मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३२ करोडको कुल ७.८९४७ प्रतिशतले हुन आउने १० करोड ४२ लाख १० हजार ५२६.३२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश ७.५ प्रतिशतले हुन आउने ९९ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशतले हुने आउने ५२ लाख १० हजार ५२६.३२ रुपैयाँबराबरको नगद लाभांश छन् । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
लिलाम सम्पत्ति बिक्रीबारे जानकारी दिन एनआईसी एशिया बैंकको अनलाइन पोर्टल
काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसहितको लिलामबिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलामबिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सबै सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहकले लिलामबिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी देखिने पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन् । यसरी ग्राहकले लिलामबिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने बैंकले व्यवस्था गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलामबिक्रीमा रहेको सम्पत्तिहरु र लिलामबिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गर्ने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाट विस्तृत विवरणहरूको जानकारी लिन सक्ने पनि बैंकले जानकारी दिएको छ ।
राष्ट्रिय बीमा कम्पनीले सञ्चालकको बैठक भत्ता बढाउने, २ वर्षको प्रतिवेदन तयार
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सञ्चालकहरूको बैठक भत्ता बढाउने भएको छ । कम्पनीले सञ्चालकहरूको बैठक भत्ता प्रतिबैठक ६ हजार रुपैयाँ, सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले पुस २४ गते काठमाडौंमा बिहान ११ बजे दोस्रो साधारण सभा बोलाएको हो । कम्पनीको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । यस्तै, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्ने, महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिवाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्नेछ । सञ्चालकहरूको आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधा अनुमोदन गर्नेछ ।