बीमा योजनामा १० लाखसम्मको सुरक्षा, सानिमा रिलायन्सको लोकप्रिय योजना
काठमाडौं । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई कर्मथलो बनाई रहेका व्यक्तीत्व हुन्, श्याम गुरूङ । उनी पोखरामै रेष्टुरेन्ट व्यवसायमा सफलता हासिल गरी सन् २०१८ देखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् । लायन्स क्लबका अञ्चल अध्यक्ष र सल्यानी समिति कास्कीका सचिव समेत बन्न सफल भएका गुरूङ लगातार ४ पटक सानिमा रिलायन्स बनिसकेका छन् । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेटको रुपमा कार्यरत छन् । सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजनामा उनी प्रोडक्ट एडभोकेट रहेको कम्पनीले जनाएको हो । 'शुभलक्ष्मी जीवन बीमा' योजनाको बारेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संचालन गरेको शुभलक्ष्मी जीवन बीमा योजनामा ग्राहकहरूको लोकप्रियता बढ्दै गएको अवस्था छ। एक त उक्त बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने कम्पनीले जनाएको छ भने अर्कातिर बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो योजना उत्तम मानिएको छ। मध्यम वर्गीय परिवारलाई लक्षित गरिएको सो योजनामा ग्राहक आकर्षित भएको जनाइएको छ। सानिमा रिलायन्स लाइफको शुभ लक्ष्मी जीवन बीमा योजनाका विशेषताहरु यस योजनाले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्छ भने बीमितको प्राकृतिक कारणबाट मृत्यु भएमा बीमाङ्कको २ गुणा र दुर्घटनाको कारणबाट मृत्यु भएमा ३ गुणा रकम हकवालालाई भुक्तानी गरिने व्यवस्था रहेको छ । त्यस्तै,विभिन्न १८ वटा घातक रोगमध्ये कुनै पनि एउटा रोगको पहिचान भएमा १० लाख रुपैयाँ बीमाङ्कसम्मको एकमुष्ट भुक्तानी गर्ने र बीमितलाई उपचारका लागि रकम जुटाउने तनाबबाट मुक्ति दिलाउँने जनाइएको छ। हाल, कुनै बीमितले १० लाख बीमाङ्क भएको शुभ लक्ष्मी जीवन बीमा योजना खरिद गरेमा बीमा अवधि सकिएपछि १० लाख रुपैयाँसँगै पूरा अवधिभर आर्जित बोनस पनि एकमुष्टमा प्राप्त गर्ने समेत व्यवस्था रहेको छ । त्यस्तै, बीमा अवधि नसकिँदै बीमितको दुर्घटनाका कारण मृत्यु भयो भने हकवालालाई यो पोलिसी अनुसार ३० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा भुक्तानी गरिनेदेखि प्राकृतिक मृत्यु भएका हकमा भने हकवालाले २० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा पाउने कम्पनीले जनाएको हो । यस्तो छ उमेरहद सोही बीमा योजना १८ वर्ष पूरा भएर ६० वर्ष ननाघेका जो कोहीले पनि खरिद गर्न सक्नेछन् भने उक्त बीमा योजनाको अवधि न्यूनतम १० देखि अधिकतम ५२ वर्षसम्मको हुन सक्ने व्यवस्था गरिएको छ । सोही योजना अन्तर्गत बीमितले आफ्नो आर्थिक क्षमता अनुसार २५ हजार देखि १० लाख रुपैयाँसम्मको बीमाङ्क रकम रहेको बीमालेख खरिद गर्न सक्नेछन् तथा १८ वर्षकै उमेरमा यो बीमा योजनाको अधिकतम अवधितर्फको बीमालेख खरिद गर्ने बीमित ७० वर्षको हुँदा उसको बीमा म्याच्युर हुने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको हो। साथै, बीमाशुल्क बुझाउँनको लागि पनि बीमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न मिल्ने बताउँदै कम्पनीले जवानीमा गरेको सानो बचतले बुढेसकालमा १० लाख रुपैयाँ र आर्जित बोनस रकम एकमुष्टमा भुक्तानी दिलाउने भएकाले सो योजना लोकप्रिय बन्दै गएको कम्पनीले जानकारी दिएको छ ।
४९ प्रतिशत बढ्यो शंकास्पद कारोबार, १ हजार ८६ वटा थप अनुसन्धानका लागि सिफारिस
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा शंकास्पद कारोबार संख्या ४९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा शंकास्पद कारोबार बढ्दो रहेको देखाएको हो । राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२४ सम्ममा शंकास्पद कारोबारको संख्या ९ हजार ३०४ वटा पुगेका छन् । जबकि सन् २०२३ मा ६ हजार २५५ वटा शंकास्पद कारोबार भएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ४९ प्रतिशत शंकास्पद कारोबार बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सन् २०२२ मा ३ हजार ९७९ वटा, सन् २०२१ मा १ हजार ८५४ वटा र सन् २०२० मा १ हजार १०३ वटा शंकास्पद कारोबार भएका थिए । सन् २०२४ मा वाणिज्य बैंकबाट ७ हजार ७१३ वटा, विकास बैंकबाट ६१२ वटा, फाइनान्स कम्पनीबाट ३०३ वटा, स्टक ब्रोकरबाट २९० वटा, भुक्तानी सेवा प्रदायक कम्पनीबाट १६६ वटा, रेमिट्यान्स कम्पनीबाट ९२ वटा, जीवन बीमाबाट ८२ वटा, भुक्तानी प्रणाली सञ्चालनबाट १४ वटा, सहकारीबाट २ वटा, निर्जीवन बीमाबाट ७ वटा शंकास्पद कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, लुघवित्तमा ५ वटा, क्यासिनोमा ३ वटा, मर्चेन्ट बैंकर, भेन्चर क्यापिटल, स्टक लिडर, हायर पर्चेज कम्पनी र अन्य १/१ वटा शंकास्पद कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्क छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा शंकास्पद कारोबार तथा गतिविधिबारे जानकारी गराउनुपर्ने हुन्छ । सोही आधारमा राष्ट्र बैंकले अध्ययन अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने गरेको छ । सन् २०२४ मा एफआईयूले जम्मा १ हजार ८९४ प्रतिवेदन विश्लेषण गरेको थियो । जसमध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने तथा अनुसन्धानकारी निकायमा कारबाहीका लागि पठाएको राष्ट्र बैंकले जनाएको छ । बाँकी ८०८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखिकरण गरेको बताइएको छ । सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो संख्या १९ लाख ७२ हजार ८५५ पुगेको छ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ्ग तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्था, कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकाय र नियामक निकायको संख्या सन् २०२३ को अन्त्यमा १ हजार ४९६ रहेका थिए । उक्त संख्या बढेर सन् २०२४ को अन्त्यमा १ हजार ९०५ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
गभर्नर सिफारिस समितिकाे बैठक सुरु, विश्व पाैडेल नियुक्त हुँदै
काठमाडौं । गभर्नर सिफारिस समितिकाे बैठक सुरु भएकाे छ । मंगलबार अपरान्ह समितिकाे बैठक सुरु भएकाे हाे । अर्थमन्त्री तथा गभर्नर सिफारिस समितिका संयोजक विष्णु पाैडेलले बैठक बोलाएका हुन् । बैठकमा अर्थमन्त्रीसहित समितिका सदस्य महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन् । आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । ओली र देउवासँगै अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । उनीहरूबीच डा. विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति भएको बुझिएको छ । समितिको बैठकले आजै गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने सम्भावना छ । ओली र देउवाकाे छलफलपछि मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हाे ।