बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज मंसिर २६ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

१० प्रतिशत लाभांश वितरण गर्ने कालिका लघुवित्तको घोषणा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजी ३७ करोड २३ लाख २१ हजार ७३९.५१ रुपैयाँको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको प्रस्तावबमोजिम ९.५ प्रतिशतले हुन आउने ३ करोड ५३ लाख ७० हजार ५६५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनर्थ ०.५ प्रतिशतले हुन आउने १८ लाख ६१ हजार ६०८.७० रुपैयाँबराबरको नगद लाभांश छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्र, होटल तथा रेष्टुरेन्ट लगायतका संस्था तथा कम्पनीहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायसाथ ती संस्था तथा कम्पनीसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस विकास बैंकका ग्राहक तथा कर्मचारीका लागि लाभदायि बन्ने अपेक्षा गरिएको छ । नयाँ सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्तगर्न सक्ने बताइएको छ । महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीले छुट पाउने विभिन्न कम्पनी तथा संस्थाहरु यसप्रकार रहेका छन् : १ काठमाडौंको कमलादीमा रहेको स्काईवाक टावर (वन्डर्स नेपालप्रा.लि.) टावर प्रवेशमा १५ प्रतिशत छुट २ काठमाडौंको विशालनगरस्थित चेरिस गु्पको खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट ३ ललितपुरको सानेपास्थित अमैचामा कपडा खरिद गर्दा १० प्रतिशत छुट ४ ललितपुरको भैंसेपाटीस्थित मलाला युनिसेक्स सैलुनमा ब्युटिसियन सेवामा १० प्रतिशत छुट यस्तो सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउन मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ पनि सञ्चालनमा ल्याएको छ ।