काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन बोलकबोलमार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी ७० अर्ब रुपैयाँ बराबरसम्म कबोल गर्न पाउनेछन् । उनीहरूले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत् कबोल गर्नुपर्नेछ ।
आज प्रशोचन गरेको रकम पुस १४ गते ब्याजसहित फिर्ता हुनेछ । कति ब्याजदरमा राख्ने भन्ने बैंकहरूले नै प्रस्ताव गर्नुपर्छ । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएकाले केन्द्रीय बैंकले यति धेरै पैसा खिच्न लागेको हो ।
यसअघि १९ गते केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिच्नका लागि आवेदन माग गरेकामा बैंकहरूले जम्मा २४ अर्ब ५ करोडमात्र राख्न इच्छा राखेका थिए ।
राष्ट्र बैंकका अनुसार निक्षेप कबोलमार्फत् खिचेको रकम हाल केन्द्रीय बैंकसँग २ खर्ब १५ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् १ खर्ब ४६ अर्ब रुपैयाँ खिचेको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।