१२.६३ प्रतिशत लाभांश पारित गर्न हाथवे इन्भेष्टमेन्टले डाक्यो १७ औँ वार्षिक साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३ गते बसेको बैठकले भदौ २५ गते बिहान १० बजे आम्रपाली ब्याङ्केट काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा शंसोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकको निर्वाचन गर्ने र स्वतन्त्र संचालकको रिक्त पदमा प्रतिनिधित्व गर्ने स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्न निर्णय गरेको छ । त्यसैले भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
सेयर बजारमा १४२ कम्पनीको मूल्य बढ्यो, ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २७७६ बिन्दुमा पुगेको छ । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनाइटेड मोदीको भएको छ । युनाइटेडको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २८ करोड, राधी विद्युत कम्पनीको २० करोड, बुटवल पावर कम्पनीको १७ करोड र माउन्टेन इनर्जीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.४०, विकास बैंक ०.२०, वित्त ०.०२, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६ र लगानी समूह ०.२१ प्रतिशतले बढेको छ । त्यसैगरी जीवन बिमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.१२, म्युचुअल फन्ड ०.२९, निर्जीवन बिमा ०.११, व्यापार ०.१८ र अन्य समूह ०.०९ प्रतिशतले बढेको छ । आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सको एमएल र सीएफटी तालिम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लन्डरिङ तथा आतङ्कवादी वित्तीयकरण नियन्त्रण सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । नगरकोटस्थित रत्नागिरि रिसोर्टमा आयोजित तालिममा कम्पनीका कानुन विभाग प्रमुख सुबास भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्नेमा जोड दिए । साथै, एमएल र सीएफटीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशन र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत जानकारी दिए । कार्यक्रममा कोशी, मधेश र बागमती प्रदेशका शाखा प्रमुखहरू, कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईँसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४३ शाखामार्फत जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।