२७ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २७६१ बिन्दुमा पुगेको छ । आज ५८ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ३१७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ५१ करोड रुपैयाँको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ३५ करोड, नेपाल रिपब्लीक मिडियाको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड र शिवम् सिमेन्टको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

दार्चुला पावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । दार्चुला पावर लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरको तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

बीमा बजार विकास र पहुँच विस्तारका लागि नेपाल बीमा प्राधिकरणको कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसामयिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्रिर्या कार्यक्रम शुक्रबार (साउन ३० गते) ललितपुरमा सम्पन्न भएको छ । कार्यक्रममा परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन, मूल्य निर्धारण, आईएफआरएस–१७ कार्यान्वयन र एक्चुअरीहरूको नियुक्ति सम्बन्धमा प्रस्तुती दिएका थिए । उनले नेपालमा बीमाको पहुँच बढाउनका लागि बीमालेखमा विविधता ल्याउनुपर्ने, विभिन्न उमेर समूहलाई बीमाको दायरामा ल्याउने, नवीनतम् बीमा प्रणाली विकास गर्ने, दक्ष जनशक्ति र पूर्वाधार विकास आवश्यक रहेको तथा बीमा सचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सुझाव प्रस्तुत गरे । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कोल्लिमार्लाले बीमाको पहुँच बढाउन नागरिकको आर्थिक अवस्था अनुसार बीमालेख निर्माण, बीमा शिक्षाको विस्तार, र बीमा सेवा ९दाबी भुक्तानीसम्म० चुस्तदुरुस्त हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रमको पहिलो दिन परामर्शदाता बीमाङ्की र नेपाल बीमा प्राधिकरणका कर्मचारीबीच नियामकीय दृष्टिकोणमा छलफल भयो भने दोस्रो दिन बीमकका प्रोडक्टरभ्यालुएसन विभाग प्रमुखहरूसँग बीमाङ्कीय दृष्टिकोणमा अन्तक्रिर्या सम्पन्न भयो । अन्तिम दिन नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशक पूजन ढुङ्गेल अधिकारीको उपस्थितिमा परामर्शदाता बीमाङ्की कोल्लिमार्ला र बीमकका प्रमुख कार्यकारी अधिकृतबीच नेपालमा बीमाको पहुँच बढाउने विषयमा छलफल भएको थियो । कार्यक्रमका क्रममा कार्यकारी निर्देशक सुवेदीले बीमाङ्कीय मूल्याङ्कन, जोखिममा आधारित पूँजी, सोल्भेन्सी, बीमा बजारका समस्या र अपेक्षा सम्बन्धी राय सुझाव लिन उद्देश्या राखिएको बताए भने निर्देशक ढुङ्गेलले बीमा बजारको विकास र पहुँच वृद्धि गर्ने साझा उद्देश्य हासिल गर्न अझ परिस्कृत ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । कार्यक्रम साउन २८ देखि ३० गतेसम्म सञ्चालन भएको थियो ।