नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको राष्ट्रिय स्तरको नेशनल लघुवित्तको एघारौं वार्षिक साधारणसभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते साेमबार सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८०/०८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजन सहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको वित्तीय विवरणहरू पारित गरेको छ । २०७१ सालमा स्थापना भएको नेशनल माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति तथा समिट लघुवित्त वित्तीय संस्थासँग मर्जर गरी बनेको नेशनल लघुवित्त वित्तीय संस्था एघारौ वर्षमा  प्रवेश गरी २०८१ असोज सम्ममा देशका सात वटै प्रदेशका ७४ जिल्लामा १८४ वटा शाखा कार्यालय मार्फत २ लाख ३३ हजार विपन्न परिवार मध्ये १ लाख १२ हजार ऋणीहरूलाई २२ अर्ब रुपैयाँ कर्जा र करिव ६ अर्ब बचत परिचालन गर्न सफल भएको छ । सभाले ७,६५,३७७ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमबाट सेयर जारी गर्नका लागि प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । संस्थाले ग्राहकको हक हितलाई संरक्षण र सम्बद्र्धन गर्दै उद्यमशिलता विकाश, वित्तीय साक्षरता र प्रविधिको उच्चतम प्रयोगमा विशेष जोड दिदै अगाडि बढ्ने योजना रहेको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताए ।

नवीकरणीय ऊर्जामा बिना धितो ऋण दिँदै सहकारी

काठमाडौं । परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका-१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ । नवकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई सहकारीले सहुलियत दरमा कर्जा उपलब्ध गराउन थालेको हो । ई-रिक्सा, बायोग्यास, सौर्य ऊर्जा प्रणालीमा आधारित सिँचाइ, सौर्य बत्ती, विद्युतीय चुलोमा ऋण प्रदान गर्ने व्यवस्था मिलाइएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए । उनका अनुसार हालसम्म १५० जनालाई विनाधितो नवीकरणीय ऊर्जाका लागि ऋण प्रदान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरी १ लाख रुपैयाँसम्म नवीकरणीय ऊर्जामा कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए । ‘गत वर्षदेखि नवीकरणीय ऊर्जा कार्यक्रमलाई निरन्तरता दिएका छौँ, वातावरण प्रदूषण न्यूनीकरणमा यस कार्यले सहयोग पुर्‍याउँछ, वन माथिको निर्भरतामा कमी आउँछ,’ उनले भने । सहकारीबाट ई-रिक्सा खरिदका लागि सहुलियत दरको ऋण लिनेको सङ्ख्या बढी रहेको उनले जानकारी दिए । नवीकरणीय ऊर्जासपछि सौर्य ऊर्जामा आधारित सिँचाइका लागि ऋण लिने बढी रहेका प्रमुख भट्टले बताए। नवीकरणीय ऊर्जाको उपयोगले पुर्‍याउने लाभबारे सहकारीका सदस्यहरूलाई छलफल तथा विविध कार्यक्रमका माध्यमबाट जानकारी दिने कार्य सहकारी गरिरहेको उनको भनाइ छ । योसँगै विभिन्न दातृ निकायसँग सहकार्य गरी जैविक विधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अगाडि बढाउनका लागि अनुदान र ऋणका कार्यक्रम अगाडि बढाइएको छ । ‘कृषकहरूको उत्पादन क्षमता वृद्धि गरी बजारीकरणमा सहयोग पु¥याउने कार्य गरिरहेका छौँ, किसानको घरदैलोमा आवश्यक वित्तीय सहयोग तथा प्राविधिक सहयोग उपलब्ध, आवश्यक प्रविधि र खेती प्रणालीबारे तालिम दिने कार्य गरिरहेका छौँ,’ सहकारीका सचिव खगेन्द्रप्रसाद पाण्डेयले भने । सदस्यहरूको माग र आवश्यकताका आधारमा सहकारीले सीपमूलक, उद्यमशीलतामूलक तालिम प्रदान गरी उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार अध्यक्ष सिलवालविरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको हो । ‘अध्यक्ष सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुनपर्ने,’ भन्दै मुद्दा दायर गरिएको आयोगले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ । सिलवालले पर्साबाट लिएको नागरिकता र काठमाडौंबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ । उनी विरुद्ध आयोगले छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रुपैयाँ सोह्र पैसा मात्र रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ । अख्तियारले जारी गरेको विज्ञप्ति : नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुन भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौवाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयवाट जारी Diploma तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते रा.