युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपालको प्रतिनिधित्व गर्दै एससिटीका सीईओ घिमिरे
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले युनियनपे अन्तर्राष्ट्रियको क्षेत्रीय परिषद बैठकमा नेपाल र दक्षिण एशियाको प्रतिनिधित्व गरेका छन् । यस प्रतिष्ठित मञ्चमा एशिया–प्रशान्त क्षेत्रका अग्रणी व्यक्तिहरू भेला भई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यका विषयमा छलफल गरिएको छ । कार्यक्रममा घिमिरेले क्षेत्रीय सहकार्यलाई अझ गहिरो बनाउने र भुक्तानी प्रणालीबीच आपसी पहुँच र प्रयोग बढाउने आवश्यकतामा जोड दिए । उनले सुरक्षित, समावेशी र जोडिएको भुक्तानी वातावरण निर्माणको महत्त्वबारे आफ्नो विचार प्रस्तुत गरे। उनले अष्ट्रेलियाको कमनवेल्थ बैंक, डीबीएस बैंक लिमिटेड (सिङ्गापुर), र इन्टर्नेसनल फाइनान्स संस्थाका प्रतिनिधिहरूसँगै उच्चस्तरीय छलफलमा वक्ताको रूपमा सहभागी हुँदै नयाँ भुक्तानी प्रवृत्ति, सहकार्यका अवसरहरू, र एशिया–प्रशान्त क्षेत्रमा भुक्तानी प्रणालीको विकासबारे आफ्नो दृष्टिकोण राखे । यससँगै घिमिरेले एससिटीको तर्फबाट अन्य महत्त्वपूर्ण संस्थागत प्लेटफर्महरू पीसीआई सुरक्षा मापदण्ड परिषद र एससिटी–युनियनपे बोर्डमा पनि निरन्तर प्रतिनिधित्व गर्दै आएका छन् । उनको सक्रिय सहभागिताले डिजिटल भुक्तानी क्षेत्रमा एससिटीको नेतृत्वलाई मजबुत तुल्याएको छ र नेपालसहित क्षेत्रीय स्तरमा नवप्रवर्तन, सहकार्य, र दिगो विकासप्रति कम्पनीको प्रतिबद्धतालाई थप प्रष्ट पारेको छ ।
निषेधाज्ञा जारी भएपछि सेयर कारोबार स्थगन
काठमाडाैं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि आज पूँजीबजारको कारोबार स्थगित गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै सोमबारको कारोबार स्थगन गरिएको जनाएको हो । उपत्यकाभित्र निषेधाज्ञा आदेश जारी भएपछि धितोपत्र कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भइआएको पनि नेप्सेले जनाएको छ । सूचनामा भनिएको छ, ‘चक्रपथभित्र कर्फ्यू आदेश जारी भएको तथा धेरै कारोबार सदस्य र लगानीकर्ताबाट समेत कारोबार स्थगन गर्न अनुरोध भइआएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आजको सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ । ‘
सेयर बजारमा ५ अर्बको कारोबार, हिमस्टार ऊर्जामा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोराे अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७५ बिन्दुमा झरेको छ । आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २४ करोड, युनिभर्सल पावर कम्पनीको २३ करोड, हिमालयन रिइन्स्योरेन्सको २१ करोड र युनाइटेड मोदीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।