एसवाई प्यानल नेपालले पायो आईपीओ निष्काशनको अनुमति

काठमाडौं । एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ । सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले ५१ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडको रहेको छ ।

२० हजारभन्दा बढी सहकारीको नियमनका लागि संयुक्त संयन्त्र गठन हुने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारीहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति भएको छ । काठमाडौंमा सम्पन्न छलफल कार्यक्रममा सहकारी ऐन २०७४ मा भएका प्रावधानअनुसार बचत तथा ऋण सहकारी संस्थाहरुको नियमन, अनुगमन, लेखापरीक्षण र सूचना आदानप्रदानका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाई, सदस्य सिए महेश खनाल, कार्यकारी निर्देशक शेषनारायण पौडेललगायतको उपस्थिति थियो । आइक्यान तर्फबाट अध्यक्ष सिए निलबहादुर सारु मगर, उपाध्यक्ष आनन्दराज शर्मा वाग्ले, पार्षद सदस्यहरु तथा कार्यकारी निर्देशक सहभागी भएका थिए । प्राधिकरणका पदाधिकारीहरूले २० हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी सुपरिवेक्षण तथा सदस्यहरूको बचत सुरक्षित गर्न संस्थाको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । प्राधिकरणसँग संस्थागत र प्राविधिक क्षमता अभाव भएकाले आइक्यानसँग रोस्टर तयार गर्ने, शुल्क निर्धारण गर्ने, र सहकारी क्षेत्रमा वित्तीय प्रतिवेदन मानक लागू गर्न सहयोग आवश्यक रहेको धारणा राखियो । आइक्यान अध्यक्ष सारु मगरले दुवै नियामकीय निकायबीच समझदारीपत्र गरेर औपचारिक सहकार्य अघि बढाउन सकिने बताए । उनले संस्थाले आफ्ना सदस्यहरुलाई रोस्टरमा समावेश गरी सहकारीहरुको प्रुडेन्सियल अडिटमा संलग्न गराउन सक्ने तथा यसबाट प्राधिकरणको जनशक्ति र प्राविधिक क्षमतामा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको निष्कर्षमा आइक्यान र प्राधिकरणबीच निकट भविष्यमा समझदारीपत्र गर्ने, प्रुडेन्सियल अडिटलाई व्यवस्थित गर्ने, र आपसी सहकार्य तथा समन्वयका लागि विशेष संयन्त्र (स्टेरिङ कमिटी) गठन गर्ने सहमति भएको छ ।

मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण रोकथामका लागि सन नेपाल लाइफले दियो तालिम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्न कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा एन्टी मनी लन्डरिङ  तथा कम्ब्याटिङ द फाइनान्सिङ अफ टेररिजम  सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र उप निर्देशक पदम प्रसाद सोडारीले प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षकहरूले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्नेमा जोड दिएका थिए । तालिममा नारायणी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखा प्रमुखहरूको सहभागिता थियो । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईँसहित विभागीय प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।