प. तृतीय श्रेणीको पदमा नियुक्ति लिएको, सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएकोवाट निज प्रतिवादीले मिति २०१५।०४।१५ लाई नै जन्म मिति कायम/स्वीकार गरे/गराएको, निजामती सेवामा नै वहाल रहेको अवस्थामा निज प्रतिवादीले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न निज स्वंयले भरेको PASSPORT APPLICATION FORM मा आफ्नो उमेरको झुट्टा विवरण दिई जन्म मिति २०१८।०७।२४ (०९ Nov.१९६१) कायम गरेको देखिएकोले निज प्रतिवादीले आफ्नो वास्तविक जन्ममिति भन्दा करिव ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको। बीमा समितिको अध्यक्ष नियुक्ति गर्ने सम्वन्धमा अर्थ मन्त्रालयले साविकको बिमा समितिको अध्यक्षको पदमा निजलाई नियुक्तिको प्रस्ताव नेपाल सरकार, मन्त्रिपरिषदमा पेश गर्दा नै उल्लेख भएको अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ को दफा ५ को प्रतिवन्धात्मक वाक्यांशसमेत वमोजिम नियुक्ति दिने गरी भएको प्रस्ताव नै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।१०।१९ गते स्वीकृत भई सोही मापदण्ड उल्लेख गरी अर्थ मन्त्रालयले निजलाई बिमा समितिको अध्यक्ष पदको नियुक्ति पत्र दिएको, उक्त मापदण्डको दफा ५ को प्रतिवन्धात्मक बाक्यांशमा “पदावधि समाप्त हुनु अगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वतः अवकाश हुनेछ” भनि स्पष्ट कानूनी व्यवस्था रहेको देखिएकोमा सो कानूनी व्यवस्थालाई स्वीकार गरी निजले मिति २०७७।१०।२२ स्वःघोषणा तथा शपथ ग्रहण गरी पद स्वीकार गरेवाट निज सूर्य प्रसाद सिलवाल Ipso facto (स्थापित तथ्यका आधारमा) मिति २०८०।०४।१५ मा अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदा नपाउनेमा जानी जानी सो ओहदामा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा निज प्रतिवादीको उक्त कार्यहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर गरे भएको पुष्टि भएको, यसैगरी निजले मिति २०७७।१०।२० गते बिमा प्राधिकरणको अध्यक्षमा राष्ट्रसेवकको रुपमा नियुक्ति पाउन आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी हुँदा हुँदै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय समेतमा आफ्नो जन्म मिति २०१६।०७।२२ को जन्म मिति हो भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेश गरेको, उमेर ढाँटी/झुट्टा विवरणको वैयक्तिक विवरण पेश गरी, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा हालसम्म पनि बहाल रहिनै रहेको, निजले आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी आँफूलार्इ हुँदा हुँदै आफ्नो उमेर ढाँटी मिति २०१८।०७।२४ गतेको जन्म मिति कायम गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा करिव ३ वर्ष उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेश गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी सोही झुट्टा विवरणका आधारमा प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको माथि उल्लिखित सवूद प्रमाणबाट पुष्टी भइरहेको देखिदा निज प्रतिवादीको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित एवं निषेधित कसूर समेत गरे भएको देखियो। यसर्थ; नेपाल बिमा प्राधिकरणको अध्यक्षको रुपमा कार्यरत निज प्रतिवादी सूर्य प्रसाद सिलवालले झुट्टा विवरण दिई कुटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएको, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा हाल पनि बहाल रहेको, अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण/व्यहोराको आधारमा उल्लेखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको पुष्टि भएकोवाट निज सूर्य प्रसाद सिलवालको उक्त कार्यहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन, नेपाल बिमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद-२ (भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदावी बमोजिमको कसूर गरेको हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवाललार्इ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र निज प्रतिवादी सूर्य प्रसाद सिलवालले मिति २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम रु.३६,६२,१५४।१६(छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. र कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत/असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।