सिटिजन्स बैंकले बागमतीमा नेतृत्व विकास सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंकले बागमती प्रदेशका प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक तथा कर्मचारीहरूलाई लक्षित गरी 'ईम्पावरिङ्ग लिडरसिप इन बागमतीः अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्सिलेन्स' नामक कार्यक्रम सम्पन्न गरेको छ । बैं कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरू समेतको उपस्थिति रहेको सो कार्यक्रम नेतृत्व क्षमता अभिवृद्धि र कार्यक्षमता सुदृढीकरणमा केन्द्रित थियो । कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल भएको बैंकले जनाएको छ । यसअघि मधेश प्रदेशमा पनि यस्तै सेमिनार आयोजना भइसकेको र अन्य प्रदेशहरूमा समेत चरणबद्ध रुपमा सञ्चालन गर्ने योजना रहेको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद व्याज आम्दानी लगायतका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको जनाएको छ । समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ११.१५ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ११.६९ प्रतिशतले बढ्दै २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब बढी हो । खुद व्याज आम्दानीमा पनि ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । हाल बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशतमा कायम छ, जसले तरलता व्यवस्थापन सन्तुलित रहेको देखाउँछ । त्यस्तै, सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको बैंकले जनाएको छ ।

मेटलाइफ नेपालद्वारा सर्पदंश नियन्त्रणका लागि सहयोग, झापामा जनचेतना अभियान सुरु

झापा । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गर्दै ग्रामीण क्षेत्रमा बढ्दो सर्पदंशको जोखिम नियन्त्रण गर्न सहयोग गरेको छ । कम्पनीले यसलाई कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा अघि सारेको हो । झापाको कृषिमुखी जीवनशैली र बढ्दो तापक्रमका कारण यहाँका ग्रामीण समुदाय सर्पदंशको उच्च जोखिममा रहेको बताइएको छ । नेपालमा हरेक वर्ष सयौं मानिसको ज्यान जाने सर्पदंशलाई गम्भीर सार्वजनिक स्वास्थ्य समस्या मानिन्छ । सीमित जनचेतना, समयमै उपचार नपाइनु र स्वास्थ्य सुविधाको कमीले मृत्यु दर अझै उच्च रहेको विशेषज्ञहरूको भनाइ छ । यस पहलमार्फत समुदायमा सर्पदंश रोकथाम र तत्कालीन उपचारबारे जनचेतना अभिवृद्धि गर्ने, ग्रामीण बासिन्दालाई उपचार सेवामा सहज पहुँच उपलब्ध गराउने र सर्पदंशजन्य मृत्यु कम गर्ने लक्ष्य राखिएको छ । मेटलाइफ नेपालले जनचेतना अभियान, रोकथामका उपायहरूको प्रवर्द्धन र जीवनरक्षक उपचारमा सहज पहुँच सुनिश्चित गर्न योगदान पुर्‍याउने जनाएको छ । 'सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो। कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर हामी समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान मात्र नभई समयमा उपचारमा सहज पहुँच दिलाउन प्रतिबद्ध छौँ,' मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने ।

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहुलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको जिम्मेवारी प्रदान गरेको छ । संस्था सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले सो निर्णय गरेको हो ।  यसअघि कार्यरत प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा समाप्त भएको थियो । लघुवित्तले साहुको नेतृत्वमा संस्थाको कार्य सञ्चालन निरन्तर गतिशील र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।