१० महिनामा १४ खर्बको आयात, २ खर्बको निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन-वैशाख) सम्ममा आयात १४ खर्ब ७४ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.११ प्रतिशत बढी हो । यो अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन नेपालको इतिहासमा सर्वाधिक निर्यात हो । चालु आवको १० महिनामा कम्पनीहरुले गरेको निर्यात गत आर्थिक वर्षको १० महिनाको तुलनामा ७३ प्रतिशतले बढी हो । २०७८/७९ मा २ खर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । चालु आवको १० महिनामा कुल १६ खर्ब ९२ अर्ब ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापारको वृद्धिदर गत आवको तुलनमा १८.३७ प्रतिशत रहेको छ । १० महिनामा व्यापारघाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ६.७२ प्रतिशत हो।
सिटिजन्स बैंकको सहयोगमा दृष्टि फाउण्डेसनका ६५ महिला तथा बालबालिकालाई राहत
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढीस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । फाउण्डेसनले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र तिनका बालबालिकाको संरक्षण तथा पुनःस्थापनको काम गर्दै आएको छ । बैंकले संस्थालाई करिब ६५ जना लाभग्राहीका लागि दुई महिनासम्म पुग्ने सरसफाइ तथा उपभोग्य सामग्रीहरू हस्तान्तरण गरेको हो । धनगढीमा आयोजित एक समारोहका क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सामग्री हस्तान्तरण गरे। कार्यक्रममा उनले सानो सहयोगमार्फत संस्थाको कार्यमा संलग्न हुन पाउँदा आफू सन्तुष्ट भएको बताउँदै, यस्ता संस्थाहरूले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरिरहेको उल्लेख गरे । सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने पनि जनाएको छ ।
क्यूआर स्क्यान, नगद हाताहात : आरबिबीले सुरु गर्यो क्यूआर स्क्यानमार्फत नगद झिक्ने सेवा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) ले अन्तरबैंक काउन्टरबाट मोबाइल बैंकिङमार्फत नगद झिक्न मिल्ने सेवा सुरु गरेको छ । ‘क्यूआर स्क्यान, नगद झिकियो - सजिलो, स्मार्ट, सहज’ नाराका साथ बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा ‘क्रस बैंक टेलर क्यूआर ट्रान्जेक्सन सेवा’ सुरु गरेको हो । यस नयाँ सेवाबाट अब फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंकका ग्राहकले आरबिबीको देशभरिका शाखाबाट आफ्नै मोबाइल बैंकिङ एप प्रयोग गरेर काउन्टरमै नगद झिक्न सक्नेछन् । यसका लागि चेक वा एटीएम कार्ड आवश्यक पर्दैन । ग्राहकले शाखाको काउन्टरमा रहेको क्यूआर स्क्यान गरेर मोबाइल एपबाट रकम भुक्तानी गरी तुरुन्त नगद प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । सेवा कसरी प्रयोग गर्ने ? आरबिबीको कुनै पनि शाखा जानुहोस्, आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस् (फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंकको), काउन्टरमा राखिएको क्यूआर स्क्यान गर्नुहोस्, झिक्न चाहेको रकम राख्नुहोस्, ट्रान्जेक्सन स्वीकृत गर्नुहोस्, तुरुन्तै नगद प्राप्त गर्नुहोस् । आरबिबीका अनुसार यो सेवा विशेषगरी टाढा रहेका शाखा तथा सीमित एटीएम पहुँच भएका स्थानहरूमा प्रभावकारी हुनेछ । बैंकले डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्दै नेपालभर ग्राहकमैत्री र नवप्रवर्तनमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।