नेपाल माइक्रो इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच व्यवसाय विस्तार गर्ने सम्झौता
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी (एनएमआईसी) र कामना सेवा विकास बैंक लिमिटेड (केएसबीबी) बीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल र बैंकका उप महाप्रबन्धक हरिप्रसाद लम्सालले औपचारिक रूपमा हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै सीईओ रिमालले भने, ‘यो साझेदारी हाम्रो बीमा सेवाहरूलाई पहुँचयोग्य र समावेशी बनाउने यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। कामना सेवा विकास बैंकसँग सहकार्य गरेर हामी आफ्नो पहुँच विस्तार गर्न र हाम्रो समुदायका वित्तीय र बीमा आवश्यकतालाई ध्यानमा राखी नवीन उत्पादनहरू सिर्जना गर्न चाहन्छौं ।’ त्यसैगरी, उप महाप्रबन्धक लम्सालले भने, ‘कामना सेवा विकास बैंक वित्तीय समावेशितामार्फत व्यक्ति र व्यवसायलाई सशक्त बनाउन प्रतिबद्ध छ । यस सम्झौताले एनएमआईसीको माइक्रो इन्स्योरेन्स क्षेत्रमा रहेको विशेषज्ञतालाई प्रयोग गरी हाम्रा ग्राहकहरूलाई व्यापक वित्तीय समाधान प्रदान गर्न सहयोग गर्नेछ ।’ समारोहमा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत ( डीसीईओ) अनिलराज गिरि पनि उपस्थित थिए । यस साझेदारीले दुवै संस्थाका ग्राहकहरूलाई फाइदा पुर्याउन विभिन्न सहकार्यपूर्ण व्यापारिक प्रयासहरू गर्ने लक्ष्य राखेको छ। साझेदारीले नयाँ व्यापार तथा अवसरहरूको खोजी, प्रक्रिया सुधार र अल्पसंख्यक जनसंख्यालाई सेवा प्रदान गर्न संयुक्त पहलहरू विकास गर्ने विश्वास लिइएको छ । यस सहकार्यले ग्रामीण र अर्ध-शहरी क्षेत्रमा वित्तीय र बीमा सेवाहरूमा रहेको महत्त्वपूर्ण अभावलाई सम्बोधन गर्न योगदान पुर्याउने लक्ष्य राखेको छ । एनएमआईसीको प्रधान कार्यालय चितवनमा रहेको छ भने केएसबीबीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा छ।
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडिलाई अस्थायी आवास हस्तान्तरण
काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रम बीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन् । बैंकले निर्माण गरिदिएको अस्थायी आवास हस्तान्तरण कार्यक्रममा नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो परियोजना अघि बढाएको उनले बताए । नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका- १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्लाकाँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो । कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, बैंकका सञ्चालक निर्वाण चौधरी लगायत उपस्थिति थिए । १७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप तत्काल राहत सामाग्री वितरण गर्नुका साथै अस्थायी आवास निर्माण गरिदिने घोषणा बैंकले गरेको थियो ।
जीवन विकास लघुवित्तको २१.३० लाख कित्ता सेयर बिक्रीमा, मूल्य ५२५ देखि ६ सय रुपैयाँसम्म
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तका केही संस्थापक समूहका सेयरधनीहरूले सेयर बिक्रीमा राखेका हुन् । लघुवित्तका अनुसार १२ लगानीकर्ताले २१ लाख ३० हजार ८०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बिक्रीकर्ता नम्बर १ देखि १२ सम्म उल्लेख गरी कोड नम्बर एदेखि एलसम्म राखेर सेयर बिक्रीमा राखेको हो । लघुवित्तको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५२५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्म तोकिएको छ । उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि ३५ दिनभित्र सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।