नेपालगन्जका सहकारी बन्द, बचतकर्ताको सपना चकनाचुर

नेपालगन्ज । नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिदै हिडन बाँध्य भएका छन् । पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थामा बचत गरेको पैसा फिर्ता नपाउदा नेपालगन्जकी माया पासी अझै भौतारिदै हिडीरहेकी छन् । 

'मैले अर्काको भाडा माझेर, लुगा धोएर जम्मा गरेको पैसा अहिलेसम्म फिर्ता पाएको छैन' उनले भनिन् ।  पासीले बचत गरेको पैसाका लागि सिडीओ कार्यालयलगायतका विभिन्न निकायमा पुगेर पनि कुनै सुनुवाई नभएको उल्लेख गर्दै बचत भएको रकम फिर्ताका लागि पहल गरिदिन आग्रह गरिन् । 

'मैले विश्वासका आधारमा सहकारीमा पैसा राखेको थियो तर यस्तो होला भन्ने कुनै कल्पना गरेको थिइन', उनले भनिन् । तत्कालिन वित्तिय विकास सहकारीमा तीन लाख २८ हजार रुपैयाँ उनले बचतका लागि राखेकी थिइन् । अहिले सो सहकारी बन्द अवस्थामा रहेको छ । पासीले छोरीको विवाहलगायतका कुनै खास कामका लागि भन्दै सो सहकारीमा पैसा बचत गरेकी थिइन् । 

उनको जस्तै समस्या छ, सावित्रीदेवीको पनि । उनले पनि सो सहकारीमा छ लाख रुपैयाँ बचत गरेको बताउँछिन् । 'छोरीको विवाहका लागि भनेर बचत गरेको थिए तर सबै सपना चकनाचुर भयो', उनले भनिन् । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सहकारीले आफ्ना मान्यता विपरित बैङ्कीङ प्रणालीमा जस्तो काम गरेकाले समस्या उत्पन्न भएको उल्लेख गर्दै नेपालगन्जका सहकारीलाई नियमन गर्न खोजिएको बताए । 

उनले साना बचतकर्ताको पैसा कसरी फिर्ता दिने भन्ने विषयमा पनि छलफल आवश्यक भएकोमा जोड दिँदै सहकारीको वित्तिय अवस्था र उत्तरदायित्वका विषयमा नियमन गर्न जनशक्ति अभाव भएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ऋण लगानी गर्न नमिल्ने ठाउँमा ऋण लगानी भएकाले कानुनी कैफियत देखिएको उल्लेख गर्दै यसका कारणले सहकारीमाथि प्रश्न आएको बताए । 

सहकारी प्रशिक्षणालय,  बाँकेका निमित्त प्रार्चाय आलोक ओझाले सहकारीको मूल सिद्धान्त र मर्म विपरितका कामले सहकारीमा समस्या देखिएको उल्लेख गर्दै सहकारी बचत सङुकलनका लागि नभएको बताए । 

नेपालगन्ज उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख प्रविण थापाले सहकारीमा बचत फिर्ता र ऋण असुलीको प्रमुख समस्या रहेको बताउँदै नेपालगन्जमा सहकारी मर्ज गरेर पाँच वटा सहकारी बनाउन आग्रह गरे । 

जिल्ला सहकारी सङ्घ, बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारीको अनुगमन, नियमन गर्नका लागि नयाँ कार्यविधि ल्याइएको जानकारी दिए । नेपालगन्जमा रहेका करिव पाँच सहकारी अहिलेपनि समस्याग्रस्त अवस्थामा रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । रासस

Share News