रुपैयाँ र वरुण चौधरीको ०.६७ प्रतिशत अर्थात् १८ करोड ८ लाख ९८ हजार सय रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । बैंकका अनुसार मुथुट फाइनान्सको ०.४४ प्रतिशत अर्थात् ११ करोड ९८ लाख ५३ हजार १ सय रुपैयाँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ०.२६ प्रतिशत अर्थात् ७ करोड १२ लाख ३४ हजार र एम.ए.डब्ल्यु इन्टरप्राइजेज् प्राइभेट लिमिटेडको ०.२२ प्रतिशत सेयर स्वामित्व छ । बैंकको सञ्चालक अनन्त पौड्यालको २६ हजार १८८ कित्ता, प्रविन टिवडेवालाको १ हजार ५६ कित्ता र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको १० हजार ५९ कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ । गत असारसम्म बैंकमा २ लाख ४४ हजार ३७९ सेयरधनी रहेका छन् । जसमध्ये १ देखि १ सय कित्ता सेयर धारण गरेका १ लाख ५ हजार ४४३ सेयरधनी छन् । यस्तै, १०१ सयदेखि ५ सय कित्ता धारण गरेका ६७ हजार ९ जना, ५०१ देखि १ हजार कित्ता धारण गरेका १५ हजार ९११ सेयरधनी छन् । यस्तै, १ हजार १ देखि २ हजार ५ सय कित्ता धारण गरेका ९ हजार ८५७ जना, २ हजार ५०१ देखि ५ हजार कित्ता धारण गरेका ३ हजार ३८३ सेयरधनी, ५ हजार १ देखि १० हजार कित्ता सेयर धारण गरेका १ हजार ४४० सेयरधनी, १० हजार १ देखि २५ हजार कित्ता धारण गरेका १ हजार ५४ सेयरधनी रहेको बैंकले जनाएको छ । बैंकका अनुसार २५ हजार १ देखि ५० हजार कित्ता धारण गरेका २३१ सेयरधनी, ५० हजार १ देखि १ लाख कित्ता धारण गरेका ८६ सेयरधनी छन् । अंशमा रहेका सेयरहरू ३९ हजार ९०२ छन् ।