विदेशमा पढ्न जाने विद्यार्थीले ६ महिनामा लगे करिब ५७ अर्ब

काठमाडौं । नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्न जाँदा ५६ अर्ब बाहिरिएको छ । अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा चालु आर्थिक वर्षको ६ महिनामा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यस शीर्षकमा बाहिरिने रकम भने घटेको छ । गत आवको सोही अवधिमा शिक्षातर्फ ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आवको पौष मसान्तसम्म खुद सेवा आय ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत यो अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय ३९ अर्ब ८२ करोड रहेको थियो । पछिल्लो ६ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई १०१ अर्ब ९२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

डीएभी प्लस टु अन्तर कलेज फुट्सल सम्पन्न

काठमाडौं । छैटौं डीएभी प्लस टु अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको विजेता आयोजक डीएभी कलेज बनेको छ । १६ माघदेखि सुरु भएको प्रतियोगितामा विजेता बन्दै डीएभीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा उपविजेता बन्दै ओमेगा कलेजले २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको कलेजले जनाएको छ । प्रतियोगितामा डीएभी कलेजका भारगव सिलवाल उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक ओमेगा कलेजका रिदम आले मगर र उच्च गोलकर्ता ओमेगा कलेजका योगान्त महर्जनलाई पनि जनही नगद १५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । कलेजका संस्थाका अध्यक्ष अनिल केडियाले शुभारम्भ गरेको प्रतियोगितामा ४० टिमको सहभागिता रहेको थियो । डीएभी कलेजको फुटसल मैदानमा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् सदस्य तथा नाइटेङ्गल कलेजका प्रिन्सिपल रन्जना प्रधान लगायतले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्लस टु तहका सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे ।

 केयूको उपकुलपतिका लागि दरखास्त आह्वान 

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति भोला थापाको समयावधि सकिएपछि पद रिक्त रहेको छ । यो भन्दा अगाडि दरखास्त दिएका १६ लाई यथावत राख्दै ७ थप दरखास्त आह्वान गरिएको हो । केयुको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्कुल अफ साइन्सका डीनले समेत दरखास्त दिन मिल्ने गरी फेरि दरखास्त आह्वान गरिएको जनाइएको छ । यो भन्दा पहिले आवेदन दिएको दुई जना संस्थापक उपकुलपति सुरेशराज शर्माका नातेदार रहेको खुलेपछि उपकुलपति छनोट समिति नै विवादमा परेको छ । हाल केयूका रजिष्टार प्रा.डा. अच्युत वाग्लेले कार्यवाहक उपकुलपतिको जिम्मेवार सम्हालिरहेका छन् ।