नबिल म्युचुअल फण्डअन्तर्गतको ‘एन आई ३१’ योजनाको इकाई बाँडफाँट सम्पन्न
काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गतको ‘एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ । योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले कुल २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ५० लाख इकाई निष्काशन गरिएको थियो। सोमध्ये योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई सुरक्षित राखी बाँकी १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । सर्वसाधारणका लागि खुला गरिएको इकाई २०८२ साउन ३० गतेदेखि भदौ ३ गतेसम्म आवेदनका लागि उपलब्ध गराइएको थियो । प्राप्त आवेदनहरूको छानबिनपछि योग्य आवेदकलाई इकाई बाँडफाँट गर्ने सम्बन्धमा मिति २०८२ भदौ ११ गते नमूना तालिका तयार गरी नेपाल धितोपत्र बोर्डमा पेश गरिएको थियो । बोर्डबाट उक्त तालिकामा कुनै निर्देशन प्राप्त नभएकाले सोही आधारमा सोमबार बिहान १० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा औपचारिक रूपमा इकाई बाँडफाँट कार्यक्रम सम्पन्न गरिएको हो ।
सनराइज होल्डिङ्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । सनराइज होल्डिङ्सले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका २४ लाख कित्ता सेयर जारी गर्दै २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सनराइज होल्डिङ्गस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास सिलवालले हस्ताक्षर गरे । सनराइज होल्डिङ्गस लिमिटेड २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरूमा केन्द्रित छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) २५ औं वर्षमा प्रवेश
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भएको नेपालको बीमा कम्पनी हो । कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी तथा यस कम्पनीका सञ्चालक श्रीमती कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर एवं निम्तालु अतिथिलाई दोसल्ला लगाइ सम्मान गरे । कार्यक्रममा प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्णबहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बाबजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिममलाई न्यूनीकरण गरी आमनागरिकको विश्वास जित्न सफल भएको बताए । त्यसैगरी उनले कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याउन सहयोग गर्ने नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञता साथै धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले एलआईसी नेपाल नेपालको बीमा क्षेत्रको विश्वविद्यालय भएको र यहाँबाट सिँगै बीमा क्षेत्र लगायत धेरै जनशक्तिले बीमाबारे सिक्ने अवसर पाएको भनी गर्व गरे ।