उत्कृष्ट बीमा अभिकर्ता बन्दै सुकुना अधिकारीले पाइन् एक तोला सुन
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ । उत्कृष्ट अभिकर्तालाई समान तथा पुरस्कार वितरण र प्रडक्ट लन्च कार्यक्रममा कम्पनीले सम्मान गरेको हो । ३ हजारभन्दा बढी अभिकर्ताबाट कम्पनीले उत्कृष्ट छनोट गरेको हो । उत्कृष्ट सुकुना अधिकारी शिवाकोटीले ५४ अंक ल्याई एक तोला सुन पुरस्कार पाएकी छिन् । यसैगरी, मनकुमारी निरौलाले ४६.३८ अंक ल्याइ द्वितीय भइन् । उनले प्रमाणपत्रसहित दुई तोला चाँदी पाइन् । अन्य बाँकीले पनि प्रमाणपत्रसहित दुई तोला चाँदी प्राप्त गरे । प्रदेशबाट उत्कृष्ट भएकाहरूले भने ३ तोला चाँदी पाएका छन् । बीमा कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत महेश रिमालले कम्पनी सधैं अभिकर्ताको साथमा रहने बताए । उनका अनुसार अहिलेका कम्पनीहरू अभिकर्तामैत्री बन्दै गएको छ । उनले अभिकर्ता अभिन्न अंग रहेको जानकारी दिए । 'हामीले अभिकर्तालाई कर्मचारीसरह सम्मान गर्नुपर्छ । उनीहरू अभिन्न अंग हुन्,'रिमालले भने । उनका अनुसार कम्पनीले अहिले अनलाइनबाटै बिमालेख सुविधा ल्याइसकेको छ । उत्कृष्ट दश अभिकर्ता : १. सुकुना अधिकारी शिवाकोटी २.मनकुमारी निरौला ३. बद्रीप्रसाद उप्रेती ४. लीलाबहादुर श्रेष्ठ ५. विशिश्वर अधिकारी ६. धर्मराज जोशी ७. टीका खड्का ८. शान्ति महर्जन ९. बाशुजंग पाण्डे १०. विश्वनाथ प्याकुरेल
३.८ गुणा बढी आवेदनसहित ‘निफ्रा ग्रीन इनर्जी बोन्ड’ को बाँडफाँड सम्पन्न
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले जारी गरेको 'निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत -२०८८/८९' को बाँडफाँड कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको यो ऋणपत्रको बाँडफाँड जेठ २९ गते लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल परिसरमा सम्पन्न गरिएको हो । ५ अर्ब रुपैयाँ बराबरको यो ऋणपत्रका लागि ३.८ गुणा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली पूँजी बजारप्रति लगानीकर्ताहरूको विश्वास झल्काएको छ । ऋणपत्र निष्काशन २०८२ जेठ १८ देखि २५ गतेसम्म खुला गरिएको थियो, जसमा व्यक्तिकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत हिस्सा छुट्याइएको थियो। एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो पहिलो सार्वजनिक हरित ऊर्जा ऋणपत्र सफलतापूर्वक निष्काशन हुनु गौरवको विषय भएको बताउँदै भविष्यमा यस्ता नविन र दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे । ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । बाँडफाँड कार्यक्रमको अवसरमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सेयर बजारका सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय साझेदार संस्था तथा पत्रकार जगतलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो ।
सिद्धार्थ बैंकको इजी बैंकः एकै प्लेटफर्मबाट बहुआयामिक डिजिटल सेवा
