हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधी हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पन्न भएको अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) बीमा दोकान प्रालिले आयोजना गरेको थियो । उक्त प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ वटा कम्पनीहरूको सहभागिता रहेको थियो । जसमध्ये फाईनल चरणमा पुगेका दुई कम्पनीहरू हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी विच भएको फाईनल खेल निकै रोमाञ्चक भएको थियो । प्रतियोगिताको प्रमुख अतिथिका रुपमा रहेका एन्फाका महासचिव किरण राईद्वारा उद्घाटन गरिएको उक्त प्रतियोगिता २ दिनसम्म चलेको थियो । दोस्रो दिनको खेलमा प्रमुख अतिथि रहेका नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगितामा विजयी भएकाहरूलाई प्रमाणपत्र, सिल्ड, ट्रफि र नगद पुरस्कार प्रदान गरेका थिए । उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र ३५ हजार रुपैयाँ नगद जित्न सफल भएको छ भने उपविजेता हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र १५ हजार नगद जित्न सफल भएको छ । 'स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य' भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बीमा दोकान प्रालिले जनाएको छ ।
दिगो विकासतर्फ ग्लोबल आइएमई बैंक, रुफटप सोलार कर्जा सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् । यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरू जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी प्रणाली लागू
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणाली एनसीएचएलको ‘नेशनल पेमेन्ट इन्टरफेससँग जोडिनेछ। यसमार्फत कम्पनीले विभिन्न डिजिटल भुक्तानी उपकरण प्रयोग गरेर सेवा प्रदान गर्न सक्नेछन् । अब सूर्यज्योतिले प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, सेवा प्रदायक भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कारोबार सोझै लाभग्राहीको बैंक खातामा गर्न सक्नेछ। भविष्यमा अन्य भुक्तानी सुविधा पनि क्रमिक रूपमा थपिने जनाइएको छ । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीको प्रयोग गरी सजिलो, सुरक्षित र डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सक्नेछन् । नेपाल क्लियरिङ्ग हाउससँगको यो सहकार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल रूपान्तरण अभियानमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।