बीमा प्राधिकरणमा सुरु भयाे इजलास, बीमा विवाद अब प्राधिकरणबाटै समाधान
काठमाडाै । नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालनमा ल्याएको छ । प्राधिकरणले बिहीबारदेखि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा इजलास सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षताको पहिलो प्राधिकरण सञ्चालक समितिको बैठकबाट सामान्य अदालतमा झैं प्राधिकरणमा पनि मुद्दाको सुनुवाइ प्रक्रिया लगायतलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो । वैशाख २ गतेदेखि सञ्चालनमा आउने भएपनि विविध कारणले थोरै ढिला हुन पुगेको प्राधिकरणले जनाएको छ । अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका सञ्चालक समितिका सदस्यहरू मानबहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजलास बसेको छ । प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजुरीमाथि इजलासमा पक्ष तथा विपक्षका कानुन व्यवसायीहरूबाट बहस भएको थियो ।
नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । नबनियुक्त सीईओ ज्ञवाली यसअघि नबिल बैंकमा कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै थिए । उनले नबिलसहित विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन् । सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको नबिल बैंकले जनाएको छ । सकारात्मक सोच, प्रष्ट वक्ता, आकर्षक व्यक्तित्व भएकाले उनी युवामाझ सेलिब्रेटी बैंकर्सको रूपमा परिचित छन् । सामाजिक संजालमा उनको फ्यान एण्ड फलोअर्स पनि अरु बैंकर्सको तुलनामा निके धेरै रहेको छ । त्यस्तै, नबिल बैंकले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । बिहिबार आयोजित कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्जका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेशनको समुद्घाटन गरे । गाडी चार्जसंगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ । उक्त चार्जिङ स्टेशनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरुलाई आफ्नो इभी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसंगै बैंकमा आउने ग्राहकहरुको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभी सवारी साधनको प्रर्वद्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसंगै वातावरणमैत्री उपायहरु अवलम्बन गरिरहेको समेत उल्लेख गरे । साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्जको प्रतिनीधीहरुको उपस्थिति रहेको थियो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।