होटल गरिमा र एनआईएमबी एस क्यापिटलबीच आईपीओको रोडम्याप सम्झौता

काठमाडौं । पूर्वी नेपालमा आतिथ्य सत्कार क्षेत्रमा क्रियाशील इटहरीस्थित पाँचतारे होटल सोल्टी वेस्टेन्ड इटहरीका सञ्चालक संस्था होटल गरिमा लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ प्रक्रियालाई अघि बढाउँदै एनआईएमबी एस क्यापिटल लिमिटेड सँग ‘रोडम्याप टु आईपीओ’ सम्बन्धी रणनीतिक सहकार्यमा सम्झौता गरेको छ । सम्झौतामा होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ सचिन्द्र ढुंगानाले औपचारिक हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार एनआईएमबी एस क्यापिटलले कर्पोरेट सल्लाहकारको भूमिकामा रही होटल गरिमा लिमिटेडलाई आईपीओको तयारी, नियामक निकायहरूसँग समन्वय, तथा संस्थागत व्यवस्थापन सुदृढीकरणका लागि आवश्यक परामर्श र सहयोग प्रदान गर्नेछ । हस्ताक्षरपछि प्रबन्ध निर्देशक पौडेलले यो सम्झौताले होटल गरिमा लिमिटेडको पूँजी बजारमा प्रवेशको यात्रा प्रारम्भ गरेको बताए। उनले पारदर्शिता, लगानी विस्तार, र व्यावसायिक उत्कृष्टता मार्फत आतिथ्य क्षेत्रको समृद्धिमा टेवा पुर्याउने विश्वास पनि व्यक्त ग रे। एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ ढुंगानाले भने, होटल गरिमाको आईपीओ यात्रा सफल बनाउने गरी सम्पूर्ण प्राविधिक मार्गदर्शन, रणनीतिक सल्लाह र विशेषज्ञता प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । आईपीओ प्रक्रिया सुरु गर्नु होटल गरिमाको दिगो विकास, संस्थागत पारदर्शिता, र आम लगानीकर्ताको आकर्षण सुनिश्चित गर्ने दृष्टिकोण अनुसारको महत्वपूर्ण पाइला भएको कम्पनीले बताएको छ ।  यस प्रयासबाट कोशी प्रदेशको आतिथ्य र पर्यटन क्षेत्रमा लगानी अवसरको विस्तार साथै नेपालको पूँजी बजारमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

१० महिनामा १२ अर्ब २७ करोडको बीमा पोलिसी सरेण्डर, व्यतित बीमालेखबापत् ३६ अर्ब उठ्न बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (वैशाख) सम्ममा ८८ ह जार ६३५ बीमितले १२ अर्ब २७ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर अर्थात् बीमालेख समर्पण गरेका छन् । चालु आवको १० महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको भन्दा ११.७० प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा ८९ हजार ७७ बीमितले १० अर्ब ९८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको थियो । बीमा सरेण्डरको साथसाथै बीमितले तोकिएको समयमा पोलिसी नविकरण र किस्ता नतिर्ने बीमितको संख्या पनि बढ्दै गएको छ । प्राधिकरणको तथ्यांक अनुसार चालु आवको १० महिनामा १२ लाख ५४ हजार ४७८ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ८६ करोड २० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । अर्थात त्यति रुपैयाँ बराबरको रकम अझै उठ्न बाँकी छ । चालु आवको १० महिनामा भएको बीमालेख व्यतित रकम गत आवको तुलनामा १८.९६ प्रतिशतले बढेको छ भने व्यतित बीमालेखको संख्या ११.६३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ३० अर्ब ९८ करोड रुपैयाँ उठ्न बाँकी थियो । 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

सुर्खेत । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार  सम्पन्न भएको छ ।  सभामा कम्पनीका सेयरधनी, सञ्चालक तथा नियामक निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीको हालको प्रगति र भावी योजनाबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।  त्यसपछि सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसँगै कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०र८१ को नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको रूपमा जेएन उपाध्याय एन्ड कोलाई नियुक्त गर्ने निर्णय पनि पारित गरेको छ । साथै समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जन सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।