इन्भेष्टमेण्ट मेगा बैंक र महिला उद्यमी महासंघबीच सम्झौता, विभिन्न सेवामा छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच महिला व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महिला उद्यमी महासंघका सम्पूर्ण सदस्यहरूले बैंकमार्फत विशेष वित्तीय सुविधा तथा छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने महिलाहरूलाई छुटसहितको कर्जा प्रवाहमा प्राथमिकता दिइनेछ । साथै, वित्तीय साक्षरतासम्बन्धी सेवा पनि २७५ शाखामार्फत उपलब्ध गराइनेछ । सम्झौताबाट महिला उद्यमी महासंघका सदस्यहरू प्रत्यक्ष लाभान्वित हुने र महिला उद्यमशीलतालाई थप प्रोत्साहन गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न, रविन्द्र ढाँटलाई १ लाख ११ हजार प्रदान
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०८१/८२ सालको क्लव एचिभर्स अवार्ड सेरेमोनी पोखरामा भव्यताका साथ सम्पन्न गरेको छ । भाद्र १६ देखि १९ गतेसम्म चलेको चारदिने कार्यक्रममा देशभरिका उत्कृष्ट अभिकर्ता तथा उच्च व्यवस्थापकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति सदस्य समशेर पराजुलीले दीप प्रज्वलन गरेर गरेका थिए । सो अवसरमा उत्कृष्ट व्यवसाय गर्दै चेयरम्यान क्लव, सीइओ क्लव र कर्पोरेट क्लवमा स्थान पाएका अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । सञ्चालक समिति सदस्य पराजुलीले बीमा क्षेत्रमा उल्लेखनीय योगदान दिएका अभिकर्तालाई बधाई दिँदै अझ उत्कृष्ट व्यवसायिक उपलब्धिमा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरूको निरन्तर योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रेरित भएर काम गर्न आह्वान गरे । यसै अवसरमा कम्पनीले मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित सम्मान गर्यो । सम्मान ग्रहण गर्दै ढाँटले आफ्नो संघर्ष र सफलताको अनुभव सेयर गर्दै कम्पनीप्रति आभार प्रकट गरे । कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिन घलेले ‘व्यवहारिक बीमा बिक्रीकला’ विषयमा उत्प्रेरणादायी सेसन दिएका थिए । साथै, विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले समारोहलाई थप आकर्षक बनाएको थियो ।
गंगा हेल्थ केयरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । साना तथा मझौला कम्पनी श्री गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारमा सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा गंगा हेल्थ केयर इण्डष्ट्रिजको तर्फबाट अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको ३० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्काशन गर्ने जनाएको छ ।