काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले जारी गरेको 'निफ्रा ग्रीन इनर्जी बोन्ड ६ प्रतिशत -२०८८/८९' को बाँडफाँड कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको यो ऋणपत्रको बाँडफाँड जेठ २९ गते लाजिम्पाटस्थित एनआइएमबि एस क्यापिटल परिसरमा सम्पन्न गरिएको हो ।
५ अर्ब रुपैयाँ बराबरको यो ऋणपत्रका लागि ३.८ गुणा बढी आवेदन प्राप्त भएको थियो । जसले नेपाली पूँजी बजारप्रति लगानीकर्ताहरूको विश्वास झल्काएको छ । ऋणपत्र निष्काशन २०८२ जेठ १८ देखि २५ गतेसम्म खुला गरिएको थियो, जसमा व्यक्तिकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत हिस्सा छुट्याइएको थियो।
एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले यो पहिलो सार्वजनिक हरित ऊर्जा ऋणपत्र सफलतापूर्वक निष्काशन हुनु गौरवको विषय भएको बताउँदै भविष्यमा यस्ता नविन र दीर्घकालीन प्रभाव पार्ने परियोजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । बाँडफाँड कार्यक्रमको अवसरमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सेयर बजारका सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय साझेदार संस्था तथा पत्रकार जगतलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो ।