शिक्षकका माग सम्बोधन गर्न शिक्षा समिति तयार, आन्दोलन स्थगित गर्न आग्रह

काठमाडौं । अबको शिक्षालाई आत्मनिर्भर र सीपमूलक हुनेगरी विद्यालय शिक्षा विधेयक आउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै सांसदहरूले अबको शिक्षा सीपमूलक र आत्मनिर्भर बन्नुपर्ने उनीहरूको भनाइ छ । स्वार्थ समूहको हातमा जान नदिइ राष्ट्रिय स्वार्थलाई ध्यान दिएर विद्यालय शिक्षा विधेयक बनाइनुपर्नेमा सांसदहरू जोड दिए । उनीहरूले विद्यार्थीलाई विदेश जान रोक्ने किसिमको विधेयक आवश्यक रहेको बताए । बैठकमा बोल्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक धेरै महत्त्वपूर्ण विधेयक भएको बताउँदै शिक्षालाई सुधार नगरेसम्म देशलाई सुधार्न नसकिने बताए । उनले विद्यालय शिक्षा विधेयक स्वार्थ समूहको हातमा पर्न नदिकन राष्ट्रिय स्वार्थलाई ध्यान दिएर काम गर्नुपर्ने बताए । उनले अबको शिक्षा आत्मनिर्भर र सीपमुलक शिक्षा हुनेगरी विधेयक बनाइनुपर्नेमा जोड दिए । उनले भने, ‘विद्यालय शिक्षा विधेयक धेरै महत्त्वपूर्ण विधेयक हो । जबसम्म शिक्षालाई हामीले सुधार गर्न सक्दैनौं, देशलाई सुधार्न सक्दैनौं । केही स्वार्थ समूहका हातमा स्वार्थ होलान्, ती स्वार्थ समूहको ध्यान नदिएर हामीले राष्ट्रप्रति ध्यान दिनुपर्छ । राष्ट्रिय स्वार्थलाई हामीले ध्यान दिएर हाम्रो समिति अघि बढिरहेको छ । अबको शिक्षा आत्मनिर्भर र सीपमूलक शिक्षा हुनेछ ।’ समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले विद्यालय शिक्षा बनाउने कुरा चानचुने विषय नरहेको जिकिर गरिन् । उनले विद्यालय शिक्षा विधेयक महत्त्वपूर्ण विधेयक भएकाले रिसोर्समा समस्या देखाएर राम्रो गराउनबाट रोकिनु नहुने धारणा राखिन् । समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिका संयोजक एवं नेकपा एमाले सांसद छविलाल विश्वकर्माले नेपाल शिक्षक महासंघले राखेका मागहरुको सम्बोधन गर्न आफूहरु गम्भीर रहेको बताए । संघर्षको कार्यक्रम स्थगन गरी काममा फर्कन उनले आग्रह गरे । उनले भने, ‘नेपाल शिक्षक महासंघका साथीहरुले सम्बन्धित पक्षको, सरकार, समितिको अरु पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले आउनुभएको छ । आन्दोलनकै हामी यो विधेयक र विषयप्रति जिम्मेवार छौं । ध्यानाकर्षण गराउने उद्देश्यले उहाँहरु सडकमा हुनुहुन्छ । विगतमा सरकारले पटक पटक सम्झौता गरेका कुराहरुमा जानकार छौं । उहाँहरूले अघि सारेका विषयहरूमा हामी गम्भीर छौं । सम्बोधन गरेर अघि बढाउने मामिलामा हामी जिम्मेवार छौं ।’ संयोजक विश्वकर्माले समितिको ११३ वटा बैठकमा ३३ वटा बैठक विद्यालय शिक्षा विधेयकमा मात्रै केन्द्रित भएर बसेको बताए । सरकारले विद्यालय शिक्षा विधेयकमा गरेको सहमति विपरीत अघि बढेको भन्दै शिक्षक महासंघले केही समय यता आन्दोलन र विभिन्न राजनीतिक दलका कार्यालयहरूमा धर्ना दिइरहेका छ ।

डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले पाएको छैन : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालको राजीनामाको कारणबारे औपचारिक जानकारी प्राप्त नभएको बताएकी छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सञ्चारमाध्यममार्फत मात्र राजीनामाको जानकारी प्राप्त भएको उल्लेख गरिन् । शनिबार विदा परेकाले मन्त्रालयमा सो सम्बन्धी औपचारिक सूचना नआएको र आजसम्ममा आउने अपेक्षा रहेको उनले बताइन् । मन्त्री भट्टराईले भनिन्, ‘हिजो विदाको दिन भएकाले आजसम्ममा थाहा हुन्छ। त्यसपछि हामी जानकारी गराउनेछौं। समितिलाई जानकारी गराउनेछौं । जसरी यहाँहरूले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि स्रोत त्यही नै हो ।’ उनले औपचारिक जानकारी प्राप्त भएपछि समितिलाई सूचित गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रा. डा. बरालले शनिबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट बिरामी भएको कारण देखाउँदै राजीनामा दिएका थिए ।

नियुक्त भएको एक वर्षमै त्रिविका उपकुलपतिले दिए राजीनामा, प्रधानमन्त्रीले असहयोग गरेको गुनासो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् । उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन । राजीनामा दिएर उनी शनिबार बिहानै पोखरास्थित घर गएको त्रिवि स्रोतले जनाएको छ । पछिल्लो समय त्रिविमा निम्तिएका घटनाक्रमप्रति उनी असन्तुष्ट रहँदै आएका थिए भने त्रिवि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत उनी असन्तुष्ट थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त गरेका थिए ।