नेशनल लाइफ इन्स्योरेन्सको त्रिदिवसीय ‘चेयरपर्सन कार्यक्रम’ सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम’ काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरूलाई कम्पनीकी चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक् परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनोट भएका सबै अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरूलाई सम्मान प्रदान गरेकी थिइन् । उनले आर्थिक वर्ष २०८०/८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनीय योगदान रहेको बताइन् । साथै उनले कम्पनीको वित्तीय सूचकहरू पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तीय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरू, बीमितहरूलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिति, व्यापक अभिकर्ता सञ्जाल आदि सबैले आउने दिनहरूमा कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताइन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरू सुरू गरेको र यसबाट व्यावसायिक अभिकर्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए । साथै उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगतदेखि नै प्रयास गर्दै आइरहेको हुँदा उत्कृष्ट व्यवसाय गर्ने व्यावसायिक अभिकर्ताहरू थप उत्साहित भएको बताए । कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । यस्तै, चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै कुनै पनि कार्यमा सफलता हासिल गर्नका लािग आफ्नो काममा विशेष फोकस गर्नुपर्ने बताए । समारोहमा आर्थिक वर्ष २०८०/८१ मा १०० वा सोभन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरू, नेशनल स्टार र नेशनल सुपरस्टार घोषित अभिकर्ताहरू, विगत १० वर्षदेखि निरन्तर चेयरपर्सन क्लबमा छनोट हुने अभिकर्ताहरू, आर्थिक वर्ष २०८०/८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरूलाई पनि विशेष सम्मान गरिएको थियो । यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने एक जना गरी ७ जना अभिकर्ताहरूलाई सम्मान पत्र र नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । सम्मानित बिजनेस लिडरहरूले कम्पनीकी अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

यी तीन कम्पनीहरूले लाभांश वितरण नगर्ने

काठमाडौं । नेप्सेमा सूचीकृत थप ३ कम्पनीहरूले लाभांश वितरण नगर्ने घोषणा गरेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन् । पुस ३ गते बसेको कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठक र पुस ४ गते बसेको विजय लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् । यी कम्पनीहरूले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएका छन् ।

गणपति लघुवित्तले लाभांश नदिने, सेयरधनीको हात खाली

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीहरूलाई लाभांश नदिने भएको छ । संस्थाको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । योसँगै सेयरधनीको हात खाली हुने भएको छ । संस्थाको सोही बैठकले २०८१ असार मसान्तसम्मको बासलात, आर्थिक वर्ष २०८०र/८१ को नाफा, नोक्सान, तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण माथि छलफल गरी सो लाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।