बीमा कम्पनीमा दोहोरो लगानी रोक्ने तयारी, कि कम्पनी मर्ज गर्नुपर्ने कि सेयर बेच्नु पर्ने

काठमाडौं । एउटै व्यक्ति तथा कम्पनीलाई उस्तै सेवा दिने एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्न नदिने व्यवस्था गर्न लागिएको छ । एउटै व्यक्ति, एकाघर परिवार सदस्य, एउटै कम्पनी तथा कम्पनी समूहले उस्तै सेवा दिने एक भन्दा बढी बीमा कम्पनीमा ठूलो मात्रामा सेयर लिने प्रवृति देखिएपछि बीमा समितिले त्यस्तो प्रवृति रोक्ने तयारी थालेको एक उच्च अधिकारीले बताएका छन् । बीमा समिति सम्बद्ध स्रोतका अनुसार जीवन बीमा कम्पनीका प्रवद्र्धकले निर्जीवन बीमा कम्पनीमा लगानी गर्न पाउने तथा निर्जीवन बीमा कम्पनीका प्रवद्र्धकले जीवन बीमा कम्पनीमा लगानी गर्न पाउने छन् । तर एउटा जीवन बीमा कम्पनीको प्रवद्र्धकलाई अर्को जीवन बीमा कम्पनीको सेयरमा लगानी गर्न रोक लगाउने तयारी भईरहेको छ । त्यस्तै, एउटा निर्जीवन बीमा कम्पनीको प्रवद्र्धकले अर्को निर्जीवन बीमा कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था गर्न लागिएको छ । ‘कसको लगानी कहाँँ कहाँ छ भनेर हामीले विस्तृत अध्ययन थालेका छौं’ उच्च स्रोतले भन्यो–‘पहिला बास्तविकता पत्ता लगाउँछौं । त्यसपछि दोहोरो लगानी भएका प्रवद्र्धकलाई कि कम्पनी मर्ज गरेर एउटै बनाउन भन्छौं, कि सेयर बेचेर कम्पनी छोड्नु पर्ने नीतिगत व्यवस्था गर्छौ ।’ पछिल्लो समय बीमा क्षेत्रमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ । ‘एउटा कम्पनीमा १५ प्रतिशतभन्दा बढी सेयर लगानी गर्न नपाइने विद्यमान व्यवस्थाका कारण ठूला लगानीकर्ताले उस्तै सेवा दिने एकभन्दा बढी कम्पनीमा लगानी गर्ने बाटो रोजेको देखियो’ स्रोतले भन्यो । बैकिङ क्षेत्रमा आधारभूत सेयरधनी एउटै भएको संस्था मर्ज गराउन नेपाल राष्ट्र बैंकले दवाव दिए झै बीमा समितिले पनि त्यहि बाटो अनुसरण गर्न खोजेको देखिएको छ । बैकिङ क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि कम्पनीहरुको संख्या धेरै भएकोले मर्जलाई जोड दिनुपर्ने आवाज उठिरहेको छ ।

एक लाखभन्दा बढी रकम खातामा राख्दा परिचय पत्र अनिवार्य

  काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्दा आफ्नो परिचय खुल्ने कागतजात पेस गर्नुपर्ने भएको छ। जतिसुकै रकम निक्षेप गर्दा पनि निक्षेपकर्ताको परिचय पत्र चाहिने राष्ट्र बैकको विद्यमान व्यवस्थाले ग्राहकलाई अप्ठ्यारो पारेपछि त्यसलाई परिमार्जन गरी एक लाख रुपैयाँभन्दा बढीको सीमा तोक्न लागिएको हो। राष्ट्र बैंकले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था’ भन्दै यही साउन १ देखि ग्राहकको खातामा निक्षेप गर्ने व्यक्तिको परिचय खुलाउने कागजात लिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो। ‘ग्राहकबाहेक अन्य कुनै व्यक्तिले ग्राहकको खातामा नगदै जम्मा गर्न आएमा रकम जम्मा गर्ने व्यक्तिको परिचय खुल्न सक्ने विवरण तथा कागजात लिनुका साथै नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। यो निर्देशन पछि बैंक तथा वित्तीय संस्थाले सबै निक्षेपमा ग्राहकबाहेकका व्यक्तिको परिचय पत्र माग्न थालेका छन्। बैंक तथा वित्तीय संस्थामा थोरै रकम जम्मा गर्ने निक्षेपकर्ता धेरै हुने भएकाले यो व्यवस्थाले उनीहरूलाई बढी प्रभाव पारेको छ। यसकारण उनीहरूले अप्ठ्यारो महसुस गरेका हुन्। सानो रकम निक्षेप गर्दा पनि परिचय पत्र चाहिने व्यवस्थाले सेवाग्राहीलाई अप्ठ्यारो भएको भन्दै निक्षेपको सीमा तोक्ने अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिइसकेको सहसचिव आनन्द ढकालले बताए। ‘यो व्यवस्थाले निक्षेपकर्तालाई अप्ठ्यारो परेको जानकारीमा आएको छ,’ उनले भने, ‘यसकारण १ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न आउने व्यक्तिको मात्र सामान्य परिचय आवश्यक हुने व्यवस्था गर्न आग्रह गरेका छौं।’ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थामा एक लाखभन्दा बढीको निक्षेप गर्दा ग्राहकबाहेक निक्षेपकर्ताको परिचय पत्र चाहिने व्यवस्था रहेकाले राष्ट्र बैंकलाई पनि त्यहीअनुसार सीमा तोक्ने निर्देशन दिइएको उनले जनाए। निक्षेपकर्ताको परिचय पत्र चाहिने व्यवस्थाले ग्राहकलाई असुविधा भएको भन्दै निश्चित सीमाभन्दा बढीको रकममा मात्र पहिचान चाहिने व्यवस्था गर्न गृहकार्य भएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए। ‘यो विषयमा छलफल भइरहेको छ, एक–दुई दिनमै निर्देशन आउँछ,’ पौडेलले भने। कान्तिपुर दैनिकबाट ।

हकप्रद र बोनसबाट एनबी इन्सुरेन्सले एक अर्ब पूँजी पुर्याउने

काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीले हकप्रद र बोनसबाट आगामी असार मसान्तसम्ममा एक अर्ब पूँजी पुर्याउने निर्णय गरेको छ । उक्त निर्णय असार ११ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैंठकको निर्णय अनुसार इन्सुरेन्सले आर्थिक वर्ष २०७४/२०७५ को अन्तिमसम्ममा ८० प्रतिशत हकप्रद र ५ प्रतिशत बोनस सेयर वितरण गरेर कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने भएको छ । हाल इन्सुरेन्सको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । कम्पनीले हालै जारी गर्दै रहेको शतप्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ हुने छ । उक्त पूँजीमा कम्पनीले फेरी ८० प्रतिशत(१०ः८०) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी ९७ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, हकप्रद पश्चात कायम हुने उक्त पूँजीमा कम्पनीले फेरी ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले ४ करोड ८६ लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको छ । सो मात्राको बोनस वितरण पश्चात कम्पनीको पूँजी एक अर्ब २ करोड ६ लाख रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।