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले डिजिटलमा ठूलो लगानी गरिरहेका छन् ।ग्राहकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरूले डिजिटलमा लगानी बढाइरहेको देखिन्छन् । तर, बैंकहरूले डिजिटलमा लगानी बढाइरहेको भएपनि ग्राहकले प्रडक्टहरू सहज रूपमा चलाउन सकिरहेका हुँदैनन् । सिद्धार्थ बैंकले ग्राहकलाई झण्झटमुक्त हुने गरी सेवा दिनका लागि आफ्नो मोबाइल बैंकलाई थप परिष्कृत बनाउँदै लगिरहेको देखिन्छ । बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा ‘इजी बैंक’लाई थप परिष्कृत र ग्राहकमैत्री बनाएको छ । इजी बैंक नामक अनलाइन प्लेटफर्मबाट बैंकले ग्राहकहरूलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराइरहेको छ । डिजिटल बैंकिङमा अग्रणी सिद्धार्थ बैंकले एपमार्फत खाताको विवरण, कर्जा सुविधा, ग्राहक सेवा, केवाईसी अद्यावधिक र कार्डसम्बन्धी सेवालाई थप सहज बनाएको हो । बैंकको मोबाइल एपमा लगइन गरेपछि ‘सर्भिस रिक्वेस्ट’ अन्तर्गत सुरुमा देखिने ‘इजि बैंक’ आइकन क्लिक गर्नासाथ प्रमुख पाँच सेवा खाता विवरण हेर्न मिल्ने, एपबाटै ऋण, ग्राहक सेवाको सुविधा, केवाइसी अपडेट र कार्डसम्बन्धी सम्पूर्ण सेवा रहेका छन् । खाता विवरण हेर्न मिल्ने ग्राहकले ‘अकाउन्ट डिटेल’ मार्फत आफ्नो बैंक खातासम्बन्धी सम्पूर्ण जानकारीहरू सजिलैसँग प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूले चल्ती खाता, बचत खाता, मुद्दती निक्षेप सम्बन्धी विवरणहरूका साथै लिएको कर्जाको स्थिति, नन्–फण्डेड कर्जाको विवरण र बैंकबाट जारी भएका सबै चेकहरूको पूर्ण विवरण सहज रूपमा अवलोकन गर्न सकिने बैंकले जनाएको छ । जसबाट ग्राहकलाई आफ्नो वित्तीय अवस्थाबारे स्पष्ट जानकारी राख्न मद्दत पुग्ने बैंकको दाबी छ । मोबाइल एपबाटै ऋण पाइने अबदेखि मुद्दती निक्षेप धितो राखेर कर्जा लिन शाखा जानुपर्ने बाध्यता हटेको छ । ग्राहकले मोबाइल एपमार्फत आवश्यक विवरण भरेर मुद्दतीको ९० प्रतिशत कर्जा माग गर्न सक्नेछन् । यस्तो रकम स्वीकृत हुने बित्तिकै ग्राहकले आफ्नो बचत खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै मर्चेन्ट क्युआर सञ्चालकहरूले पनि मोबाइल एप मार्फत नियमअनुसार कर्जा प्राप्त गर्न सक्ने छन् । सिद्धार्थ बैंकको इजी बैंक मोबाइल एपमार्फत ग्राहकहरूले शाखामा नगइकनै सजिलै क्रेडिट कार्ड ऋणको इएमआई सुविधा लिन सक्नेछन् । ग्राहकहरूले आफ्नो क्रेडिट कार्डको बाँकी रकमलाई किस्ता प्रणालीमा परिवर्तन गरी सहज रूपमा तिर्न सक्ने बैंकले जनाएको छ । चेक रोक्का र खाता ब्लक गर्न सकिने कुनै चेक हराएमा वा रोक्नु परेमा चेक नम्बर र कारण उल्लेख गरी तुरुन्तै रोक्का गर्न सकिने व्यवस्था मोबाइल एपमा रहेको छ । कारोबारका क्रममा कुनै कारणले आफ्नो खाता ब्लक गर्नु पर्ने भएमा ब्लकको सुविधा लिन सकिनेछ । ग्राहकले एक प्रकारको बचत खाताबाट अर्को प्रकारको बचत खातामा परिवर्तन गर्नु परेमा सोही एपबाट पाइने भएकाले अर्को कुनै निवेदन आवश्यक नपर्ने बैंकले जनाएको छ । केवाइसी अपडेट बैंकले ग्राहक पहिचान सम्बन्धी व्यक्तिगत विवरण अद्यावधिक गर्न ‘अनलाइन केवाइसी’ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत ग्राहकले वार्षिक आम्दानी, शैक्षिक योग्यता, प्यान नम्बर, वैवाहिक तथा पारिवारिक विवरण, पेशा, ठेगाना, आम्दानीका स्रोत लगायतका विवरण तथा आवश्यक कागजात डिजिटल रूपमा अपडेट गर्न सक्ने छन् । साथै ग्राहकले शाखामा उपस्थित नभई एपबाटै सुरक्षित र सहज रूपमा राष्ट्रिय परिचयपत्र (एनआइडी) नम्बर पनि अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । कार्डसम्बन्धी सम्पूर्ण सेवा इजीबैंक मोबाइल बैंकिङ एपमार्फत ग्राहकले आफ्ना कार्डहरू सरल रूपमा व्यवस्थापन गर्न सक्नेछन् । एपको मद्दतले कार्ड ब्लक वा अनब्लक गर्नुका साथै पिन बिर्सिएको अवस्थामा सजिलै पुनः जारी गर्न सकिन्छ । यसले ग्राहकलाई सुरक्षित र सहज डिजिटल सेवा प्रदान गर्दछ । यसका अतिरिक्त, ग्राहकले आफ्नो क्रेडिट कार्ड विवरणलाई मोबाइल बैंकिङ एपमा लिंक गरेर इजी बैंक सेवामार्फत क्रेडिट कार्ड स्टेटमेन्ट विवरण पनि जाँच गर्न सक्ने छन् । कम्प्युटरबाट पनि चलाउन मिल्ने बैंकको उक्त एप मोबाइलमा मात्रै नभइ ल्यापटप तथा कम्प्युटरबाट पनि सहज रुपमा चलाएर सेवा लिन सकिने बैंकले जनाएको छ । जसका लागि बैंकको वेबसाइट मार्फत ‘लग इन’ आइकन क्लिक गरी ‘इजी बैंक’मा जानुपर्ने हुन्छ । जसमा अकाउन्ट सर्भिस, कार्ड सर्भिस र डिम्याट सर्भिस सेवा पाउन सकिन्छ । वेबमा के-के छन् सुविधा ? यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरू एकै ठाउँमा संकलन गरिएको छ । वेबसाइटबाट अकाउन्ट सभिर्स, कार्ड सभिर्स र डिम्याट सर्भिस लगायत विभिन्न सेवा एउटै ठाउँबाट लिन सकिने बैंकले जनाएको छ । अकाउन्ट सर्भिस बैंकका अनुसार यस सेवाअन्तर्गत बैंक खाता खोल्ने, मुद्दती खाता खोल्ने, भिडियो बैंकिङ-अनलाइन एकाउन्ट एक्टिभेसन, प्यान अपडेट र ग्राहक जानकारी प्रमाणीकरण जस्ता सेवा उपलब्ध रहेका छन् । ग्राहकले अनलाइनबाट खाता खोल्ने बित्तिकै खाता सक्रिय भएको हुँदैन । एक पटक नजिकको शाखा कार्यालयमा सम्बन्धित व्यक्ति पुग्नै पर्ने हुन्छ । तर, बैंकले अनलाइनबाट खाता खोल्नेहरूका लागि शाखा कार्यालयमा जान नसक्ने अवस्थामा भिडियो केवाइसीको पनि सुविधा रहेको जनाएको छ । जसले अनलाइनबाट खुलेका खातालाई पूर्ण रूपमा चालु गर्न मद्दत गर्नेछ । साथै बैंकको कुनै पनि शाखामा उपस्थित नभइ घरमै बसीबसी प्यान अपडेट, ग्राहक जानकारी प्रमाणीकरण अन्तर्गत ग्राहकको मोबाइल नम्बर र इमेल अपडेट गर्न सकिनेछ । कार्ड सर्भिस कार्ड सर्भिस सेवाअन्तर्गत बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउनेछ । यसका लागि बैंकले नयाँ क्रेडिट कार्ड वा डेबिट कार्डका लागि आवेदन दिन सकिनेछ । अब क्रेडिट र डेबिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगिकन घरबाट क्रेडिट तथा डेबिट कार्ड आवेदन दिन सक्नेछन् । जसका लागि ग्राहकले सुरुमा बैंकको वेबसाइटमा गएर आवश्यक विवरण भर्नुपर्छ । सहज रुपमा अनलाइन मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । पहिला नै कार्ड लिएर म्याद सकिएका ग्राहकले पनि उक्त सेवामार्फत नवीकरण तथा प्रतिस्थापन गर्न सकिने बैंकले जनाएको छ । कार्ड नवीकरण गर्दा ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखा छान्नुपर्ने हुन्छ । कार्ड बनेपछि ग्राहकले त्यसरी छानेको शाखामै आइपुगेछ । बैंकिङ प्रणाली अझ बढी प्रभावकारी र ग्राहक मैत्री बनाउँदै समयको बचत हुने विश्वास लिएको छ । डिम्याट सर्भिस डिम्याट सुविधा अन्तर्गत ग्राहकले डिम्याट खाता खोल्न र सुचारु गर्न बैंकसम्म पुग्नु पर्दैन । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाट डिम्याट खाताका लागि निवेदन दिन सक्नेछन् । ग्राहकहरूले बैंकको वेबसाइटमा गई वा सोझै सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलको लिंकमा गई आवश्यक विवरण भर्न सकिने बैंकले जनाएको छ । आईपीओमा आवेदन दिँदा सीआरएन नम्बर बिर्सिएको छ भने इजी बैंक मार्फत सीआरएन नम्बर हेर्न सकिनेछ ।