८.५ प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो । कार्यालयले फागुन १५ गतेदेखि चैत १५ गतेसम्म ५ वर्ष अवधिको वैदेशिकर रोजगार बचतपत्र बिक्री गर्ने भएको हो । गर्न लागेको हो । उक्त बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद गर्न पाउने छन् । वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरीक र गैरआवसीय नेपाली तथा परिवार सदस्यले पनि बचतपत्रमा आवेदन दिन सक्नेछन् । यस बचतपत्र ब्याजदर वार्षिक ८.५ प्रतिशत तोकेको छ । उक्त ब्याजदर बैंक तथा वित्तीय संस्थाहरूले हाल प्रदान गरिरहेको ब्याज भन्दा धेरै हो । ब्याज भने ६÷६ महिनामा भुक्तानी हुनेछ । साँवा २०८६ चैत १८ गते एकमुष्ठ रूपमा पाइने छ । बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ ।
लघुवित्तहरूले जेठदेखि आधार दरमा ब्याजदर निर्धारण गर्नुपर्ने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले जेठदेखि आधार दर लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासक समीक्षा सार्वजनिक गर्दै २०८२ जेठदेखि आधार दरमा आवद्ध गरी कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । ‘लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ । आधार दर लागू गर्ने भएपछि लघुवित्तको ब्याजमा लगाइएको १५ प्रतिशतको क्याप हट्ने देखिन्छ । लघुवित्त संस्थाहरुले विगत लामो समयदेखि क्याप हटाएर आधारदर कायम गर्न माग गरिरहेका थिए । यसअघि क्याप लगाउँदा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा दिन नपाउने व्यवस्था थियो । बैंकिङ प्रणालीमा लगातार ब्याजदर बढ्दो त्यसको प्रभाव लघुवित्त क्षेत्रमा देखिन्थ्यो ।
हायर पर्चेज कम्पनीमा पनि सम्पत्ति सुद्धिकरणको व्यवस्था, यस्तो छ राष्ट्र बैंकको नयाँ नीति
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीको लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार हायर पर्चेज कम्पनीहरुका लागि नयाँ परिपत्र जारी गर्दै विभिन्न व्यवस्थाहरु गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कम्पनीहरुका लागि ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिन तथा ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा संस्थाले नियमावलीको नियम ३ बमोजिम ग्राहकको पहिचान तथा सम्पुष्टि गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति, पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति, अन्य विदेशी उच्च पदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्ति, कम्पनीले आफ्नो ग्राहक उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भएका व्यक्ति भए नभएको यकिन गर्न आफूसँग ग्राहकबाट प्राप्त जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ । यस्तै, कार्यान्वयन अधिकारीको नियुक्ति तथा शंकास्पद कारोबार प्रतिवेदन पठाउने सम्बन्धमा देहायबमोजिमको व्यवस्था गर्नुपर्ने, कम्पनीले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा निज सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको यकिन गर्नुपर्ने, संस्थाले शङ्कास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निज बाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउनु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले कारवाही तथा जरिवानाको व्यवस्था पनि गरेको छ । नीति तथा कार्यविधि नभएमा पहिलो पटकका लागि लिखितरुपमा सचेत गराउने, दाेस्रो पटकदेखि रु. १० लाख वा गाम्भीर्यताको आधारमा रु. ५ करोडसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । यस्तै, ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएमा वा प्रभावकारी नभएमा । पहिलो पटकका लागि लिखितरुपमा सचेत गराउने, दोस्रो पटकका लागि रु. १० लाख जरिवाना गर्ने र तेश्रो पटकदेखि ५० लाख रुपैयाँ वा गाम्भीर्यरता अनुसार थप जरिवाना गर्ने व्यवस्था पनि गरेको छ । जानीबुझी बेनामी वा काल्पनिक नाममा कारोबार गरेको पाइएमा ५० लाख वा गाम्भीर्यता अनुसार थप जरिवाना गर्ने पनि व्यवस्था गरेको छ ।